आयल निगमकाे सुझाव : शनिबार र आइतबार सार्वजनिक बिदाकाे प्रस्ताव
वि.सं.२०७८ चैत १५ मंगलवार
shares
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको खपत घटाउनका शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव राखेकाे छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले शनिबार र आइतबार सार्वजनिक बिदा थप्न प्रस्ताव गरेकाे हाे ।
त्यस्तै, अत्यावश्यक बाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ ।
इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाइएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ ।
पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न समेत निगमकाे सुझाव रहेकाे छ ।


























