सार्वजनिक सेवा प्रवाह र प्रशासनिक सक्षमताका लागि नवप्रवर्तनको वहस
वि.सं.२०८२ वैशाख १७ बुधवार
shares

सुचना प्रविधीको उच्चतम प्रयोग गर्दै यसवाट सार्वजनिक सेवा प्रवाह गर्नसक्नु आजको समयको माग रहेको छ ।नयाँ सार्वजनिक सेवा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको एउटा नविनतम अवधारणा हो । यसले लोकतान्त्रिक मूल्यहरूप्रति पुनर्विश्वास, बजार प्रतिस्र्धा र ग्राहकको सट्टा लोकतन्त्र र नागरिकमा विश्वास, सरकार व्यवसाय होइन भन्ने कुरामा जोड, जनतालाई कुरा सुनाउने होइन जनताको कुरा सुन्ने, दिग्दर्शन होइन सेवा गर्ने, नागरिक संलग्नता र लोकतान्त्रिक सुशासन लागायतका विशेषता बोकेको छ । नवीनताको आवश्यकताको बोध गर्नु र खोजी गर्नु मानवीय सृजनशीलताको नतिजा हो । आफ्नो परिवेशमा आउने स्वाभाविक परिवर्तनलाई स्वीकार्न र समायोजन हुन हिचकिचाउने हिजोको मानवीय प्रवृत्तिमा परिवर्तन भई जीवनका हरेक विषय, क्षेत्र, समस्या र समयमा आज नयाँपनको अनुयायी बनेको छ । विश्वमा पछिल्लो समयमा सबैभन्दा खोजिएको, रोजिएको, रुचाइएको, पछ्याइएको र प्रयोगमा ल्याइएको अवधारणा रूपमा नवप्रवर्तनलाई लिएको पाइन्छ जसका कारण विश्वव्यापी प्रतिस्पर्धा विज्ञान र प्रविधि हुँदै आज नवप्रवर्तन केन्द्रित भएको छ ।
प्रशासनिक कौशलताको प्राण नै उच्च नैतिकता,इमान्दारीता, उत्तरदायित्व र व्यावसायिकता हो । त्यो व्यक्ति मात्र आदर्श हुन सक्छ जसमा उच्च नैतिकता हुन्छ । व्यवस्थापकीय नैतिकता अन्तर्गत मातहत कर्मचारीलाई समान व्यवहार गर्नुपर्छ । कामको उत्तरदायित्व स्पष्ट हुनुपर्छ । सुधारप्रतिको प्रतिबद्धता हुनुपर्छ । लोभ, रिस, निराशा एवं कुण्ठबाट उन्मुक्त हुनुपर्छ । पछिल्ला दिनमा सार्वजनिक सेवा प्रवाहमा नैतिकता, उत्तरदायित्व र व्यावसायिकतामा जोड दिन थालिएको छ ।सार्वजनिक सेवा प्रवाहमा नव प्रर्वतनको थालनी गर्दै यसवाट सेवा प्रवाहलाई प्रभावकारी वनाउनु समयको माग हो ।
नव प्रर्वतनमुखी शासन प्रकृयामा सार्वजनिक निकायमा सेवाग्राहीको गुनासो सुन्ने छुट्टै अधिकृत, छुट्टै डेस्क र छुट्टै कार्यविधि तोकिनुपर्छ । प्राप्त गुनासोउपर गुनासो सुन्ने अधिकृतले कुन कार्य प्रक्रियाद्वारा सो गुनासोको समाधान गरी सेवाग्राहीले अपेक्षा गरे अनुसारको सेवा प्राप्त गर्न सक्छन्, यसको सुनिश्चितता हुनु जरुरी छ । २१औं शताब्दीमा उपभोक्ता रूपी जनतालाई सेवा पुर्याउन सहज छैन । हरेक सरकार समयानुकूल परिवर्तन उन्मुख सोचमा दत्तचित रहनुपरेको छ । नवप्रर्वनत सम्वन्धमा हिजोआज विश्वव्यापी वहसले निरन्तरता पाईरहेको अवस्था छ । नवप्रवर्तन हिजोआज निकै चलनचल्तीमा आएको शब्द हो। नवप्रवर्तन शब्दको अर्थ फराकिलो छ । नवप्रवर्तन शब्दले सामान्यतया विकासका लागि नयाँ विचारको सफल कार्यान्वयन गर्ने भन्ने बुझाउँछ । यस अर्थमा कुनै पनि प्रक्रियालाई बढी उपलब्धिमूलक बनाउन फरक ढंगले सोच्नु र प्रयोग गर्नुलाई नवप्रवर्तन भन्न सकिन्छ ।
नवप्रवर्तन आविष्कारसँग पनि सम्बन्धित हुन्छ । तथापि नवप्रवर्तन र आविष्कार फरक विषय हुन्। आविष्कार नयाँ विचार वा ज्ञानको सृजना हो भने नवप्रवर्तन देश विकासका लागि नयाँ वा पुरानो विचारलाई बढी उपलब्धिमूलक बनाउन फरक ढंगले प्रयोग गर्ने प्रक्रिया हो। विश्वमा पछिल्लो समयमा सबैभन्दा खोजिएको, रोजिएको, रुचाइएको, पछ्याइएको र प्रयोगमा ल्याइएको अवधारणा रूपमा नवप्रवर्तनलाई लिएको पाइन्छ जसका कारण विश्वव्यापी प्रतिस्पर्धा विज्ञान र प्रविधि हुँदै आज नवप्रवर्तन केन्द्रित भएको छ । नवप्रवर्तन स्वतः वा संयोगबाट प्रस्फुटन हुने प्रक्रिया होइन । मानव जीवनका विविध पक्षसँग सम्बन्धित विचार वा सोच, वस्तु वा उत्पादन, सेवा वा व्यापार, विधि पद्धति वा प्रणालीमा खोजिने वा सृजना गरिने उन्नत फरकपन नै वास्तवमा नवप्रवर्तन हो । जसले मानवीय गतिविधिलाई सरल, सहज, सुपथ, प्रभावकारी, गतिशील, नतिजामूलक र समसामयिक बनाउँदछ । नवप्रवर्तनलाई हालको समस्यामा नयाँ समाधानको रूपमा हेर्ने गरेको पाइन्छ । नवप्रवर्तनका लागि नयाँ विचार वा ज्ञानको पहिचान र छनौट गर्न उपयुक्त नीति निर्माण हुनु आवश्यक छ । यस्तो नवप्रवर्तन नीतिको सही कार्यान्वयन गर्न विशेषज्ञहरू रहेका प्रभावकारी संयन्त्र र सञ्जाल आवश्यक पर्छ । नेपालमा शासन र नवीनता दुवैले एक–अर्का सँग सम्बन्धित छन् । नवीनता लागू गर्नेर शासनले नयाँ र आधुनिक प्रविधी, विचार, रणनीति र व्यवस्थाहरू प्रयोग गर्न सक्छ। यसबाट नेपालमा सरकारी सेवाहरूले सुचारू र उचित प्रदान गर्न सक्छन् र जनतालाई बृहतर लाभ पुरयाउन सक्दछन्।
नेपालमा सार्वजनिक सेवा प्रवाहमा नवप्रर्वतनमुखी शासन प्रणालीका मान्यताहरु ग्रहण गर्न आवश्यक छ । नयाँ विचार र नवीनता लाई सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा अवलम्वन गर्ने हो भने सेवा प्रवाहमा प्रभावकारीता र गतिशीलता आई जनविश्वास अभिबृद्धि गर्न सकिन्छ ।नेपालमा सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकहरूले नयाँ प्रविधि, मुल्य, मान्यता र औजारहरुको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहमा गतिशिलता ल्याउनु पर्दछ । उदाहरणार्थ, वेबसाइट र मोबाइल एप्लिकेसनहरूका माध्यमबाट सार्वजनिक सेवाहरूको प्रवाह गर्न सकिन्छ । यसवाट , नागरिकहरूले आप्mनो आवेदनहरू वा अनुरोधहरू घरबाटै दर्ता गर्न र सार्वजनिक सेवा लिन सक्दछन् ।
नेपालमा एक्सेलरेटर ल्याबले सहयोग, सह–सृजन र असफलताबाट सिक्ने कुरामा जोड दिन्छ । यसले नवप्रवर्तनको संस्कृतिलाई प्रोत्साहित गर्दछ र जटिल विकास मुद्दाहरू समाधान गर्न नयाँ दृष्टिकोण र विधिहरूको विकासलाई समर्थन गर्दछ । स्थानीय ज्ञान र विशेषज्ञताको उपयोग गरेर, प्रयोगशालाले नेपालमा दिगो विकासमा योगदान पु¥याउन सक्ने सन्दर्भ–विशिष्ट समाधानहरू खोज्ने लक्ष्य राखेको छ । नेपाल एक्सेलेरेटर ल्याबले तीन–चरण प्रक्रिया पछ्याउँछः अन्वेषण, प्रयोग, र मापन। अन्वेषण चरणमा, प्रयोगशालाले सन्दर्भ बुझ्न, प्रमुख चुनौतिहरू पहिचान गर्न, र सम्भावित समाधानहरू पत्ता लगाउन गहिरो गोताखोरी र अनुसन्धानमा संलग्न हुन्छ । प्रयोगको चरणमा, विभिन्न विचार र प्रोटोटाइपहरू स्थानीय साझेदारहरू र समुदायहरूसँगको सहकार्यमा विकसित, परीक्षण र परिष्कृत हुन्छन्। अन्तमा, स्केलिंग चरणमा, सफल पहलहरू र हस्तक्षेपहरू ठूलो प्रभाव सिर्जना गर्न मापन गरिन्छ।नेपालमा एक्सेलरेटर ल्याबले नवप्रवर्तनलाई बढावा दिन, प्रमाणमा आधारित समाधानहरू सिर्जना गर्न र देशमा विकासका चुनौतीहरूको लागि अनुकूल र लचिलो दृष्टिकोणलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपालमा सार्वजनिक सेवा प्रवाहमा नवप्रवर्तनको प्रयोग गर्नु आवश्यक छ । यसले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने विभिन्न अवसरहरू प्रदान गर्दछ ।त्यसैगरी नवप्रवर्तनको प्रयोगले सार्वजनिक सेवा प्रवाहमा नयाँ खोज,विधि, पद्दति ,मान्यता र उपायहरू अवलम्वन गर्ने र सृजनशीलता लाई सेवा प्रवाहमा प्रयोग गरी सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता अभिवृद्धि गर्न मद्दत गर्दछ ।सरकारले सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा नवीनता ,अनुसन्धान, विकास र सिर्जनशिलतालाई बढावा दिनु आवश्यक छ ।नेपालमा सेवा प्रदानमा नवप्रवर्तन लागू गर्नका लागि विभिन्न नीति र कार्यक्रमहरुको थालनी गरेको छ । उदाहरणस्वरूप, वेबसाइटहरू, मोबाइल एप्लिकेसनहरू, ई–सेवा पोर्टलहरू, बारकोड प्रणाली, इलेक्ट्रोनिक भुक्तानी, इलेक्ट्रोनिक प्रशासनिक कार्यवाही, जनसम्पर्क प्रणाली, डिजिटल रिकर्ड निर्माण र व्यवस्थापन, गवर्नमेन्ट–टू–गवर्नमेन्ट पोर्टलहरू, अनलाइन समर्थन दस्तावेज ,नागरिक एप,डिजिटल नेपाल फ्रेमवर्क आदि औजारहरुको शुरुवात गरिसकेको अवस्था विधमान छ ।
नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीको क्षेत्रमा केहि समस्याहरू छन् जसले नवप्रर्वतनमुखी शासन प्रणालीका प्रक्रियामा अवरोध प्राप्त गर्दछन् । यसरी, नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीको प्रगतिमा बाधा विरोध खडा गर्दछ ।नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीका समस्याहरूमा नवप्रर्वतनमुखी शासन प्रणालीको क्षेत्रमा कानूनी– नीतिगत व्यवस्थाको अभाव रहेको महसुस गरिन्छ । कानूनी र नीतिगत व्यवस्थाले नवप्रर्वतनमुखी शासन प्रणालीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ, तर यसको अभावले नवप्रर्वतनमुखी शासन प्रणालीका प्रयासहरूलाई समस्यामुलक बनाउँदछ ।नवप्रर्वतनमुखी शासन प्रणालीका संस्थागत बाधाहरू महत्वपुर्ण समस्याको रूपमा रहेको छ । कमजोर संस्थागत संरचना, प्रकृया सिर्जनामा रमाउने रोगग्रस्त कर्मचारीतन्त्रले नवप्रर्वतनमुखी शासन प्रणालीका प्रक्रियालाई अवरुद्ध पार्दछन् । जसको परिणामस्वरूप नवप्रर्वतनमुखी शासन प्रणालीका प्रकयाहरु गतिशीलताको अभावमा फस्न सक्छन ्। त्यसैगरी नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समन्वय र सहकार्यको अभाव रहेको अवस्था छ । नवप्रर्वतनमुखी शासन प्रणालीको प्रभावकारीतामा विश्वासहीनता पनि एउटा महत्वपूर्ण समस्या हो। विश्वासहीनताले नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीका सार्वजनिकतालाई संकटमा राख्ने कार्य गर्दछ ।
