बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
वि.सं.२०८३ कात्तिक १९ बिहीवार
shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको छ। निजी क्षेत्रसँग सहकार्य र संवाद बढाउने नाममा प्रधानमन्त्री शाहले महासंघ अध्यक्ष श्रेष्ठसँग निरन्तर छलफल र परामर्श गर्दै आएका छन्। तर, यही निकटतालाई निजी व्यावसायिक स्वार्थ संरक्षणका लागि प्रयोग गरिएको छ। पोखरा क्षेत्रमा दुग्ध विकास संस्थान (डिडिसी) को व्यावसायिक विस्तार रोक्न यही सम्बन्ध र प्रभाव प्रयोग भइरहेको छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले लामो समयदेखि पोखरा तथा आसपासका क्षेत्रमा आफ्नो कारोबार विस्तार गर्ने योजना बनाउँदै आएको छ। तर, संस्थानले बजार विस्तार गर्न खोज्दा निजी क्षेत्रको एउटा स्थापित डेरी उद्योगको व्यावसायिक हित प्रभावित हुने अवस्था देखिएपछि डिडिसीलाई रोक्ने प्रयास भइरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र उनको पारिवारिक लगानी रहेको सुजल डेरीले सरकारी संस्थानको काममा बाधा पुर्याइरहेका छन्। पोखरा क्षेत्रमा सुजल डेरीको बलियो बजार हिस्सा रहेको अवस्थामा सरकारी संस्थान डिडिसीले आफ्नो उत्पादन तथा वितरण सञ्जाल विस्तार गर्दा प्रतिस्पर्धा बढ्ने निश्चित छ। यही प्रतिस्पर्धाबाट आफ्नो व्यवसायमा असर पर्ने आकलनका कारण श्रेष्ठले डिडिसीको विस्तार रोक्न भूमिका खेलेका छन्।
श्रेष्ठले आफ्नो व्यावसायिक स्वार्थसँग जोडिएको विषयमा महासंघको संस्थागत प्रभावसमेत प्रयोग गरिरहेको देखिन्छ। उनकै प्रभावमा पोखरा उद्योग वाणिज्य संघले समेत डिडिसीको पोखरा क्षेत्रको कारोबार विस्तारप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
सरकारी संस्थानले बजारमा प्रतिस्पर्धा गर्न खोज्दा निजी क्षेत्रका व्यवसायीले संस्थागत दबाब सिर्जना गरेर रोक्न खोज्नु नियमसंगत होइन। अझ निजी डेरी उद्योगमा आफैँ लगानी रहेका महासंघका अध्यक्षले त्यही उद्योगको बजारमा सरकारी संस्थानको प्रवेश रोक्न संस्थागत प्रभाव प्रयोग गर्नु स्वार्थको द्वन्द्वको गम्भीर विषय बन्न सक्छ।
सुजल डेरीमा अञ्जन श्रेष्ठको पारिवारिक लगानी
सुजल डेरी प्रालि लक्ष्मी ग्रुपअन्तर्गत सञ्चालित कम्पनी हो। कम्पनीको सेयर संरचनाअनुसार अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सुनील श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ प्रमुख सेयरधनी रहेका छन्। उनीहरू प्रत्येकको करिब १८ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी करिब १० प्रतिशत सेयर लक्ष्मी ग्रुपकै अर्को कम्पनी सुजल फुड प्रालिको नाममा रहेको विवरणले देखाउँछ।
यसबाट सुजल डेरीमा अञ्जन श्रेष्ठको प्रत्यक्ष व्यावसायिक तथा पारिवारिक स्वार्थ जोडिएको स्पष्ट हुन्छ। यस्तो अवस्थामा सरकारी संस्थानको बजार विस्तारसम्बन्धी निर्णयमा उनले खेल्ने भूमिकालाई स्वार्थको द्वन्द्वको दृष्टिकोणबाट समेत हेर्नुपर्ने देखिन्छ।
डेढ अर्बको त्रैमासिक कारोबार गर्ने सुजल डेरी
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा मात्रै सुजल डेरीले १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीको विगत पाँच वर्षको सञ्चालन आम्दानी हेर्दा कारोबार निरन्तर बढिरहेको देखिन्छ।
यस्तो अवस्थामा सरकारी स्वामित्वको डिडिसीले पोखरा क्षेत्रमा बजार विस्तार गर्दा प्रतिस्पर्धा बढ्ने र त्यसको प्रभाव सुजल डेरीको कारोबारमा पर्न सक्ने देखिन्छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:






























