मदन भण्डारीले सिद्धान्तलाई जीवनका लागि बनाएका जननेता थिए: प्रधानमन्त्री ओली
वि.सं.२०८२ असार १४ शनिवार
shares
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवनका लागि सिद्धान्तको कोणमा रूपान्तरण गर्ने अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
चौहत्तरौं मदन भण्डारी जयन्तीको अवसरमा आज सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४ औँ जन्मजयन्ती। जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।”
आज नेकपा (एमाले) र त्यससँग आबद्ध जनवर्गीय सङ्गठनहरूले पार्टीका पूर्व महासचिव भण्डारीको जन्मजयन्ती विविध कार्यक्रमहरूमार्फत मनाइरहेका छन्। विभिन्न स्थानमा आयोजित श्रद्धाञ्जली सभा, विचार गोष्ठी, रक्तदान, जनपरिषद्को गतिविधि लगायत कार्यक्रमहरू आयोजना गरिएको एमालेले जनाएको छ।
जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय सवारी दुर्घटनामा निधन भएको थियो। उनले नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक तथा सांगठनिक रूपमा गहिरो प्रभाव छोडेका थिए।




