नेपालमा नवप्रर्वतनमुखी शासन प्रणालीको प्रभावकारीतामा विभिन्न समस्याहरू रहेका छन् जसले नवप्रर्वतनमुखी शासन प्रणालीको प्रभावकारीताको आविष्कार र विकासलाई अवरोध गर्दछ । यसका समाधानका लागि सकारात्मक नीति र कार्यहरूको विकास, सांगठनिक समन्वय र सहकार्य, विश्वासयोग्यता र अधिकारिकताको अभावलाई प्रभावकारी रुपमा समाधान गर्न प्रयास शासकीय व्यवस्थापनका सवै तह र पात्रहरुवाट आजैवाट गर्नु पर्दछ।
आजको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा नवप्रवर्तन (Innovation) कुनै पनि राष्ट्र वा संस्थाको प्रगतिको मेरुदण्ड सावित हुँदै गएको छ। प्रविधिमा तीव्र विकास, सृजनात्मक सोच र कार्यशैलीमा रूपान्तरणका साथै नवीनतम उपायहरू अपनाउने प्रवृत्तिले समाज, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, व्यवसाय, तथा शासन–प्रशासनका प्रत्येक तहमा व्यापक प्रभाव पारिरहेको छ। नवप्रवर्तन नयाँ प्रविधि निर्माण मात्र होइन, सोचमा नवीनता ल्याउनु, समस्यालाई नयाँ ढंगले बुझ्नु र त्यसको सृजनात्मक समाधान निकाल्नु पनि हो। जब कुनै राष्ट्र नवप्रवर्तनमा केन्द्रित हुन्छ, त्यसको समग्र आर्थिक वृद्धि, सामाजिक सशक्तिकरण, मानव संशाधनको प्रयोग, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त स्थान सुनिश्चित हुन्छ।
शिक्षा क्षेत्रमा आगामी कार्यदिशा नवप्रवर्तनमै आधारित हुनुपर्छ। परम्परागत कक्षाकोठा शिक्षालाई डिजिटल शिक्षण प्रविधिसँग जोड्ने, विद्यार्थीकै सोच र रुचिअनुसार अनुकूलन गरिएको अध्ययन सामाग्री निर्माण गर्ने र कृत्रिम बुद्धिमत्ता, कोडिङ, प्रविधिमैत्री विषयहरू विद्यालय तहबाटै पढाउने व्यवस्था गर्नु आवश्यक छ। सरकारी नीतिगत तहमा नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकता दिनु आवश्यक छ। त्यसका लागि नवप्रवर्तनसम्बन्धी राष्ट्रिय नीति तर्जुमा, नवप्रवर्तन केन्द्रहरूको स्थापना, अनुसन्धानलाई कर छुट तथा अनुदान, र नवप्रवर्तनमै आधारित व्यवसायमा ऋण सुविधा जस्ता कार्यक्रम अघि बढाउनुपर्छ।
कृषि क्षेत्रमा नवप्रवर्तनले उत्पादनशक्ति, गुणस्तर र निर्यात क्षमतामा रूपान्तरण ल्याउन सक्छ। स्मार्ट कृषि प्रविधि, जलवायु-मैत्री बीउ, ड्रोन प्रविधिबाट निगरानी, सिँचाइका नविन उपाय र बजार सञ्जालमा डिजिटल प्रविधिको प्रयोगबाट कृषकको आय वृद्धि गर्न सकिन्छ।
स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोगले ग्रामिण क्षेत्रमा समेत गुणस्तरीय सेवा पुर्याउन सक्ने सम्भावना छ। टेलिमेडिसिन, ई-हेल्थ कार्ड, बायो–मेडिकल उपकरणहरूको उपयोग, औषधी निगरानी प्रणाली आदिले सेवाको पहुँच, पारदर्शिता र प्रभावकारिता बढाउँछन्।सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनले नै नेपाललाई विश्व स्तरमा प्रतिस्पर्धी बनाउन सक्छ। आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, बिग डेटा, साइबर सेक्युरिटी जस्ता क्षेत्रमा युवालाई सीपमूलक तालिम दिनु, स्टार्टअप प्रवर्द्धन गर्नु, र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्नु महत्वपूर्ण हुनेछ।
