नैतिक कर्मबाट समाज निर्माण
वि.सं.२०८२ फागुन २७ बुधवार
shares
समाजको वास्तविक प्रगति केवल भौतिक संरचना वा आर्थिक समृद्धिबाट मात्र सम्भव हुँदैन। यसका लागि व्यक्तिगत नैतिकता र उत्तरदायित्वको महत्व अत्यन्तै ठूलो छ। जब व्यक्तिले आफ्नो जीवनमा सत्य, ईमानदारी, करुणा र सेवा भाव अपनाउँछ, तब त्यही नैतिक कर्म समाजको आधारशिला बन्न पुग्छ। नैतिक कर्म समाजको कल्याणका लागि अनिवार्य हुन्छ।
व्यक्तिगत स्तरमा नैतिक कर्मले अनुशासन र जिम्मेवारीको भावना जगाउँछ। आफ्नो कर्तव्य, अधिकार र सीमाहरू बुझेर काम गर्ने व्यक्तिले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। यस्तो व्यक्ति आफ्नो व्यवहार, निर्णय र गतिविधिहरूमा निष्पक्षता र सत्यतालाई प्राथमिकता दिन्छ। फलतः यस्ता व्यवहारले अरूलाई पनि अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्छ।
समाजिक स्तरमा नैतिक कर्मको प्रभाव अझ स्पष्ट देखिन्छ। जब नागरिकले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको हितलाई प्राथमिकता दिन्छन्, तब भ्रष्टाचार, अनुशासनहीनता र असमानताको जरा कम हुन्छ। विद्यालय, कार्यालय, बजार, सडक र समुदायका हरेक क्षेत्रमा नैतिक कर्मले व्यवहारिक सुधार ल्याउँछ। मानिसहरूको पारस्परिक विश्वास बढ्छ, सहकार्यको भावना विकसित हुन्छ र सामाजिक सम्बन्ध मजबुत हुन्छ।
भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फलकाबारेमा अति उत्कृष्ट ढङ्कले बताइएको छ। प्रथमदेखि छैटौँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्रौँसम्म भक्तियोग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरेर गीतामा तीन योग विभाजन गरिएको छ। भागवत गीतामा चित्तवृत्ति निरोध अवस्थामा प्राप्तिका लागि पहिले के कस्तो अवस्थामा भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई दृष्टान्तसहित बताइएको छ। गीता अध्ययन गरी साधकले क्रियाको श्रद्धा र भक्तिपूर्वक जति–जति आप्mनो साधनामा उन्नति गर्दै जान्छ, त्यति नै गीताको सबै कुराको निजबोधबाट नै स्पस्ट ज्ञान हुँदै जान्छ। विश्व रूपमा परमात्माको अनन्तरुप दर्शन गरेर साधकको भक्तिको चरम विकाश स्वरुप उसलाई आत्माज्ञान लाभ हुन्छ। यसलाई भागवत गीताको भक्तियोग मानिन्छ। यसमा कर्म र ज्ञान एक आपसमा मिलेको हुन्छ ।
कर्मयोग र सामाजिक धर्मको सम्बन्ध मानव जीवनको दार्शनिक र नैतिक पक्षलाई उजागर गर्ने गहिरो विषय हो। भागवत गीता अनुसार कर्म मात्र शरीरको क्रिया होइन, यो आत्माको विकास र समाजिक सुधारको मार्ग पनि हो। प्रत्येक व्यक्ति आफ्नो कर्ममार्फत मात्र आफ्नो जीवनलाई सन्तुलित बनाउन सक्दछ, तर यस कर्ममार्गले समाजमा न्याय, सदाचार र समृद्धिको स्थापना गर्न पनि योगदान पुर्याउँछ।
कर्मयोगको मूल तत्व हो—निष्काम कर्म। निष्काम कर्म भन्नाले फलप्रति आसक्ति बिना आफ्नो कर्तव्य पालन गर्नु हो। जब व्यक्तिले आफ्नो इच्छालाई नियन्त्रणमा राखेर धर्मअनुसार कर्म गर्दछ, तब उसको कार्य व्यक्तिगत हितको लागि मात्र सीमित हुँदैन, यसले समाजमा सकारात्मक प्रभाव पार्छ। उदाहरण स्वरूप, शिक्षकले आफ्नो ज्ञानको सेवा विद्यार्थीका लागि निष्काम भावले गर्दा मात्र होइन, समाजको भविष्य निर्माण गर्न पनि योगदान पुर्याउँछ। यसरी व्यक्तिगत नैतिकता र धर्मले सामाजिक सुधारको आधार तयार पार्दछ।
