मज्जाको दसैँ

1.6K
shares
Nabil bank

 

रामचन्द्र कार्की

दसैँलाई नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाई नवरात्र पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गर्छन् । दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दसैँ आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो खास गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा छ । दसैँमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रूपमा लिइन्छ ।
धार्मिक,पारिवारिक,ऐतिहासिक एवम् सांस्कृतिक रुपमा दसैँको भिन्नै महत्त्व छ । हरेक क्षेत्रमा दसैँको महत्वले फरक सन्देश बोकेको छ । यसलाई हरेक व्यक्ति वा समुदायले दसैँलाई फरकपनमा मानेको पाइन्छ ।

धार्मिक महत्त्व

नेपालको इतिहासमा लिच्छविकादेखि नै दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ ।
हिन्दु संस्कृतिमा नवरात्र अथवा दसैँको परम्परा र प्रचलन निकै पुरानो मानिएको छ । सत्ययुगदेखि नै नवरात्रभर दुर्गा पूजा गर्ने गरिएको पाइन्छ । उदाहरणका लागि सत्ययुगमा देवताले दानवीय शक्तिमाथि विजय पाउनका लागि नवरात्री दुर्गा पूजा प्रारम्भ गरेका थिए भने त्रेता युगमा भगवान् रामचन्द्रले रावणमाथि विजय पाउनका लागि तथा द्वापर युगमा भगवान् श्रीकृष्णले मानवको दुःख सङ्कट निवारण गर्ने कार्यका लागि नवरात्रमा दुर्गा पूजा गरेका थिए । यसैको फलस्वरूप आफ्नै मामा राक्षशवंशी कंसलाई मारेर मानव उद्धार गरेका थिए ।

 

दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्री देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दसैँ नामकरण गरिएको हो । नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः कतै शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि रात्रि गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ ।
कसैले नीलकण्ठ, क्षेम करी, हरिसिद्धि, रुद्रांसदुर्गा, वाण दुर्गा, अग्नि दुर्गा, जय दुर्गा, विन्ध्यवासिनी दुर्गा र रियुमारी दुर्गा गरी नौ देवीको नाममा शक्तिको पूजा गर्दछन् ।

 

यीमध्ये जुन देवीको नाममा पूजा गरे पनि नौ देवीको पूजा गरिने हुनाले यस पर्वलाई नवरात्र भनिन्छ ।शक्तिकी अधिष्ठात्री देवी दुर्गा भन्नाले देवदेवीमध्ये सबैभन्दा बढी मान्यता प्राप्त इष्टदेवी, कुलदेवी अथवा प्रमुख संरक्षिका देवीलाई भन्ने बुझिन्छ ।फेरि यो दसैँ पर्व हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठुलो चाड भएकाले यस दश दिने दसैँलाई बडादसैँ पनि भनिन्छ । कतै–कतै यस पर्वलाई प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन पनि मनाइन्छ ।

 

 

नवरात्रमा माता दुर्गाको पूजा गर्दा बलि दिने प्रचलन रहिआएको छ । यस्तो बलि दिँदा कुभिन्डो, काँक्रो, उखु, पुलाकी (रुख विशेष), बेल, नरिवल र कुश (दाल–चामल) बलि दिने प्रचलन छ । सप्तमीको दिनमा वचनकी अधिष्ठात्री सरस्वतीको पुस्तक, कपी, कलम र मसिदानीसमेतलाई एकै ठाउँ राखेर पूजा गरिन्छ । यही सप्तमीको दिनमा फूलपाती भित्र्याउने चलन छ र यो फूलपातीमा नौ जातका वनस्पतिहरू समावेश गरिन्छ । ती नौ जातका वनस्पतिमा केरा, दारिम, धानको बोट, हलेदोको बोट, कुभिन्डो, कुच (लेदोको जस्तो पात हुने एक प्रकारको बोट), बेल, अशोक र जयन्तीलाई लिइएको छ ।

 

 

अष्टमीको दिन महागौरी नामक दुर्गाको पूजा गरिन्छ । यसै दिनको राति कालरात्रिको पूजा गरिन्छ । कालरात्रिमा भैरव, सिंह, र भगवतीको हातहतियार र गणहरूको साथमा अष्ठमातृका, नवदुर्गा र दश महादेवी, कोटि योगिनी, दिशा र दिक्पालको पूजा गरिन्छ । नवमीको दिनमा त्रिशूल देवीको पूजा गरिन्छ । नवदुर्गामध्येकी अन्तिम दुर्गा सिद्धिदात्रि देवीको पनि यसै नवमीमा पूजा गरिन्छ । यस प्रकार नवरात्रभर नवदुर्गाको पूजा, आराधना गरेपछि दशमीको दिनमा प्रतिपदाको बेलुका शुद्ध माटो र बालुवामा मकै र जौ भिजाएर राखिएका पहेँला जमरा र राता अक्षताले ठुला–वडाले आफूभन्दा सानालाई शुभ आशीर्वाद दिई टीका लगाइदिनाले उत्तम हुन्छ भन्ने हिन्दु धर्मावलम्बीहरूमा विश्वास छ । मान्यजनबाट टीका र जमरा लगाइ आशीर्वाद दिँदा पढिने मन्त्र यस प्रकार छ –