शासन प्रशासनमा नवप्रवर्तन भनेको सेवा प्रवाहको प्रणालीलाई डिजिटल र पारदर्शी बनाउनु हो। ई-गभर्नेन्स, मोबाइल एपमार्फत सेवा, डिजिटल कागजपत्र, सरकारी वेब पोर्टलहरूको एकीकृत प्रणालीले जनतालाई सुलभ, सहज र पारदर्शी सेवा उपलब्ध गराउन सक्छ।आगामी कार्यदिशामा सामाजिक दृष्टिकोणबाट पनि परिवर्तन आवश्यक छ। नवप्रवर्तन केवल प्रविधिमै सीमित नहुने, सामाजिक संरचना, लैङ्गिक समानता, समावेशीता, सामुदायिक सशक्तिकरण लगायतका क्षेत्रमा समेत नवदृष्टिकोण आवश्यक छ। जनचेतना अभिवृद्धि, समावेशी कार्यक्रम, महिला तथा सीमान्तकृत समुदायका लागि विशेष नवप्रवर्तन अनुदान वा सुविधा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ।
व्यापार र उद्योगतर्फ, स्टार्टअप इकोसिस्टम निर्माण, नवप्रवर्तनमै आधारित उद्योग, हरित ऊर्जा उत्पादन, स्मार्ट व्यापार प्रणाली, ग्राहक विश्लेषण तथा अनलाइन सेवाहरूले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी बनाउन सक्छ।नेपालले नवप्रवर्तनलाई विकासको एउटा पाटो मात्र हैन, समग्र राष्ट्रिय रुपान्तरणको आधारका रूपमा बुझ्न आवश्यक छ। त्यसका लागि शिक्षा, सीप, नीतिगत समर्थन, पूर्वाधार, लगानी, र नवप्रवर्तन मैत्री वातावरण निर्माण अत्यन्त जरूरी छन्।
नवप्रवर्तन भनेको वर्तमान समस्याको समाधान र भविष्यको सम्भावनाको खाका हो। नवप्रवर्तनमै आधारित सोच र रणनीति अपनाएमा मात्र नेपालले दिगो विकासको मार्ग तय गर्न सक्दछ। प्रत्येक नागरिक, संस्था र सरकारको समन्वय र दृष्ट्रिकोण आवश्यक छ – जहाँ सोचमा नवीनता, काममा प्रयोगशीलता र नीति निर्माणमा दूरदर्शिता सँगसँगै अघि बढ्छन्। नवप्रवर्तनलाई राष्ट्रिय संस्कार बनाउनु हाम्रो आगामी कार्यदिशा हुनुपर्दछ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन ऐनमार्फत स्पष्ट नीति निर्धारण गर्नुपर्छ। मन्त्रालय र सचिवालयका कार्यहरू व्यवस्थित गरिनुपर्छ। सरकारले गर्ने, निजी वा गैरसरकारी संस्थाले गर्न मिल्ने कामहरू आउटसोर्सिङ वा कन्ट्र्याक्टिङमार्फत सेवा दिन सकिन्छ। सेवाग्राहीको सहभागिता बढाउन, स्थानीय तहको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्नुपर्छ। एउटै निकायबाट विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनुपर्छ। गुनासो सुन्ने, अनुगमन गर्ने र कार्यान्वयनमा सुधार ल्याउने अभ्यास बसाल्नुपर्छ। पारदर्शिता कायम राखी सेवा नपाए क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ। कर्मचारीलाई स्पष्ट जिम्मेवारीसहित प्रत्यक्ष उत्तरदायी बनाउने कानुनी आधार चाहिन्छ। स्रोत साधनको प्रर्याप्तता, निर्णय तहको सरलीकरण, दण्ड–पुरस्कारको प्रभावकारिता, जनचेतना अभिवृद्धि, सेवाग्राहीको फिडब्याक संकलन र कर्मचारीको दृष्टिकोण बदल्न तालिम आवश्यक छन्।
