वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण महिला पक्राउ
वि.सं.२०८१ माघ ७ सोमवार
shares
काठमाडाैं | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सिता देवी राई रहेकी छन् ।उनलाई शनिबार पक्राउ गरि प्रहरी वृत्त सिंहदरबारले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
यही माघ २ गते स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पीडितको तर्फबाट बहस गरेर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो । उनलाई रास्वपा कार्यकर्ता र समर्थकले कुटपिट गरेको बताइएको छ । जुन मुद्दामा रास्वपा सभापति रवि लामिछाने प्रतिवादी छन् । उनी ६० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका भइसकेका छन् ।यो घटनामा यसअघि दुई जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाएको छ ।































