कोरोना माहाव्याधीको यो प्रतिकुल परिस्थितिमा कुम्भकर्णको निदाइमा विध्यार्थी संगठन!
वि.सं.२०७८ जेठ ९ आइतवार
shares
नेपाली व्यवस्था परिवर्तनको महत्त्वपूर्ण आन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्ने बिद्यार्थी संघ/संगठनको आफ्नै इतिहास र महत्त्व छ। वि.स २००४ सालको जयन्तु संस्कृतमा आन्दोलन बाट सुरु भएको बिद्यार्थी आन्दोलन जहानिया राणा शासन लाई घुडा टेकाउन देखि लिएर निरंकुश पन्चायत शासन ब्यबस्थाको अन्त्य गराउन र ६२/६३ साल को बृहत जनआन्दोलनमा राजा ज्ञानेन्द्र वीर बिक्रम शाहलाई राजगद्दी बाट थुतेर सडक मा झार्न सम्म बिद्यार्थीहरुले खेलेको भुमिका इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको छ । त्यस ताकाको बिद्यार्थी आन्दोलन शैक्षिक क्षेत्र को उन्नति र सुधारमा भन्दा पनि ब्यबस्था परिवर्तन मा केन्द्रित भएको थियो।
देशमा अब राजनीतिक भन्दा पनि आर्थिक र सामाजिक क्रान्ति चाहिएको छ। हामीले खोजेको चाहेको सबै खाले राजनीतिक परिवर्तनहरु पाइसकेका छौँ, तर आज को दिन सम्म पनि बिद्यार्थी आन्दोलन को त्यो पुरातन ढाँचामा कुनै बदलाव आएको छैन।
नयाँ ब्यबस्था परिवर्तन संगै बिद्यार्थी आन्दोलनको तौरतरिकामा पनि केहि नयाँपन आउनुपर्ने होइन र ? अबको विद्यार्थी आन्दोलन सस्तो र सर्वसुलभ गुणस्तरीय शिक्षा प्राप्तिमा हिस्सेदारी बन्न सक्ने कि नसक्ने? यो अझै पनि अनुत्तरित प्रस्न हो। विद्यार्थी लक्षित नवीनतम कार्यक्रमका योजनाहरु नआउनु त एउटा महत्त्वपूर्ण पाटो रह्यो त्यो भन्दा पनि पार्टीको मन्डले बनेर नेताहरुको भजन कृतन गाउनु बिद्यार्थी संघ/संगठनको दैनिकी जस्तै बन्न पुग्नु कतिको दुर्भाग्यपूर्ण छ, यसको लेखाजोखा इतिहासले नै गर्नेछ। शैक्षिक मुद्दा लाई किनारा लगाएर नेताहरुको गोटि बनेर परिचालित भैराखेका र त्यही दिशा तर्फ उन्मुख बिद्यार्थी संगठनहरु बाट आम बिद्यार्थी वर्गहरुले अब के आश गर्ने ?
विश्वव्यापी माहामारी को रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरीयन्ट सहित को दोस्रोलहर ले आज नेपाल पुनः एक पटक थिलथिलो बनेको छ।देश को अर्थतन्त्रमा मन्दी छाएको छ,ब्यापार व्यावसाय चौपट भएका छन, बिकास निर्माणका कामहरु लथालिङ्ग छन ,आर्थिक वृद्धिदरमा भारी गिरावट देखिएको छ साथै यि लगायत अन्य कयौं क्षेत्रहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कोभिडले नराम्रो असर पारिराखेकै छ। कोभिड को प्रत्यक्ष असरका कारण नेपालका सम्पुर्ण शैक्षिक संस्थानहरु महिनौ देखि बन्द छन ।
विश्वबिद्यालयमा अन्तर्गत का कयौं परिक्षाहरु स्थगित छन ,कक्षा १० र १२ को परिक्षा पनि स्थगित भैसकेको अवस्था छ। न त त्यो परिक्षाहरु बैकल्पिक माध्यमबाट संचालन गर्न सकिने कुराकै ग्यारेन्टी भएको छ न त यस बारे शिक्षा मन्त्रालय र त्रिभुवन बिश्वविद्यालयबाट कुनै आधिकारिक धारणाहरु नै आएका छन। शैक्षिक संस्थान बन्द भएपश्चात इन्टरनेट को पहुँच पुग्ने सहरी क्षेत्र तिर त जसोतसो बैकल्पिक प्रणाली बाट कक्षाहरु संचालन भएका छन, तर ग्रामीण भेगका बिद्यार्थीहरु त अस्तव्यस्त रूपमा मानसिक समस्या भाेगेर बसिराख्न बाध्य बनेका छन।
भबिस्यका देशका कर्णधारहरु,युग परिवर्तनका मियोहरु आज अनकन्टार कुनामा थुचुक्क बस्दै टाउकोमा हात लगाएर भुत्ते बनेर बसिराख्न पर्ने अवस्थामा पुगेका छन। शैक्षिक कार्यतालिका योजना बनाएर उज्ज्वल भबिस्यका सपना देखेर बहुत मेहनत का साथ अध्ययन गरिराखेका विद्यार्थीहरु दुई दुई बर्ष सम्म एउटै कक्षामा बसी पढ्न विवश बनेका छन र अझै कति बर्ष सम्म यो स्थिति चलिराख्ने हो भन्ने त्रासदीपूर्ण अवस्थामा निकै थकित मानसिकतामा गुज्रिएर बस्न बाध्य छन,खोइ यो बेला कुन बिद्यार्थी संगठनहरुले यी कुराहरु उठाएका छन?
यो विषम परिस्थितिमा त शैक्षिक मुद्दाहरु लाई उठाएर सम्पुर्ण बिद्यार्थी संघ/संगठनहरुको एउटै धारणा बनाएर बिद्यार्थी हकहित मा लाग्न पर्ने होइन र ? शिक्षा विज्ञहरु सहित शिक्षा मन्त्री र सम्पुर्ण बिद्यार्थी संगठनहरुका पदाधिकारीहरु एकठाउमा बसेर माथी देखिएका सम्पुर्ण विद्यार्थी समस्याहरु को समाधानका निम्ति बैकल्पिक मार्गहरु खोजिनु पर्ने होइन र ?
कोभिडको यो महाव्याधीमा भबिस्यप्रती अन्योलग्रस्त ८० लाख भन्दा बढी बिद्यार्थी हरुको अभिभावकत्व ग्रहण गर्दै आवाज विहिन विद्यार्थीहरुको आवाज बनेर उठ्न पर्ने विद्यार्थी संगठनहरु , कुम्भकर्ण को निदाइमा झुलिरहेको देख्दा संगठनहरुको उदेश्य, लक्ष्य ,आवश्यकता र औचित्य माथि ठुलो प्रश्न चिन्ह खडा भएको छ।




























