अघिल्ला सीईओ बर्खास्तमा परेको प्रभु बैंकका हालका सीईओ शर्माविरुद्ध पनि मुद्दा परेपछि थप रणनीति बन्दै

1.7K
shares
Nabil bank

 

काठमाडौं ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएपछि बैंकमा तनाव बढेको छ । शर्मा हाल बैंकको नेतृत्वमा रहेकै अवस्थामा उनीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

अञ्जली इन्टरनेसनलले दायर गरेको मुद्दामा शर्मासहित तत्कालीन सनराइज बैंकका तीन कर्मचारीलाई प्रतिवादी बनाइएको छ । मुद्दामा तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रविन्द्र केसीलाई समेत प्रतिवादी बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि थप कर्जा माग गरेपछि तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको थियो । कर्जा स्वीकृतिका लागि थप करिब ८९ लाख रुपैयाँ बराबरको धितो समेत राखिएको दाबी अभियोगपत्रमा गरिएको छ । अभियोगपत्रअनुसार अञ्जली इन्टरनेसनलकी सञ्चालक निर्मला देवीका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमावस्यास्थित कित्ता नम्बर २९९ को जग्गा बैंकको पक्षमा धितोबन्धक गरिएको थियो ।

कर्जा स्वीकृत भएपछि बैंकले धितो रोक्का राख्दै लिलामी प्रक्रियासमेत अघि बढाएको तर स्वीकृत कर्जा रकम भने उपलब्ध नगराएको उजुरीकर्ताको दाबी छ । रकम नपाएपछि बैंकका सम्बन्धित अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा नआएको आरोपसमेत लगाइएको छ ।

उजुरीकर्ताले बैंकका अधिकारीहरूबीच मिलेमतोमा कर्जा स्वीकृत गरिएको र आफन्तको नाममा रहेको जग्गालाई धितोमा लिएर पनि कर्जा रकम उपलब्ध नगराई आफू तथा कम्पनीलाई आर्थिक क्षति पु¥याइएको आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार प्रतिवादीहरू असोज २ गतेदेखि फरार रहेको भन्दै अदालतबाट कानुनबमोजिमको म्याद पुर्जी जारी गर्न माग गरिएको छ । मुद्दामा लगाइएका आरोपबारे अब अदालतको प्रक्रिया र थप अनुसन्धानबाट तथ्य खुल्नेछ ।

मुद्दा परेलगत्तै फोर्स लिभमा

शर्मा मुद्दामा प्रतिवादी बनेको दुई दिनअघि नै प्रभु बैंकबाट फोर्स लिभमा बसेको बैंक स्रोतले जनाएको छ । बैंकका सीईओविरुद्ध अदालतमा मुद्दा दायर भएपछि यस विषयमा छलफल गर्न बैंकको सञ्चालक समितिको बैठकसमेत बस्न लागेको छ ।


शर्मालाई प्रभु बैंकको सञ्चालक समितिले २०८२ माघमा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिसकेका छन् ।

अब सञ्चालक समितिको बैठकले शर्माविरुद्ध दायर भएको मुद्दा, उनको फोर्स लिभ तथा बैंकको दैनिक व्यवस्थापनमा पर्न सक्ने प्रभावबारे के निर्णय गर्छ भन्ने विषय बैंकिङ क्षेत्रमा चासोको विषय बनेको छ । मुद्दा दायर हुनु आरोप प्रमाणित हुनु होइन ।

 

शर्मासहित प्रतिवादीहरूलाई अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूमाथिका आरोप कानुनी रूपमा आरोपकै अवस्थामा रहने भएका कारण धेरै तनाव नलिने बैंकका एक सञ्चालकले बताए ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

आफ्नो छोरा प्रधानमन्त्री शाहको स्वकीय सचिवालयमा रहेको भन्दै प्रभु बैंकमा मनपरी

 

civil hospital
Hams Hospitals