जेनजी पुस्ताको आन्दोलनः आवश्यकता वा राजनीतिक वितृष्णाको उपज ?
वि.सं.२०८२ भदौ २३ सोमवार
shares
नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक धरातलमा पछिल्लो पुस्ता—विशेष गरी जेनजी पुस्ता—एक नयाँ विमर्शको विषय बन्दै गएको छ । यस पुस्ताले लोकतान्त्रिक सङ्क्रमण, विद्रोह, दलहरूको राजनीतिक द्वन्द्व, आन्दोलन र असफलताका कथाहरू सँगसँगै देखेर हुर्किएको छ ।
आज जब उनीहरू सक्रिय राजनीतिक चेतनासहितको उमेरमा प्रवेश गरेका छन्, तब उनीहरूको असन्तोष, आक्रोश र अभिव्यक्ति आन्दोलनको स्वरूपमा अभिव्यक्त हुन थालेको छ । के यो आन्दोलन आवश्यकताले जन्मिएको हो ? वा यो दलगत राजनीतिप्रति उब्जिएको वितृष्णाको मात्र उपज हो ? प्रश्न बग्रेल्ती छन् ।
जेनजी पुस्ताले समाजमा देखेका समस्या पुराना पुस्ताले सृजना गरेका छन् । भ्रष्टाचार, बेरोजगारी, असमानता, शिक्षा–स्वास्थ्यमा व्यापारीकरण, पार्टीगत हस्तक्षेप, अवसर–वञ्चना, र राजनीतिक उदासीनताले उनीहरूलाई प्रत्यक्ष प्रभावित गरेको छ ।
शिक्षामा असमानता र बेरोजगारी, अध्ययन गरे पनि रोजगारी नपाइने, पढाइ महँगो तर गुणस्तर कमजोर हुने समस्या उनीहरूको साझा पीडा हो । राजनीतिमा निराशा, पुराना दलहरूले जनतालाई ठगेको, परिवर्तनको नारा दिए पनि व्यवहारमा भ्रष्टाचार र स्वार्थ देखाएको आरोप जेनजी पुस्ताले कडाइका साथ लगाएका छन् । सामाजिक न्यायको खोजी गर्दै लैङ्गिक समानता, पहिचानको राजनीति, वातावरणीय न्याय र आधुनिक मूल्य–मान्यताप्रति उनीहरूको आकर्षण छ । यस हिसाबले हेर्दा, आन्दोलन उनीहरूको जीवनयापन, भविष्य र अधिकारका लागि आवश्यक छ भन्ने ठहर गर्न सकिन्छ ।
अर्कोतर्फ, यो आन्दोलनलाई कतिपयले दलगत राजनीतिप्रति उब्जिएको वितृष्णाको उपज मात्र ठान्छन् । राजनीतिक प्रणालीमा अविश्वास छ । लोकतन्त्र र गणतन्त्रका उपलब्धिहरूलाई पनि संस्थागत गर्न नसकेको कारण उनीहरूमा ‘सबै दल एउटै हुन्’ भन्ने मनोविज्ञान बढेको छ । सङ्गठित विकल्पको अभाव भने छ । आन्दोलनहरू प्रायः फेसबुक, टिकटक वा सडक प्रदर्शनमा सीमित हुन्छन् । दीर्घकालीन नेतृत्व, नीति निर्माण र सङ्गठनात्मक आधार कमजोर देखिन्छ ।
सामाजिक सञ्जालमा आक्रोश पोख्ने यो पुस्ता सञ्जाल बन्दकोविरुद्ध सशक्त भयो भने पुराना दल लाई समस्या पार्ने शक्तिको रूपमा पक्कै आउने छ । यो पुस्ता धेरै विदेशमा भएका कारण पनि उताबाट उनीहरूले सार्वजनिक आह्वान गरे भने समस्या चाहिँ पार्न सक्नेछन् । काँग्रेस एमालेजस्ता दलले सोच्न आवश्यक छ । तत्कालीन घटनामा भावनात्मक प्रतिक्रियाको रूपमा आन्दोलन हुने तर दीर्घकालीन भिजन स्पष्ट नभएको देखिन्छ । यस आधारमा, यो आन्दोलनले राजनीतिक वितृष्णाको प्रत्यक्ष परिणामका रूपमा ऊर्जा खर्च गरेको छ भन्ने तर्क पनि यथोचित छ । जेनजी पुस्ताको आन्दोलनलाई केवल वितृष्णा भनेर खारेज गर्नु उपयुक्त हुँदैन । यसको सम्भावना ठुलो छ । यसले नयाँ राजनीतिक संस्कारको बीज रोप्न सक्छ ।
प्राविधिक ज्ञान, डिजिटल पहुँच र विश्वव्यापी चेतनाले उनीहरूको सोचलाई विस्तृत बनाएको छ । तर चुनौती पनि छ । आन्दोलनलाई दिगो र संस्थागत बनाउन सङ्गठनात्मक क्षमता र वैकल्पिक नीति चाहिन्छ । केवल असन्तोषमा सीमित रह्यो भने, यो पनि अरू आन्दोलनझैँ क्षणिक भई हराउन सक्छ । जेनजी पुस्ताको आन्दोलन आवश्यकताका आधारमा पनि जन्मिएको छ, र राजनीतिक वितृष्णाको उपज पनि हो । तर यथार्थमा यो दुवैको मिश्रण हो।
आवश्यकता यो कारणले छ कि उनीहरूले आफ्ना जीवनका वास्तविक समस्या समाधान खोजिरहेका छन् । वितृष्णा यस कारण छ कि पुराना दलहरूको असफलता र स्वार्थले उनीहरूलाई राजनीति प्रति निराश बनाएको छ ।यदि यो आन्दोलनले सङ्गठन, भिजन र वैकल्पिक नेतृत्व सिर्जना गर्न सके भने, यो केवल असन्तोषको अभिव्यक्ति नभई नयाँ राजनीतिक संस्कारको आरम्भ बन्न सक्छ । नभए, यो पनि क्षणिक आक्रोशको झिल्कोमा मात्र सीमित भई हराउनेछ ।




























