यौन व्यवसायलाई वैधानिक रुपमा खुला गरौँ: सांसद घिमिरे

वि.सं.२०८१ चैत ३ आइतवार
shares

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरले देशको विकासका लागि यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समय बोल्दै सांसद् घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्न माग गरेका छन् ।
उनले देशमा धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएको र देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको भन्दै अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने बताए।
‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले संसदमा भने। धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको उनको भनाइ थियो।
त्यस्तै, घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गरे। ‘गाँजा खेतीलाई पनि मान्यता दिऊ। अमेरिकाका धेरैं राज्यले गाँजा खुला गरेका छन्। अब हामीले पनि त्यसलाई खुला गर्नुपर्छ,’ उनले भने।