एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
वि.सं.२०८३ कात्तिक १० मंगलवार
shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हरमीत सिंहले समान १९ रन जोड्दा जिमी निशमले १५, मयन यादवले १४ र अनिल शाहले ११ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका हुसेन तलात र युनिश ठकुरीले समान तीन–तीन विकेट लिए। नन्दन यादवले दुई विकेट हात पार्दा सोमपाल कामीले एक विकेट लिए। कर्णालीको कसिलो बलिङका अगाडि जनकपुरको ब्याटिङ टिक्न नसक्दा टोली पराजित हुन पुग्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। पवन सर्राफले ३७ रन जोड्दा दीपक डुम्रेले १३ र गुलशन झाले १२ रन बनाए।
जनकपुरका बलरमध्ये हरमीत सिंहले तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई–दुई विकेट हात पार्दा ललित राजवंशीले एक विकेट लिए।
कर्णालीले बनाएको १३२ रनको योगफल सामान्य देखिए पनि बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर लक्ष्यसम्म पुग्न सकेन। ब्याटिङमा अरिफुल इस्लाम र पवन सर्राफको योगदान तथा बलिङमा हुसेन तलात र युनिश ठकुरीको प्रभावकारी प्रदर्शन कर्णालीको जितका मुख्य आधार बने।
यस जितसँगै कर्णाली याक्सले एनपीएलमा विजयी सुरुवात गरेको छ भने जनकपुर बोल्ट्सले प्रतियोगिताको सुरुवाती खेलमै हार बेहोरेको छ।































