एनपीएलको अफिसियल टेलिकम पार्टनर नेपाल टेलिकमकै नेटवर्क गायब
वि.सं.२०८३ कात्तिक १० मंगलवार
shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को आधिकारिक टेलिकम पार्टनर बनेको नेपाल टेलिकमको सेवा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमै कमजोर देखिएको छ। प्रतियोगिताको पहिलो खेलकै क्रममा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रभावकारी नहुँदा खेल हेर्न पुगेका दर्शकले सास्ती भोग्नुपरेको हो।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएलमा नेपाल टेलिकमले आधिकारिक टेलिकम पार्टनरका रूपमा सहकार्य गरेको छ। तर, हजारौँ दर्शकको उपस्थिति रहने राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामै आफ्नो नेटवर्क र डाटा सेवा प्रभावकारी बनाउन नसक्दा कम्पनीको सेवा क्षमता र पूर्वतयारीमाथि प्रश्न उठेको छ।
एनपीएलको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेका बेला मैदानमा उपस्थित दर्शकले मोबाइल नेटवर्क तथा इन्टरनेट नचलेको समस्या भोग्नुपरेको गुनासो गरेका थिए। मोबाइलमा नेटवर्क नआउने, डाटा नचल्ने र सामान्य डिजिटल सेवा प्रयोग गर्नसमेत कठिनाइ भएपछि दर्शक असन्तुष्ट बनेका थिए।
एनपीएलजस्तो चर्चित प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा साझा गर्ने, खेलको प्रत्यक्ष अपडेट हेर्ने, आफन्तसँग सम्पर्क गर्ने र अनलाइन सेवा प्रयोग गर्ने अपेक्षा गर्नु स्वाभाविक हो। तर, मैदानमै मोबाइल सेवा प्रभावकारी नहुँदा दर्शकले सामान्य सञ्चार सुविधासमेत सहज रूपमा उपयोग गर्न नसकेको गुनासो गरेका छन्।
विडम्बना के छ भने, दर्शकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्ने प्रतियोगिताको आधिकारिक टेलिकम पार्टनर नै नेपाल टेलिकम हो। प्रतियोगितामार्फत ब्रान्ड प्रवर्द्धनको अवसर पाएको सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायकले दर्शकको प्रत्यक्ष अनुभवमा सुधार ल्याउन नसक्नु आफैँमा प्रश्न उठाउने विषय बनेको छ।
ठूलो संख्यामा मानिस भेला हुने खेलकुद प्रतियोगितामा मोबाइल नेटवर्कमा चाप बढ्न सक्ने भएकाले त्यसअनुसार नेटवर्क क्षमता व्यवस्थापन र प्राविधिक तयारी आवश्यक हुन्छ। तर, त्रिवि क्रिकेट मैदानमा देखिएको समस्याले नेपाल टेलिकमले प्रतियोगिताअघि पर्याप्त तयारी गरेको थियो वा थिएन भन्ने प्रश्न खडा गरेको छ।
मैदानमा देखिएको नेटवर्क तथा डाटा समस्याबारे नेपाल टेलिकमको आधिकारिक धारणा लिन सूचना अधिकारी र प्रवक्तालाई पटक–पटक फोन तथा विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर, समाचार तयार पार्दासम्म उनीहरूबाट प्रतिक्रिया प्राप्त हुन सकेन।
सम्बन्धित अधिकारीबाट प्रतिक्रिया नआउनुको कारण स्पष्ट हुन सकेको छैन। यद्यपि, सार्वजनिक सेवा प्रदायक संस्थाको सेवा गुणस्तरबारे उठेका प्रश्नमा आधिकारिक धारणा सार्वजनिक हुनु आवश्यक छ।

































