सर्वोच्च अदालतका चारजना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा अदालतमा बहस
वि.सं.२०७७ माघ ३ शनिवार
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा एक अनलाइनले शुक्रबार दिउँसो समाचार सम्प्रेषण ग¥यो। त्यही समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।
सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्। उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य सञ्चारमाध्यममार्फत बाहिर आएको बताइन्। ‘म शक्ति पृथकीकरण, स्वच्छ, स्वतन्त्र न्यायलयमा विश्वास गर्छु।
न्यायालयले जनताको मन जितोस्,’ उनले भनिन्, ‘प्रधानमन्त्री र चारजना न्यायाधीशबीच भेट भएको भन्ने कुरा आएको छ। यो आचारसंहिताविपरीत हो।’ श्रेष्ठले यस्तो कुरा राखेपछि प्रधानन्यायाधीश जबराले ‘यस्तो कुरा नगरिदिनुस्’ भने। श्रेष्ठले जनताले न्यायालयप्रति प्रश्न उठाउन नसकुन् भन्दै आफ्ना कुरा राखिन्, ‘यदि यस्तो भएको हो भने मर्यादा बाहिर गएको कुरा इजलासलाई जानकारी होस्।’
यसैबीच सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटे’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो। विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखी सत्य, तथ्य, यथार्थ बुझ्दैनबुझी समाचार बनाएको भन्दै आपत्ति जनाइएको छ।
‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरन्जित, कपोलकल्पित समाचार सम्प्रेषण हुनु खेदजन्य हो,’ सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा छ। नागरिक दैनिकबाट




























