नेपाली विद्यार्थीले जापान र अष्ट्रेलिया जान पाउने, कुन मितिमा सिओई आएका कहिले जान पाउँछन् ?

काठमाडौं । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण नेपाली विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्नका लागि विशेष रुचाइने मुलुकहरूमा अध्ययन गर्न जान पाउने भएका छन् । नेपाल शैक्षिक परामर्श संघले जापान र अष्ट्रेलियाको बोर्डर खुल्ला सम्बन्धी पत्रकार सम्मेलन गर्दै अब उक्त देशमा जाने तयारीमा रहेका विद्यार्थीहरू अब जान पाउने भएको जानकारी दिएको हो ।

जापान सरकारले गत नोभेम्बर ८ देखि नै विदेशीको लागि पर्यटक भिसा बाहेक अन्य भिसाको बोर्डर खुल्ला गर्ने निर्णय गरेको छ । साथै अष्ट्रेलिया सरकारले पनि डिसेम्बर १ देखि विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुहरुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको छ ।

जसले गर्दा नेपाली विद्यार्थी र अभिभावक सामु देखा परेको अन्यौलताको अवस्थाको अन्त्य भएको छ । अब जापान तथा अष्ट्रेलीया जाने विद्यार्थीहरूले नियमित प्रक्रियाबाट जान सक्नेछन् ।

जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाइएको थियो । नोभेम्बर ०८ बाट पुनः नेपाली विद्यार्थीका लागि जापान प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ ।

जसबाट २०२० मा सिओई प्राप्त गरी टिउसन फी लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुनेछ । जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्बर, डिसेम्बर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमति दिने निर्णय गरेको छ । साथै २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई जनवरी पछि सूचना जारी गर्ने जनाएको छ।

सन् २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थी नोभेम्बर महिनाभित्र जापान प्रवेश गर्न पाउने छन् । त्यस्तै, २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्बर ३९ सम्म सिओई आएका विद्यार्थीले डिसेम्बरसम्म प्रवेश पाउने छन् । त्यसैगरि, २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म सिओइ प्राप्त गरेका विद्यार्थी जनवरी २०२२ मा प्रवेश पाउने भएका हुन् ।

नेपालमा भिसा आवेदन पूर्व विद्यार्थीले आफूले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलबाट माग गरिएको कागजपत्र पेस गरी जापानको शिक्षा मन्त्रालयबाट प्रदान गर्ने सर्टिफिकेट वा इक्जामिनेशन स्किृनिङ लिनु पर्ने व्यवस्था अनिवार्य गरिएको छ । स्किृनिङ सर्टिफिकेट पाएका विद्यार्थीहरूले मात्र भिजा आवेदन दिन सक्नेछन् ।

साथै नेपालमा अवस्थित जापनिज दूतावासले भिसा आवेदन प्रत्यक्ष रूपमा नलिने नयाँ नियम लागू गरेको छ । अब जापानको लागि भिजा आवेदन नेपाल स्थित भिएफएस ग्लोबल नेपालबाट लिनुपर्नेछ।

२०२० मा फी जापान पठाई जापान जान प्रतीक्षारत विद्यार्थीहरूले स्किृनिङ सर्टिफिकेट प्राप्त गरेता पनि सहजै भिसा आवेदनको लागि भिएफएसबाट समय प्राप्त गर्ने अवस्था सहजै नदेखिने इक्यानले जनाएको छ । २०२० मा नै सिओई पाइका विद्यार्थीलाई प्राथमिकतामा राखी सूचना निकालेको जापान सरकारले भिएफएस नेपाललाई भनेसोहि अनुसार निर्देशन नदिएकोले विद्यार्थीहरू मार्कामा परेका हुन् ।

त्यस्तै, अष्ट्रेलियाका लागि भिसा आवेदन दिएर बसेका नेपाली विद्यार्थीहरूले पनि अब अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरू सहित यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्ने भनेको छ । जसका लागि पूर्णरुपमा खोप लगाएका हुनुपर्नेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro