वस्तु निर्यातमा सहजीकरण गर्न व्यवसायीको माग…
वि.सं.२०७९ असार १५ बुधवार
shares
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली वस्तु चीन निर्यातमा सहजीकरण गर्न माग गरेका छन् । बुधबार नेपालका लागि चिनियाँ राजदुत विष्णुपुकार श्रेष्ठलाई ७ बुँदे माग बुझाउँदै व्यवसायीहरुले भुकम्पपछि नेपाली वस्तु चीन निर्यातमा समस्या भएको बताउँदै त्यसमा सहजीकरण गर्न माग गरेका हुन् ।
उनीहरुले निर्यात सहजीकरण गर्न राजदुत श्रेष्ठलाई पहल गरिदिनसमेत आग्रह गरेका छन् ।
राजदुत श्रेष्ठलाई व्यवसायीहरुले चीनसँगको व्यापारका क्रममा सामान आयात तथा निर्यातमा ठूलो समस्या भोग्नु परेको भन्दै भूकम्प गएको ७ वर्ष बितिसक्दा समेत समस्याको समाधान नभएको गुनासो गरे ।
‘हिजो चीनको तिब्बतसँग बस्तु विनिमय प्रणालीबाट सुरू भएको व्यापार आज चीनको विभिन्न सहरहरूसँग जोडिएर व्यापार संचालनमा आएको छ, नेपाली व्यवसायीहरूले अस्थाई पास वा मल्टीपल भिसा नपाउदा ठुलो मारमा परेको छ’, महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘रसुवाबाट केरूङ सामान ढुवानी गर्न जाने ट्रक र समान लोड गर्ने मालधनी वा प्रतिनिधीले केरूङ जाने पास नपाउँदा ठूलो विकराल समस्या परेको भयो ।’
आफ्नो गाडी रसुवादेखि केरूङसम्म २८ कि.मी. बाटोमा रसुवा जिल्लाको मात्र चालक खोज्नुपर्ने बाध्यताले सयौँ गाडीहरू बिग्रिएको, ठेक्किएको, त्यसरी ठोक्किएको गाडीको चीनतर्फ इन्सुरेन्स नपाइने, सवारी चालक नपाइने, असक्षम चालकलाई व्यवसायीहरूले आफ्नो सवारी साधन र करौडौंको मालसामान जिम्मा लगाउन बाध्य हुनु पर्ने, यसबाट ट्रक व्यवसाय तथा व्यवसायी दुबैको ब्यबसाय धरासायी भएको, सामान धनी व्यवसायीहरू केरूङ जानबाट बञ्चित हुँदा कति सामान लोड भयो थाहा नहुने, जस्तो सामान पठाए पनि बुझ्झ बाध्य हुनुपर्ने, हराएको समान थाहा नहुने, भन्सार तिर्नलाई के कति सामान लोड भएको छ सो को विवरण लिन ठुलो समस्या भएको, आफुले खरिद गरेको सामान पोर्टमा हेर्न जान समेत नपाइने, भन्सारमा समेत धेरै झन्झट व्यहोर्नु पर्ने लगायतको अवस्था रहेको उनीहरुले बताएका छन् ।
व्यवसायीहरुले नेपाली व्यापारी व्यवसायीहरूलाई चीनको भिषा सुचारूका लागि आवश्यक पहल गरिदिन, केरूङ्ग र खासासम्मका सिमानाका नाकाहरूमा नेपाली व्यवसायीहरू लगाएत चालक, सह-चालकलाई आवतजावतको लागि सहज वातावरण बनाउन, केरूङ्ग र खासा नाका आईपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सारमा आईपुग्ने गरि पहल गरिदिन राजदुतसँग आग्रह गरेका छन् ।
यस्तै, नेपाली सामान केरूङ्ग र खासावाट निर्यात (सामान निकासी) गर्न सहज वातावरण हुनुपर्ने, चीनका विभिन्न सहरहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छिटोभन्दा छिटो चीनमा अध्ययन गर्न सहज वातावरणको पहल गरिदिन, चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधीजन्य कच्चा पदार्थमा गरिएको समस्याको निराकरणको लागि सहजीकरण गर्न र कृषिजन्य रासायनिक मल तथा बिउँ- बिजनहरूको आयातमा सहजिकरणको गर्न आग्रह गरेका छन् ।
