 

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्याेधने ।।

सौर्यं शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।

विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसरी मान्यजनबाट दिइने आशीर्वादको श्लोकको अर्थ यस्तो छ– बडादसैँको टीका र जमरा लगाउनाले द्रोणाचार्यका छोरा अश्वत्थामा (अष्ट चिरञ्जीवीमध्येका एक) को जस्तो दीर्घ आयु होस्, राजा दशरथको जस्तो सम्पत्तिले परिपूर्ण होस्, भगवान् रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति होस्, नहुष राजाको जस्तो ऐश्वर्यले परिपूर्ण होस्, राजा शन्तनुका छोरा भीष्मको जस्तो पराक्रम होस्, भगवान् श्रीकृष्णका दाजु बलरामको जस्तो बलले पूर्ण होस्, राजा युधिष्ठिरको जस्तो सत्यवादी होस्, विदुरको जस्तो ज्ञान र विज्ञानको ज्ञान होस् र भगवान् नारायणको जस्तो कहिल्यै नाश नहुने कीर्ति भएर रहिरहोस् ।

 

 

यी माथिका आशीर्वादसहितको श्लोक पुरुषलाई टीका र जमरा लगाइदिँदा दिइने आशीर्वाद हो भने महिलालाई दिइने आशीर्वादको श्लोक यस प्रकार छ ।

जयन्ती मङगलाकाली भद्रकाली पालिकनी ।

दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।

यो महिलालाई टीका र जमरा लगाइदिँदा दिइने आशीर्वादको श्लोकको अर्थ यस प्रकार छ–
दश दिनसम्म दुर्गा माताको पूजा र आराधना गरेर मनाइने दसैँमा जयन्ती, मङ्गला, काली, भद्रकाली, पालिकनी, दुर्गा, क्षमा, शिवा, दातृ, स्वधा र स्वाहासमेत सबै देवीलाई मेरो नमस्कार छ ।

यिनै देवीबाट नै सबैको रक्षा भएको हुनाले यी देवीलाई नमस्कार गरिएको हो । छोटकरीमा भन्नुपर्दा नारी नै देवीका रूपमा पूजनीय भएकाले सम्पूर्ण नारीलाई देवीका रूपमा सम्मान गरिएको हो। अर्को शब्दमा भन्नुपर्दा नारी नै देवी हुन् र देवी नै नारी हुन् । यस प्रकार नारीको पूजन सम्मान नै देवीको पूजन र सम्मान भएकाले समस्त पालनकर्ता भगवान् विष्णुकी बहिनी भनेर पनि पुकारिन्छ । वेदमा दुर्गा माता, काली माताजस्तो देवीको उल्लेख नभए पनि पौराणिक कालपछि देवीको उपासना गर्ने प्रचलन सुरु भएको मानिएको छ । नेपालको इतिहासमा लिच्छविकादेखि नै वैष्णव धर्म, शैव धर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ ।

 

दसैँको सांस्कृतिक महत्त्व

 

यो नेपाली समाजको एक सामूहिक उत्सव हो । नेपाली समाजमा दसैँलाई सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण पर्वका रूपमा मानिन्छ । यो पर्व वर्षमा एक पटक आउने भए पनि यसले ल्याउने प्रभाव, सम्बन्ध र संस्कार भने वर्षभरि जीवित रहन्छ । दसैँले नेपालीको सामाजिक जीवन, पारिवारिक संरचना, परम्परा, कला, खानपान र सामूहिक चेतनामा गहिरो छाप छोडेको छ।

 

दसैँलाई पारिवारिक मिलनको अवसरका रूपमा बुझिन्छ । वर्षभरि अध्ययन, रोजगारी वा अन्य कारणले आ–आफ्नो स्थानमा रहेका सदस्य दसैँमा घर फर्कन्छन् । आमा–बाबा, दाजु–भाइ, दिदी–बहिनी, काका–काकी, मामा–माइजू लगायत सबै नजिकिन्छन् । टिका–जमरा थाप्दै आशीर्वाद लिने प्रथाले मात्र होइन, भेटघाट र सहभोजनले पनि पारिवारिक सम्बन्धलाई सुदृढ बनाउँछ ।

