प्रणय दिवस: पश्चिमा समाजमा उत्पत्ति र पूर्वीय दर्शनसंग सामीप्यता
वि.सं.२०८२ फागुन २ शनिवार
shares
प्रेम मानव सभ्यताको सबैभन्दा प्राचीन, गहिरो र सार्वभौमिक अनुभूति हो। समय, भूगोल, भाषा र संस्कृतिको सीमालाई पार गर्दै प्रेमले मानव समाजलाई जोड्ने अदृश्य सूत्रको काम गरेको छ। यही प्रेमको सार्वजनिक अभिव्यक्तिको एक प्रतीकात्मक रूप हो प्रणय दिवस (Valentine’s Day) । यसको ऐतिहासिक विकास पश्चिमी परम्परामा देखिए पनि यसको दार्शनिक आधार भने विश्वव्यापी छ। त्यसैले प्रणय दिवसलाई केवल पश्चिमी संस्कृतिको आयातित उत्सवका रूपमा हेर्नु पर्याप्त हुँदैनस यसलाई पूर्वीय दर्शनसँगको सम्बन्धमा पनि बुझ्न आवश्यक हुन्छ।
प्रणय दिवसको ऐतिहासिक आधार प्राचीन रोमन सभ्यतासँग जोडिएको पाइन्छ। किंवदन्तीअनुसार, तेस्रो शताब्दीमा रोमन सम्राट क्लाउडियस व्दितियले सैनिकहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। उनको धारणा थियो—अविवाहित सैनिकहरू बढी साहसी र प्रतिबद्ध हुन्छन्। तर एक ख्रीष्टियन पादरी सेन्ट भ्यालेन्टाइनले यो आदेशको अवज्ञा गर्दै गोप्य रूपमा युवायुवतीहरूको विवाह गराइदिए। परिणामस्वरूप उनलाई मृत्युदण्ड दिइयो। पछि उनको स्मृतिमा फेब्रुअरी १४ लाई प्रेम र समर्पणको प्रतीकका रूपमा मनाउन थालियो।
मध्ययुगीन युरोपमा आएर यो दिनले थप सांस्कृतिक अर्थ प्राप्त गर्यो। अंग्रेजी कवि जिओफरे चाउसरले आफ्नो काव्यमा वसन्त र प्रेमलाई जोड्दै प्रणय दिवसलाई रोमान्टिक भावनासँग सम्बन्धित बनाए। क्रमशः प्रेमपत्र, कार्ड, गुलाफ र उपहार आदान–प्रदान गर्ने परम्परा विकास हुँदै गयो। औद्योगिक क्रान्तिपछि यसले व्यापारिक स्वरूप पनि ग्रहण गर्यो र आज विश्वव्यापी रूपमा मनाइने उत्सव बन्यो। यसरी हेर्दा, पश्चिमी सन्दर्भमा प्रणय दिवस व्यक्तिगत प्रेम, विशेषतः प्रेमी–प्रेमिकाबीचको सम्बन्ध, भावनात्मक अभिव्यक्ति र रोमान्टिक आदान–प्रदानमा केन्द्रित देखिन्छ।
यद्यपि प्रणय दिवसको ऐतिहासिक जरो पश्चिमी संस्कृतिमा देखिन्छ, प्रेमको दार्शनिक व्याख्या पूर्वीय चिन्तनमा अझ गहिरो र व्यापक रूपमा विकसित भएको पाइन्छ। पूर्वीय दर्शनमा प्रेम केवल दैहिक आकर्षण वा भावनात्मक रोमान्स होइनस यो आत्मिक, नैतिक र आध्यात्मिक अनुभूति हो। हिन्दू दर्शनमा राधा र कृष्ण सीता र राम पार्वती र शिव लक्ष्मी र नारायणको सम्बन्धलाई सामान्य प्रेमभन्दा परको दिव्य मिलनका रूपमा चित्रित गरिएको छ। यी प्रेमहरुलाई आत्मा र परमात्माको मिलनसँग तुलना गरिन्छ, जसले प्रेमलाई आध्यात्मिक साधनाका रूपमा स्थापित गर्छ। यहाँ प्रेम भक्ति, समर्पण र आत्म–अर्पणको प्रतीक हो।
बौद्ध दर्शनमा प्रेमलाई ‘मैत्री’ र ‘करुणा’ को रूपमा व्याख्या गरिन्छ। गौतम बुध्दले सबै प्राणीप्रति मैत्रीभाव राख्नुपर्ने शिक्षा दिएका छन्। यहाँ प्रेम कुनै एक व्यक्तिप्रति सीमित हुँदैनस यो सर्वत्र फैलिएको करुणामय चेतना हो। यस्तो प्रेम स्वार्थरहित, अपेक्षारहित र समदर्शी हुन्छ।उपनिषद्हरूमा प्रेमलाई आत्मा र ब्रह्मको एकत्वसँग जोडिएको पाइन्छ। ‘अहं ब्रह्मास्मि’ र ‘तत्त्वमसि’ जस्ता महावाक्यहरूले आत्मा–परमात्माको अद्वैत सम्बन्धलाई उजागर गर्छन्। यस दृष्टिले प्रेम विभाजनको होइन, एकत्वको अनुभूति हो।
