माधव नेपालले दिए केपी ओलीलाई गफाडीकाे संज्ञा
वि.सं.२०७९ वैशाख १५ बिहीवार
shares
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई गफाडी नम्बर १ रहेकाे बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा बोल्दै उनले ओलीलाई गफाडी नम्बर १’को संज्ञा दिएका हुन् ।
‘केपी ओली भएका बेला उनले पनि केही काम गरे,’ नेपालले भने, ‘यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे । उनले लुट्ने, चुस्ने काम गरे । देश र जनताको सेवा गर्ने काम हामीले गर्यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्यौं ।’
त्यस्तै २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष) ले नभई हाम्रो नेतृत्वमा सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी समेत उनले गरे ।
२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भनेका छन्, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो।’
गफमा उनी अगाडि, काममा हामी अगाडि,’ नेपालले भने, ‘गफाडी नम्बर १ उनी, काममा अत्यन्तै फास्ट हामी । यही हो दुईटामा रहेको फरक। हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेमानी र जालझेलको राजनीति गर्ने मान्छे।’

