यसैगरी गुणस्तरीय शिक्षाको लागि उच्च शिक्षालाई अनुसन्धानसँग जोड्ने र अनुसन्धानलाई समाजसँग जोड्ने कार्य गर्नु पर्छ । यसैगरी विज्ञान तथा प्रविधि क्षेत्रका विद्यार्थीहरुलाई विज्ञान प्रविधिका साथ साथै व्यावसायिक शिक्षा तथा उद्यमशिलता हासिल गर्ने शिक्षा समेत प्रदान गर्नुपर्छ । विद्यमान विज्ञान प्रविधि ऐन, नियम अनुसन्धानलाई प्रवर्द्धन गर्न, अनुदान व्यवस्थापन गर्न, बौद्धिक सम्पत्तिको व्यवस्थापन गर्न, ज्ञानमा आधारित समाज तथा अर्थतन्त्र निर्माण गर्न, विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन नियमको आवश्यक पर्ने हुन्छ । यस्तै, विज्ञान कूटनीति पनि अर्को पहल हुन सक्छ । विश्वका प्रविधिको दृष्टिकोणले शक्तिशाली देशहरुसँग यस खालको सम्झौता हुन सकेमा नेपाललाई फाइदा नै हुने छ । यसैगरी नेपाल पक्ष भएका विभिन्न महासन्धिहरुमा नेपालको आफ्नो भूमिकालाई सशक्त ढंगबाट निभाउन समन्वयको खाँचो छ । जसबाट नेपालले अधिकतम लाभ लिन सकियोस् । यसैगरी विज्ञान प्रविधिसँगसम्बन्धी संयुक्त राष्ट्रिय संघसस्थाहरुसँगको सदस्यता तथा अन्य दातृ निकायहरुसँगको सम्बन्धमा पनि विज्ञान प्रविधिका सवालहरु पनि जोड्नु पर्छ । तसर्थ नेपालले विज्ञान कूटनीतिलाई उच्च महत्त्व दिई आर्थिक कूटनीति कै एउटा पाटोकोरुपमा लिनुपर्छ । विज्ञान प्रविधि नीतिको उन्नयनको लागि गैरआवासीय नेपालीहरुको आर्थिक र बौद्धिक लगानी महत्वपूर्ण कदम हुनेछ ।
अन्य क्षेत्रमा जस्तै विज्ञान र प्रविधिमा पनि समावेशीकरणको आवश्यकता छ । क्षेत्रगत वा जातिगत वा लिंगगत आर्थिक क्षमताको आधारमा समावेशीकरण हुने कार्यक्रमहरु सञ्चालन गर्न पर्छ । देशको सबै पालिकाको प्राविधिक अवस्थाको नक्सांकन गर्नुपर्छ र तत्पश्चात प्राविधिक विभाजनलाई न्यूनिकरण गर्न पर्छ ।प्रविधि परीक्षण, प्राविधिक प्रत्याशिकरण, अनुसन्धान प्रभाव मूल्यांकन, नवप्रवर्तन व्यवस्थापन प्रणाली, विज्ञान प्रविधि नीति सूचना प्रणाली, प्रचार प्रसार, प्रविधि आयात, सेन्टर फर एक्सिलेन्सको स्थापना, मेड इन नेपाल, नेपालीद्वारा निर्मित, जस्ता कार्यक्रमहरु देशको लागि रुपान्तरणकारी कार्यक्रम सावित हुनसक्छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि नवप्रवर्तन अब विकल्प होइन, अपरिहार्य आवश्यकता बनेको छ। साना उद्योगदेखि ठूला परियोजनासम्म, सरकारी नीतिदेखि शैक्षिक पाठ्यक्रमसम्म नवप्रवर्तनको समावेशीकरण अपरिहार्य छ। युवा पुस्तामा नवप्रवर्तनको बीउ रोप्न आवश्यक छ, जसका लागि अनुसन्धान र विकास (R&D) मा लगानी बढाउनु, प्रविधिमैत्री वातावरण निर्माण गर्नु र नवप्रवर्तनलाई पुरस्कृत तथा संरक्षण गर्ने नीतिहरू कार्यान्वयनमा ल्याउनु महत्त्वपूर्ण छन्।
अन्त्यमा, आजको भूमण्डलीकरणको युगमा नवप्रवर्तन नीतिको महत्व उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न र उत्पादन बढाउन प्रेरित गर्ने यो प्रवृत्तिमा, प्रभावकारी नवप्रवर्तन नीति अत्यावश्यक बनेको छ। यस नीति अन्तर्गत अनुसन्धान, विकास, विज्ञान प्रविधि, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र समेटिन्छन्। यद्यपि विज्ञान प्रविधि नीति नवप्रवर्तन नीतिको एक भाग मात्र हो, नवप्रवर्तन नीति अझ व्यापक र बहुआयामिक हुन्छ। यसले विज्ञान प्रविधिद्वारा सिर्जित ज्ञान र प्रविधिलाई आर्थिक तथा सामाजिक विकासमा रूपान्तरण गर्न सघाउँछ। साथै, शासकीय दक्षता बढाउँदै सूचना प्रविधिको प्रयोगद्वारा सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नवप्रवर्तन नीति आवश्यक छ।
(लेखक नेपाल सरकारका उपसचिव हुन ।)