पश्चिमी अभ्यासमा प्रणय दिवस प्रायः व्यक्तिगत र युगल सम्बन्धमा केन्द्रित देखिन्छ। आधुनिक उपभोक्तावादी समाजमा यसले व्यापारिक आयाम पनि ग्रहण गरेको छ। प्रेमलाई उपहार, कार्ड, चकलेट र गुलाफमार्फत अभिव्यक्त गर्ने चलन व्यापक छ। तर पूर्वीय समाजमा प्रेमको अभिव्यक्ति पारिवारिक, सामाजिक र आध्यात्मिक दायरासम्म फैलिएको हुन्छ। यहाँ प्रेम केवल दुई व्यक्तिबीचको आकर्षण होइनस यो माता–पिता, गुरु–शिष्य, मित्रता, राष्ट्रप्रेम र मानवताप्रतिको समर्पणसम्म विस्तारित हुन्छ। पूर्वीय संस्कृतिमा ‘वसुधैव कुटुम्बकम्’ को भावना—सम्पूर्ण संसार एक परिवार हो—प्रेमको व्यापक दृष्टिकोणलाई प्रकट गर्छ।
उत्पत्तिको दृष्टिले प्रणय दिवस पश्चिमी संस्कृतिमा आधारित छ, यसको मूल भावना—स्नेह, सम्मान, समर्पण र सम्बन्धको संरक्षण—पूर्वीय दर्शनसँग विरोधाभासी छैन। बरु, पूर्वीय चिन्तनले प्रेमलाई अझ नैतिक, आध्यात्मिक र सर्वसमावेशी बनाउने आधार प्रदान गर्छ।यदि प्रणय दिवसलाई केवल रोमान्टिक आकर्षणमा सीमित नराखी आत्मीयता, जिम्मेवारी र दीर्घकालीन प्रतिबद्धताको रूपमा बुझ्ने हो भने, यसले पूर्व–पश्चिम दुवै दृष्टिकोणलाई समेट्न सक्छ। प्रेमलाई केवल उत्सवको दिनमा सीमित नराखी जीवनशैलीका रूपमा अंगीकार गर्ने हो भने यसको मूल्य अझ अर्थपूर्ण हुन्छ।
आजको उदारवादी संसारमा सांस्कृतिक आदान–प्रदान तीव्र भएको छ। सामाजिक सञ्जाल, सञ्चार प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धका कारण एक देशको संस्कृति अर्को देशमा सजिलै पुग्छ। यस्तो अवस्थामा प्रणय दिवसलाई अन्धानुकरण वा सांस्कृतिक अतिक्रमणका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन। बरु, यसलाई सकारात्मक मूल्य—सद्भाव, सहानुभूति, संवाद र सम्मान—अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सकिन्छ।
प्रणय दिवस पश्चिमी ऐतिहासिक घटनाबाट विकसित भएको सांस्कृतिक अभ्यास हो, जसको शुरुवात सेन्ट भ्यालेन्टाइनको समर्पणमा पाइन्छ। तर प्रेमको दार्शनिक आधार भने मानव सभ्यताको साझा सम्पत्ति हो। पूर्वीय दर्शनले प्रेमलाई आत्मिक, नैतिक र आध्यात्मिक उचाइमा पुर्याएको छ भने पश्चिमी परम्पराले त्यसलाई सार्वजनिक उत्सवको रूप दिएको छ। पूर्वीय समाजले पश्चिमी अभ्यासबाट भावनाको खुला अभिव्यक्तिको संस्कार सिक्न सक्छ भने पश्चिमी समाजले पूर्वीय दर्शनबाट प्रेमको गहिरो आध्यात्मिक अर्थ ग्रहण गर्न सक्छ। यसरी दुवै परम्पराको समन्वयले प्रेमलाई क्षणिक आकर्षणबाट उठाएर स्थायी मानवीय मूल्यका रूपमा स्थापित गर्न सक्छ।
प्रणय दिवसलाई संस्कृतिगत विभाजनको दृष्टिले होइन, मानवीय एकताको दृष्टिले हेर्नु उपयुक्त हुन्छ। प्रेम न पूर्वीय मात्र हो, न पश्चिमी मात्र—यो मानवताको साझा धरोहर हो। जब प्रेममा सम्मान, विश्वास, त्याग र जिम्मेवारी जोडिन्छ, तब मात्र त्यो साँचो प्रणय बन्छ।प्रणय दिवस कुनै एक दिनको उत्सव मात्र होइनस यो हामीलाई प्रेमको मूल्य सम्झाउने, सम्बन्धलाई सुदृढ बनाउने र मानवताप्रतिको करुणा विस्तार गर्ने अवसर हो। आजका दिनमा प्रेमी–प्रेमिका मात्र होइन, परिवार, साथीभाइ, गुरु–शिष्य, तथा समाजप्रतिको आत्मीयता व्यक्त गर्ने परम्परा बढ्दो छ। कार्ड, फूल, उपहार आदान–प्रदान, शुभकामना सन्देश तथा सांस्कृतिक कार्यक्रमहरू यसको सामान्य अभिव्यक्ति हुन्। नेपाली परिवेशमा पनि प्रणय दिवसलाई पाश्चात्य संस्कृतिको अन्धानुकरणको रूपमा मात्र नहेरी, आत्मीयता, पारस्परिक सम्मान र सद्भाव अभिवृद्धि गर्ने अवसरको रूपमा लिन सकिन्छ। साँचो प्रणय भनेको क्षणिक आकर्षण नभई विश्वास, त्याग, सम्मान र दीर्घकालीन प्रतिबद्धतामा आधारित सम्बन्ध हो। यसैले प्रणय दिवस केवल एक दिनको उत्सव होइन, सम्बन्धहरूलाई अझ सुदृढ, संवेदनशील र जिम्मेवार बनाउने स्मरण दिवस पनि हो।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्



























