पूर्वाधार छैन, प्रयोगशाला छैन, जनशक्ति छैन; बालेन सरकारको तयारीबिनै देशभर मासु ऐन लागू गर्ने हतारो

551
shares
Nabil bank

काठमाडौं । आवश्यक पूर्वाधार, प्रयोगशाला, प्राविधिक जनशक्ति र कार्यान्वयनको स्पष्ट कार्ययोजनाबिनै सरकारले आगामी मंसिर १ गतेदेखि देशभर मासु तथा मासुजन्य पदार्थको स्वच्छता र गुणस्तरसम्बन्धी ऐन कार्यान्वयन गर्ने तयारी गरेपछि मासु व्यवसायी, किसान र उपभोक्तामा अन्योल बढेको छ।

मासुजन्य पदार्थको गुणस्तर सुनिश्चित गर्ने, उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने र व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्य सकारात्मक भए पनि त्यसका लागि आवश्यक आधारभूत संरचना नै तयार नगरी ऐन कार्यान्वयन गर्न खोज्नु सरकारको अपरिपक्व निर्णय भएको व्यवसायीहरूको आरोप छ।

विगतको अनुभवले समेत सरकारले घोषणा गरेअनुसार मासु ऐन कार्यान्वयन गर्न सहज नभएको देखाउँछ। २०५५ सालमा सुरु भएको मासु ऐन २०५६/५७ तिर कार्यान्वयनमा लैजाने प्रयास भए पनि हेटौँडामा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन। बुटवलमा समेत मासु परीक्षण तथा व्यवस्थापनका लागि संरचना निर्माण गर्ने प्रयास गरियो। आर्थिक वर्ष २०८०/८१ मा बुटवलको बसशालामा वधशाला निर्माण गरिए पनि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन राज्य असफल भएको व्यवसायीहरूको दाबी छ।

दुई स्थानमा समेत आवश्यक व्यवस्थापन गरेर ऐन कार्यान्वयन गर्न नसकेको सरकारले अहिले देशभर एकैपटक ऐन लागू गर्न खोज्नु आफैँमा गम्भीर प्रश्न बनेको छ। देशभर कहाँ कस्तो पूर्वाधार छ, कहाँ मासु परीक्षण प्रयोगशाला छन्, कति प्राविधिक जनशक्ति उपलब्ध छन् र स्थानीय तहले कसरी अनुगमन तथा प्रमाणीकरण गर्छन् भन्ने विषयमा स्पष्टता देखिएको छैन।

न प्रयोगशाला, न जनशक्ति, गुणस्तर जाँच्ने कसरी ?

सरकारले मासुमा छाप लगाउने व्यवस्था गर्न खोजे पनि त्यो छाप लगाउनुअघि मासु खान योग्य छ कि छैन भनेर कसले प्रमाणित गर्ने भन्ने प्रश्न अनुत्तरित छ। मासुको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला कहाँ छन् ? परीक्षण गर्ने प्राविधिक को हुन् ? कुन मापदण्डका आधारमा मासु स्वच्छ र अस्वच्छ छुट्याइन्छ ? परीक्षणपछि लगाइएको छापले कति समयसम्मको बिक्री सुनिश्चित गर्छ ? यी आधारभूत प्रश्नको जवाफसमेत स्पष्ट छैन।

मासु परीक्षण गर्ने प्रयोगशाला र दक्ष प्राविधिक जनशक्ति नै नभएको अवस्थामा छाप लगाउने व्यवस्था कार्यान्वयन गर्नु औचित्यहीन हुने व्यवसायीहरूको भनाइ छ।

अझ कुखुरा र बङ्गुरको छाला खान योग्य हुने तर खसीको छाला खान अयोग्य हुने आधार के हो भन्ने प्रश्नसमेत उठेको छ। यस्तो वर्गीकरण कुन वैज्ञानिक अध्ययन, अनुसन्धान र परीक्षणका आधारमा गरिएको हो भन्नेबारे सरकारले स्पष्ट पार्न सकेको छैन। खाद्य सुरक्षासँग जोडिएको विषयमा वैज्ञानिक प्रमाण र स्पष्ट मापदण्डबिना नियम लागू गर्न खोज्नुले सरकारी निर्णयको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।

व्यवसायीसँग छलफल नगरी एकतर्फी निर्णय

यति ठूलो प्रभाव पार्ने नीतिगत निर्णय गर्नुअघि मासु व्यवसायी, किसान, वधशाला सञ्चालक, प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक छलफल तथा समन्वय हुनुपर्ने हो। तर व्यवसायीहरूको आरोपअनुसार सरकारले उनीहरूसँग पर्याप्त परामर्श नगरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर ऐन कार्यान्वयन गर्न खोजेको छ।