 

नेपाल बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक समाज हो । दसैँलाई विभिन्न समुदायले आफ्नो परम्परा र संस्कारअनुसार मनाउँछन्। कतै बलि दिने चलन छ भने कतै शाकाहारी ढङ्गले देवीको पूजा गरिन्छ । भिन्नता हुँदाहुँदै पनि दसैँले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गर्छ । यसरी यो पर्वले विविधता भित्रको एकतालाई प्रस्ट पार्छ ।दसैँको तयारी नै संस्कारसँग जोडिएको हुन्छ । घरमा माटो ल्याएर जमरा रोपिन्छ, देवीको पूजा हुन्छ, घर–घर सफा र सजाइन्छ । वृद्ध वृद्धा, परिवारका अगुवा व्यक्तिले टिका र जमरा लगाइदिएर आशीर्वाद दिने प्रथा पुस्तौँदेखि चल्दै आएको छ। यसरी यो पर्व संस्कारलाई निरन्तरता दिने एउटा माध्यम हो ।

 

 

दसैँको समयमा गाउँ–गाउँमा लिङ्गे पिङ हालिन्छ, रोटे पिङ खेलिन्छ, गीत–सङ्गीत, नाच–गान र लोककथाको प्रस्तुति हुन्छ । नयाँ कपडा लगाउने, परम्परागत भेसभुसा देखाउने र स्थानीय खानपानलाई महत्त्व दिने परम्पराले नेपाली सांस्कृतिक मौलिकता जोगाउन मद्दत गरेको छ ।दसैँलाई केवल देवीको विजयको पर्व मात्र होइन, जीवनमा शुभ र समृद्धि ल्याउने अवसरका रूपमा पनि लिइन्छ । जमरा हरियाली, उत्पादनशीलता र उर्वरताको प्रतीक मानिन्छ । टिका–जमरासँगै परिवारका ज्येष्ठ सदस्यले दिइने आशीर्वाद जीवनमा शुभ र सफलताको कामना हो ।

 

दसैँको सांस्कृतिक मूल्य केवल घरपरिवारमा सीमित हुँदैन । गाउँ–समाजमा मेला पर्व आयोजना हुन्छ, पिङ खेलेर रमाइन्छ, विभिन्न खेलकुद हुन्छन् । यसले सामूहिक मनोरञ्जन मात्र होइन, आपसी सहकार्य र सहयोगको भावना बढाउँछ ।आजको पुस्ता सामाजिक सञ्जाल, आधुनिकता र सहरीकरणमा बढी आकर्षित भए पनि दसैँमा परम्परागत चलनलाई महत्त्व दिन्छ। नयाँ पुस्ताले आमा–बुबासँग टिका थाप्दा, गाउँमा पिङ खेल्दा वा गाउँको मेलामा रमाउँदा संस्कृतिको अनुभव गर्छ । यसरी दसैँ परम्परा र आधुनिकताको पुल बनेको छ ।

 

दसैँको सांस्कृतिक महत्त्व बहु आयामिक छ । यसले परिवारलाई जोड्छ, समाजलाई नजिक ल्याउँछ, संस्कारलाई जोगाउँछ, कला र मौलिकतालाई संरक्षण गर्छ । यसको व्यापकता केवल धार्मिक आस्थामा सीमित छैन; यो हाम्रो सामूहिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक चेतनाको जीवन्त प्रतीक हो ।यसैले दसैँलाई नेपाली समाजले ‘महान् पर्व’ का रूपमा मानेको छ । दसैँमा घर फर्किने, टिका–जमरा थाप्ने, पिङ खेल्ने र मेलामा रमाउने अभ्यासले हाम्रो सांस्कृतिक जीवनलाई अझ रङ्गिन बनाइरहेको छ ।

 

विज्ञान र दसैँ

 

दसैँमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्त्व पनि कम छैन । दसैँमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको वैज्ञानिक पक्ष, जमराको महत्त्व आदि पनि रहेका हुन्छन् । हामीले दसैँमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायुको प्रतीक मानिन्छ । तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौ र गहुँको जमराबाट बनेको जुस पिउने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रूपमा पुष्टि समेत भइसकेको छ ।

 

जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गडबडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ । त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताइएको छ । जौ र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसङ्ख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।

 

मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन् । सुषुम्ना मस्तिष्कको मध्य भागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ ।

 

निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ । यस्तै हरेक परम्पराको वैज्ञानिक महत्त्व रहेको पाइन्छ ।

 

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited