सहकारी पीडित बचतकर्ता चाँहि जनता होइनन् र, सरकार !

 

बुढोपाकाले भन्थे, ‘पैसा कमाउन गाह्रो छ, त्योभन्दा बढी पैसा बचाउन गाह्रो छ ।’ यो ज्वलन्त उदाहरण हो, सहकारीका बचतकर्ता । अहिले सहकारी विभागमा बचतकर्ताहरु धर्ना दिइरहेका छन् । तर, विभागका महानिर्देशक पिताम्बर घिमिरेले पीडित बचतकर्ताहरुको कुरा पनि सुनेका छैनन् । र, सहकारीमा पैसा नराख्न सार्वजनिक सूचना पनि निकालेको छैन ।

बचतकर्ताहरु आफ्नो रकम डुबेको भन्दै विभागमा आएर रुन्छन्, कराउँछन् । तर, विभागका महानिर्देशकलाई केही मतलब छैन । सहकारीका कारण करोडौं जनता पीडित भएका छन् । यद्यपि, केही सहकारीले अझै पनि जनतालाई भ्रममा पारेर बजारबाट पैसा उठाइरहेका छन् । झण्डै ३८ खर्ब रकम ३५ हजारभन्दा बढी सहकारीमा बचतकर्ताहरुको डुबेको छ ।

अहिले पनि सहकारी विभाग र मन्त्रालयले सहकारीमा बचत नगर्न सर्वसाधारणलाई सचेत गराएको छैन । विभाग र मन्त्रालय अझै पनि ठग सहकारीकै पक्षमा छ । सहकारीले यत्रो बचतकर्ताको बिचल्ली बनाइदिँदा पनि राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई सरकारले समातेको छैन ।

उनी अहिले पनि विभागका महानिर्देशक, मन्त्री र प्रधानमन्त्रीलाई भेट्न पुग्छिन् । र, राजनीतिक दललाई चन्दा दिन्छिन् । अब बचतकर्ताहरुले महासंघकी अध्यक्ष मल्लको घर घेर्नुपर्छ । किनकि जनता ठग्ने सहकारीकी नाइके त यीनी नै हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेसम्म मल्ललाई पक्राउ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छैनन् ।

उनी न त बचतकर्ताको रकम फिर्ता गराउन नै गम्भीर छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव सांसद रवि लामिछानेमाथि सहकारीमार्फत बचतकर्ताहरुको करोडौं रकम ठगी गरेको आरोप छ । तर, कुनै पनि दलका सांसदहरुले लामिछानेलाई पक्राउ गर्नका लागि सदनमा आवाज उठाएका छैनन् । सीआइबीले पनि उनलाई अहिलेसम्म समातेको छैन ।

सहकारीमार्फत बचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको आरोप लागेका लामिछाने अहिले पनि सदनमै छन् । उनी खुलेआम हिँडिरहेका छन् । करोडौं बचतकर्ताको खर्बो रकम खाने सहकारीका सञ्चालकहरुलाई गृहमन्त्री र प्रधानमन्त्रीलाई समात्न सकेका छैनन् । तर, न्याय माग्दै कयौं दिन खाली खुट्टा हिँडेर काठमाडौं आएका मिटरब्याज र लघुवित्त पीडितलाई भने पक्राउ गरियो ।

सहकारीसामु सहकारीमन्त्री रन्जिता श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड निरीह बने या सहकारीका सञ्चालकहरुको पैसामा बिके । सहकारीमा मकै पोल्नेदेखि अर्कोको घरमा काम गर्ने, होटल, रेस्टुरेन्ट वा पसलमा काम गर्ने सबैको पैसा डुबेको छ ।

सहकारीजस्तै पछिल्लो समय बैंकका बचतकर्ताहरुको पनि बिचल्ली हुने अवस्था आएको छ । बचतकर्ताहरुले अनेकन् दुःख, कष्ट गरेर पैसा कमाए । तर, अहिले आएर सहकारी र बैंकले खाइदियो । हाम्रो समाजमा एउटा चर्चित उखान छ, ‘काम साँच्यो आफुलाई, खान साँच्यो अरुलाई ।’

एक छाक मिठो नखाई, एक जोर नयाँ कपडा नकिनी सर्वसाधारणले गाह्रो, साँघुरो परेको समयमा काम लाग्छ भनी सहकारी र बैंकमा बचत गरे । विडम्बना, अहिले आफुले जोगाएर राखेको रकम सहकारीले खाइदिएको छ । सहकारीका अधिंकाश बचतकर्ता पैसा डुबेपछि आत्महत्या गर्न बाध्य भए । कतिपय डिप्रेसनमा छन् । अस्पतालको बेडमा महिनौं दिनदेखि बसिरहेका छन् ।

यता, सहकारीका सञ्चालकहरु भने आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेर विदेश पुगेका छन् । बचतकर्ताहरुको बिजोग भएको छ । हुन त देशै फट्याहाले खाने रहेछ । जो व्यक्ति इमान्दार छ, झुट्टो बोल्दैन र सत्य बोल्छ, त्यो यहाँ बाँच्न सक्दैंन । अहिले सहकारी विभागमा धाउने बचतकर्ताहरु जनता नै हुन् ।

विभागको महानिर्देशक पिताम्बर घिमिरे तीनै जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा उपलब्ध गरिरहेको छन् । तर, काम चाँहि ठग सहकारीका सञ्चालकहरुको हितमा गर्छन् । अहिले बजारमा सुनिन्छ कि सहकारी सञ्चालकहरु दिनहुँ मन्त्री क्वाटर पुग्छन् ।

