सार्वजनिक क्षेत्र व्यवस्थापनमा वेदान्त चिन्तन र यसको प्रभावको वहस
वि.सं.२०८१ कात्तिक ५ सोमवार
shares
वेदान्त चिन्तन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक भाववादी चिन्तन हो । वेदान्त चिन्तनको सामान्य अर्थ वेदको सिद्धान्त हो । वेदको अध्ययनपछि निकाल्ने निष्कर्ष वा अन्त्य नै वेदान्त हो । यसलाई वैष्णव चिन्तन पनि भनिएको छ । वेदान्त चिन्तन उपनिषद्हरूको सिद्धान्तहरूमा आधारित छन । यसका विभिन्न सम्प्रदायहरू छन । यिनलाई अद्वैत, विशिष्टाद्वैत, द्वैत र शुद्धाद्वैत भनिन्छ । वेदान्त चिन्तनका प्रणेता तथा व्याख्याता महर्षि व्यास हुन । यिनको व्रह्मसूत्र ग्रन्थले वेदान्त चिन्तनको सार प्रस्तुत गरेको छ । ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त चिन्तनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त चिन्तन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस चिन्तनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद्) नै वेदान्त हो । वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यसलाई वेदान्त भनिन्छ । जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरूको उद्देश्य हो। हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजीगरी बुझ्ने प्रयाश गर्दा ती दर्शनहरूको उत्पत्ति हुन पुगेको हो ।
संस्कृत भाषामा सनातन धर्म भनेर चिनिएको हाम्रो हिन्दू धर्म वा हाम्रो जीवन पद्धतिलाई यसका अनुयायीहरूले ” वैदिक सनातन वर्णाश्रम धर्म ” पनि भन्ने गरेको पाइन्छ । यसो भन्नुको पछाडिको तर्क यसको शुरुवात मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो । त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक ,पौराणिक परम्परा र संस्कृतिहरूको सम्मिश्रण मानिएको हो । अन्य धर्म, जस्तो हिंदू धर्मभित्र कोही संस्थापक रहेका छैनन् । यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा ,उपासना पद्धति ,मत, सम्प्रदाय , दर्शनहरु हुर्किएको पाइन्छ । यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्टपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म , हिंदू धर्म , वैदिक धर्म , हिंदू आगम आदिजस्ता अनेकौँ नामले चिह्नाउँदै आइएको छ । यसले आफुभित्र थुप्रै दर्शनहरुपनि हुर्काउन सकेको छ ।आजको दिनमापनि यसभित्र वैदिक र लौकिक संस्कृत भाषामा लेखिएका शास्त्रीय वाङमयहरूको विशाल भण्डार रहेको छ ।
सनातन हिंदू पद्धतिले धर्म शास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ । यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ , यसका ज्ञानहरूलाई मीमांसा गर्ने प्रमाण शास्त्र हुनपुगेको छ । ती दुबैलाई गतिलोगरी विचार्ने दर्शनशास्त्र रहेको छ । त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शनसँग अटूट सम्बन्ध रहेको मानिएको हो । हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो । हाम्रो जीवनको सैद्धान्तिक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो । वेदान्त चिन्तनबाट सार्वजनिक प्रशासनमा सकारात्मक ,नकारातमक दुवै प्रभाव पर्ने गरेको देखिन्छ ।
भगवत गीतामा “पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन ।“ वेदमा “शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ“ भनिएको छ भने शंकरचार्यले “आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।“ आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा “शिक्षा स्वतन्त्रताको लागि हो“ भनेर उल्लेख गरिएको पाइन्छ । “निष्काम कर्म गर “को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ । यो चिन्तनले शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने भएकाले यो चिन्तन बैज्ञानिक चिन्तन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ । मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य ,शुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।
वैदिक चिन्तनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ ।
व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन वैदिक चिन्तनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ ।
अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त अवश्य लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ ।
वेदको निष्कर्ष, गीताको मुल सन्देशबाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।
मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन , आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकीय ,प्रशासकीय एवं व्यवस्थापकीय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न वैदिक चिन्तको अपरिहार्यता रहेको छ ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दीर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गचिन्तन हो । बास्तवमा हामीसँग यस्ता चिन्तनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।
पूर्वीय चिन्तनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय चिन्तनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय चिन्तनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ ।
पूर्वीय चिन्तनमा नश्वरतालाई दुःखको कारण मानिएको छ। संसार आवागमन, जन्म–मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्रायः सबै दार्शनिक प्रणालीहरूले संसारका दुःख मय स्वभावलाई स्वीकार गरे छ र यसले मुक्त हुनेको लागि कर्ममार्ग या ज्ञानमार्गको बाटो अपनाएको छ। मोक्ष यस प्रकार जीवनको अन्तिम परिणति हो। यसलाई पारपार्थिक मूल्य मानेर जीवनका परम उद्देश्यका रूपमा स्वीकार गरिएको छ। मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ। फलतः सबै प्रणालीहरूमा मोक्षको कल्पना प्रायः आत्मवादिएको छ। अंततोगत्वा यो एक वैयक्तिक अनुभूति नैं सिद्ध हुन पाउँछ। पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ ।
धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ ।
सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।
असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन चिन्तनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा वेदान्त चिन्तनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय चिन्तनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय चिन्तनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रकपदमा कार्यरत छन्।)



























