धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन, १३४औँ शाखा सञ्चालन
वि.सं.२०८३ असोज ५ सोमवार
shares
धनगढी । एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति थप विस्तार गर्दै धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले २०८३ साल असोज ५ गते कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा आफ्नै भवन निर्माण गरी सेवा विस्तार गरेको हो। नयाँ भवनबाट बैंकको सुदूरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयसमेत सञ्चालन हुने भएको छ।
नयाँ शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको बैंकले जनाएको छ।
धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएपछि स्थानीय ग्राहकलाई बैंकिङ सेवा थप सहज र प्रभावकारी हुने बैंकको विश्वास छ। साथै, यस क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै स्थानीय उद्योग, व्यवसाय तथा समग्र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ।