उनीहरुले नै मन्त्रीलाई भनेर विभागका तत्कालिन महानिर्देशक नवराज घिमिरेको सरुवा गरिदिएको समेत बताइन्छ । अहिलेका महानिर्देशकले आफुहरुको कुरा नसुने र आफुहरुको हितमा काम नगरे, उनको पनि सरुवा गरिदिने सहकारीका सञ्चालकहरुले बताएको बुझिन्छ । प्रायजसो सबै सहकारीका सञ्चालकहरुले राजनीतिक पार्टीको सदस्यता लिएका छन् ।

उनीहरुसँग पैसा पनि छ । प्रधानमन्त्रीका सल्लाहकार, कार्यकर्ता वा वरपर घुम्नेहरुलाई पैसा चाहिएको छ । सहकारीमन्त्री रन्जिता श्रेष्ठको दाँयाबाँया हिँड्ने पनि पैसामै बिक्छन् । सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरे पीडित बचतकर्ताहरुको हितमा काम गर्छन् जस्तो देखिदैंन ।

मन्त्रीले जे भन्यो, त्यँही मान्छन् उनी । सहकारीका बचतकर्ताहरुको पैसा डुब्यो । अब यो रकम फिर्ता आउने छैन । कतिपय सहकारीहरुले बचतकर्ताहरुलाई अझै फसाउने योजना बनाइरहेका छन् । दुर्गम क्षेत्रको जमिन महंगोमा जबरजस्ती भिडाइरहेका छन्, बचतकर्ताहरुलाई । त्यस्तै, सेयर र गाडी पनि बचतकर्ताहरुलाई दोब्बर÷तेब्बर मूल्यमा खरिद गर्न बाध्य बनाइरहेका छन् ।

कहिले काँही मोहन वैद्य नेतृत्वको युवा संगठनले सरकारी कर्मचारीलाई कालोमोसो दलेको सुनिन्छ । र, समाचार पनि भेटिन्छ । तर, सर्वसाधारणको खर्बो रकम खाने सहकारीका सञ्चालकहरुलाई न त वैद्यको युवा संगठनले कालोमोसो दल्छ न त सरकार नै सहकारीका सञ्चालकहरुलाई समात्छ । सहकारीमा यत्रो जनताको रकम डुब्दा कुनै पनि राजनीतिक दलका नेताहरु बोल्दैनन् ।

किनकि अधिंकाश सहकारी पार्टीको कार्यकर्ताले खोलेका छन् । पर्दाभित्र बसेर सहकारी खोल्न लगाउने र जनता ठग्न लगाउने पनि राजनीतिक दलहरुले नै हुन् । आफ्रनै कार्यकर्तालाई सहकारी खोल्न लगाएर जनता ठग्ने अनि सरकारमा बसेर कारबाही गर्छु भन्ने ! यीनीहरुले नौंटकी पनि कति जानेको । सर्पले काजुरी फेरेजसरी प्रधानमन्त्री प्रचण्ड छिनछिनमा कुरा फेर्छन् ।

यस्तो कुरा फेर्न र नौंटकी गर्न जान्ने मान्छे कलाकार हुनुपर्नेमा देशको प्रधानमन्त्री भएपछि कहाँबाट देश विकास हुन्छ ? र, कहाँबाट पीडित जनताहरुले न्याय पाउँछन् ? कतिपय भरिया बोक्न नसक्ने भारी छ भने जतिसुकै पैसा दिन्छु भनेपनि भारी बोक्दैनन् । देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो ।

जनताहरुमा निराशा छाएको छ । तर, अझै पनि भ्रम फैलाएर प्रधानमन्त्री दाउरा सुरुवाल लगाई सरकारी गाडीमा हिँडिरहेका छन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्दा विपक्ष दलका नेताहरुले सांसद नै घेर्नुपथ्र्यो । उनी प्रधानमन्त्री हुँदा विदेशी ऋण २७ खर्ब थिएन । न त देशको आर्थिक अवस्था नै नाजुक थियो ।

०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्डले बोल्दाबोल्दै राजीनामा दिए । तर, अहिले देश नाजुक अवस्थामा पुग्दा उनी न त राजीनामा दिन्छन् न त कामै गर्न गर्छन् । प्रधानमन्त्री प्रचण्डसँग अलिकति पनि नैतिकता छ भने उनले कि त पदबाट राजीनामा दिनुपर्छ नत्र देश र जनताको हितका लागि धमाधम काम गर्नुपर्छ ।

यीनलाई देश र जनताको मतलब छैन । आफ्नो कुर्सी मात्र प्यारो छ । कुर्सी कै लागि कहिले देउवा कहाँ पुग्छन् त कहिले ओली कहाँ । जनताले नपत्याएको ३२ सिट ल्याएको व्यक्ति देशको प्रधानमन्त्री बनेपछि देश कसरी विकास हुन्छ ? पीडित जनताले कसरी न्याय पाउँछन् ?

अरु पार्टीलाई झुक्याएर र झालजेल गरेर प्रधानमन्त्री बनेको व्यक्तिले के को देशको लागि काम गर्छन् ? दाउरा सुरुवाल कोट लगाउँछन् अनि जनताले तिरेको करबाट तलबभत्ता र सरकारी गाडी चढ्छन्। 

 

Shangri-la Development Bank Ltd.
Nepali patro