विवाह पञ्चमी महोत्सव आज सकिँदै, भारतबाट आएका पाहुनालाई ‘रामकलेवा’ गरी बिदाइ
वि.सं.२०८२ मंसिर १० बुधवार
shares
काठमाडौं । त्रेता युगमा भगवान राम र माता सीताको ऐतिहासिक विवाहको सम्झनामा जनकपुरधाममा मनाइने महत्त्वपूर्ण धार्मिक उत्सव विवाह पञ्चमी महोत्सव आज (बुधबार) सकिँदैछ।
मंगलबार विवाह पञ्चमीको मुख्य दिन स्वयम्बर र विवाह कार्यक्रम सम्पन्न भएपछि आज साताव्यापी महोत्सवको समापन गरिँदैछ। मुख्य विधि सम्पन्न भइसकेपछि भारतबाट आएका पाहुनालाई बिदा गर्ने परम्परा रामकलेवा आज सम्पन्न गर्ने तयारी भए पनि बुधबारका लागि औपचारिक कार्यक्रम नरहेको जनाइएको छ।
मंगलबार जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार स्वयम्बर गराइएको थियो।
डोला यात्रासँगै लाखौँ श्रद्धालु जनकपुर नगर परिक्रमा यात्रामा सहभागी भएका थिए।
स्वयम्बरका क्रममा आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिँदा वातावरण भक्तिमय बनेको थियो। साथै, जानकी मन्दिर र राम मन्दिरमा रहेका भगवानका मालाविनिमय (वरमाला आदान–प्रदान) गराइएर नगर परिक्रमा गराइएको थियो।
नगर परिक्रमा जनकपुरधामका विभिन्न मठ–मन्दिरका डोलाहरू, स्थानीय झाँकियाँ, साधुसन्त र लाखौँ श्रद्धालुको सहभागितासहित भव्यरूपमा सम्पन्न भएको जनाइएको छ।
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा देश–विदेशबाट आएका भक्तजनको ठूलो भीड लागेको थियो।
