कुन स्थानीय तहमा कस्तो पूर्वाधार आवश्यक छ, वधशाला कसरी सञ्चालन गर्ने, मासु परीक्षणको जिम्मेवारी कसले लिने र व्यवसायीले मापदण्ड पूरा गर्न कति समय पाउने भन्ने विषयमा कुनै स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन।

सरकारले ऐन कार्यान्वयनका लागि आवश्यक तयारी पूरा नगरी मिति तोकेर निर्णय गर्नुले कृषि मन्त्रालयको कार्यक्षमतामाथि समेत प्रश्न उठाएको छ। कृषि मन्त्री र कृषि सचिवको नेतृत्वमा अघि बढाइएको यो प्रक्रियाले बालेन नेतृत्वको सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्ने भन्दै कर्मचारीतन्त्रभित्रको भूमिका र निर्णय प्रक्रियाबारे पनि प्रश्न उठ्न थालेका छन्।

केही व्यवसायीले बिचौलियाको स्वार्थमा यस्तो व्यवस्था ल्याउन खोजिएको आशंका गरेका छन्। यद्यपि, यसबारे कुनै ठोस प्रमाण सार्वजनिक भएको छैन। सरकारले निर्णय प्रक्रियाको आधार, सरोकारवालासँग भएको छलफल र सम्भावित लाभग्राहीबारे पारदर्शी जानकारी दिन आवश्यक छ।

स्वदेशी किसानलाई विस्थापित गर्ने खतरा

नेपालमा मासु उत्पादनसँग प्रत्यक्ष जोडिएका हजारौँ किसान, साना व्यवसायी, वधशाला सञ्चालक र खुद्रा व्यापारी छन्। उनीहरूको व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउनुको सट्टा पूर्वाधारबिनै कडा नियम लागू गरिए त्यसको प्रत्यक्ष मार स्वदेशी उत्पादन र साना व्यवसायीमाथि पर्ने जोखिम छ।

मापदण्ड पूरा गर्न आवश्यक संरचना र आर्थिक क्षमता नभएका व्यवसायी बजारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ। स्वदेशी उत्पादन र व्यवसायीलाई प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुर्‍याएर आयातित मासु तथा मासुजन्य पदार्थको बजार विस्तार हुने वातावरण बनेमा त्यसले नेपाली किसानलाई थप संकटमा पार्नेछ।

सरकारले मासुको गुणस्तर सुधार्ने नाममा नेपाली किसान र व्यवसायीलाई नै विस्थापित गर्ने अवस्था सिर्जना गर्नु हुँदैन। उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वदेशी उत्पादनको संरक्षण एकअर्काका विरोधी विषय होइनन्। दुवैलाई सन्तुलित बनाउने जिम्मेवारी सरकारकै हो।

छाप लगाएपछि कति दिनभित्र बिक्री गर्नुपर्ने ? अध्ययन खोइ ?

मासुमा लगाइने छापको अर्को महत्त्वपूर्ण पक्ष बिक्री अवधि हो। छाप लगाइएको मासु कति दिनसम्म बिक्री गर्न पाइने हो ? कुन तापक्रममा भण्डारण गर्नुपर्ने हो ? चिस्यान व्यवस्थापन कसरी गर्ने ? ढुवानी र बिक्रीका क्रममा गुणस्तर कसरी कायम राख्ने ? यी विषयमा स्पष्ट मापदण्ड र वैज्ञानिक अध्ययन आवश्यक हुन्छ।

तर यस्ता विषयमा पर्याप्त अध्ययन, अनुसन्धान र पूर्वतयारीबिना ऐन लागू गर्न खोजिँदा व्यवसायी मात्र होइन, उपभोक्ता पनि अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ।

सरकारले ऐन कार्यान्वयन गर्नुअघि देशभर आवश्यक प्रयोगशाला स्थापना, दक्ष प्राविधिक जनशक्तिको व्यवस्था, वधशालाको निर्माण तथा स्तरोन्नति, व्यवसायीलाई तालिम र स्थानीय तहसँगको समन्वय सुनिश्चित गर्नुपर्छ।

उपभोक्ताको स्वास्थ्यसँग खेलबाड हुनु हुँदैन। तर स्वास्थ्य सुरक्षाको नाममा तयारीबिनै व्यवसायीमाथि नियम थोपर्नु पनि न्यायोचित हुन सक्दैन।

मासु ऐन लागू गर्नु सरकारको अधिकार र दायित्व हुन सक्छ, तर त्यसको कार्यान्वयन वैज्ञानिक, व्यावहारिक र पूर्वाधारयुक्त हुनुपर्छ। बुटवल र हेटौँडाको विगतको अनुभवबाट पाठ नसिकी देशभर एकैपटक ऐन लागू गर्न खोज्नु सुधारभन्दा बढी अर्को प्रशासनिक असफलताको जोखिम निम्त्याउने निर्णय हुन सक्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x