व्यक्तिगत नैतिकता बिना समाजिक सुधार असम्भव छ। यदि प्रत्येक व्यक्ति आफ्नो कर्तव्य पालनमा ईमानदार र धर्मनिष्ठ भए, भने भ्रष्टाचार, अन्याय, अत्याचार जस्ता नकारात्मक प्रवृत्तिहरू स्वतः न्यून हुन्छन्। गीता अनुसार, प्रत्येकले आफ्नो सामाजिक कर्तव्य, धर्म, र आफ्नो स्थानअनुसार कर्म गर्नुपर्छ। यो बाह्य नियमको पालन मात्र होइन, आन्तरिक चेतनाको अभ्यास हो। व्यक्ति जसले आफ्नो आत्मालाई अनुशासित राख्छ, उसले आफ्नो इन्द्रिय र इच्छालाई नियन्त्रणमा राखेर समाजमा स्थायी परिवर्तन ल्याउन सक्छ।
सामाजिक धर्म व्यक्तिगत नैतिकतामा आधारित छैन। यसले समुदायको कल्याण, समानता, न्याय र मानव अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्छ। कर्मयोगले मानिसलाई आफ्नो स्वार्थभन्दा माथि उठेर समाजिक जिम्मेवारी बोध गराउँछ। यदि प्रत्येक नागरिकले आफ्नो कर्ममार्गमा निष्काम भाव अपनायो भने दार्शनिक दृष्टिले समाजमा स्थायी सुधार सम्भव हुन्छ। यहाँ धर्म धार्मिक कर्म होइन, मानवीय मूल्य, सामाजिक न्याय, र नैतिक जीवनको मार्ग पनि हो।
गीता अनुसार, कार्यको मूल्य यसको उद्देश्य र भावनामा निर्भर हुन्छ। जब उद्देश्य स्वार्थ वा लोभका लागि हुन्छ, तब कर्म नकारात्मक परिणाम ल्याउँछ। तर जब कर्म निष्काम, धर्मनिष्ठ, र समाजकल्याणमा केन्द्रित हुन्छ, तब व्यक्तिगत सुधारले स्वतः समाजमा सुधारको ढोका खोल्दछ। यसरी कर्मयोग व्यक्तिगत नैतिकता र सामाजिक धर्मबीचको सेतु बनाउँछ।
कर्मयोगले मानवलाई आध्यात्मिक उन्नतिमा सीमित राख्दैन, यसले उसको जीवनलाई सामाजिक रूपले पनि अर्थपूर्ण बनाउँछ। प्रत्येक व्यक्ति जब आफ्नो कर्ममार्गमा ईमानदार, धर्मपरायण, र समाजप्रति जिम्मेवार हुन्छ, तब उसको व्यक्तिगत जीवनमा शान्ति, स्थिरता र संतोष पैदा हुन्छ। यही स्थिरता र नैतिक अनुशासन समाजमा स्थायी सुधारको बीउ रोप्छ।
कर्मयोग र सामाजिक धर्मको अभ्यासले यसरी व्यक्ति र समाजबीचको सम्बन्धलाई दार्शनिक, नैतिक र आध्यात्मिक दृष्टिले सुदृढ बनाउँछ। यसले व्यक्तिगत नैतिकता र जिम्मेवारीको अभ्यास बिना कुनै पनि समाजमा स्थायी सुधार सम्भव छैन भनि प्रमाणित गर्दछ । निष्काम कर्ममार्गले व्यक्तिगत विकास र सामाजिक कल्याणलाई एउटै धारा भित्र ल्याउँछ, जसले मानवीय जीवनलाई उच्चतम मूल्य र उद्देश्यसँग जोड्दछ।
गीतामा भनिएको छ, जो पुरुष आफ्नो चित्तलाई स्थिर राख्छ र परब्रह्ममा लीन हुन्छ, उसका लागि धर्म–अधर्म, शुभ–अशुभ जस्ता भेदहरू अर्थहीन हुन्छन्। यस्तो योगीले साक्षात्कार गर्दछ—ईश्वर, मोक्ष र सत्यज्ञानको अनुपम आनन्द। मानिसको स्वभावमा सुखप्राप्ति र तृप्तिको असिम चाहना हुन्छ। तर तत्वदर्शी योगीहरूले देखाउँछन् कि संसारका सबै पदार्थजन्य सुख क्षणिक, अस्थायी र अपरिमित छन्। त्यसैले जो वास्तविक आनन्द खोज्छ, उसले भौतिक संसारबाट छुटकारा पाउनु पर्छ।
योगीहरू आफ्नो शरीर भित्रै सर्वशक्तिमान परमात्माको अन्वेषण गर्छन्। परब्रह्म, अविनाशी, अद्धितीय तत्व, यही परमात्मा हो। भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्—“वासुदेव तिमी मेरो शरणमा आउ, म तिमीलाई सबै पापबाट मुक्त गरिदिन्छु।” यस संदेशले देखाउँछ कि मोक्ष प्राप्तिका लागि बाह्य संसारको मोह त्यागेर आत्मिक जागरण अपरिहार्य छ।
मनुष्यको जीवन कर्ममा आधारित छ। कर्मयोगले हामीलाई सिकाउँछ कि निष्काम भावमा कर्म गर्नु नै सर्वोच्च धर्म हो। प्रत्येक कार्यको परिणाम हुन्छ। सुख वा दुःख, समृद्धि वा अभाव—सबै कर्मको प्रतिफल हुन्। यसैले जीवनको प्रत्येक कदममा सन्तोष, शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ। जब मानिस आफ्नो कर्म भगवानलाई अर्पण गर्दछ, तब उसले भोग्ने सुख–दुःखलाई पनि आत्मिक दृष्टिले अनुभव गर्न थाल्छ।
अर्जुन जस्तै अज्ञानी मनुष्यले जब आफ्नो दिमाग, इच्छा र राग–द्वेषलाई नियन्त्रणमा राख्छ, तब उसले वास्तविक ज्ञान र मोक्षको बाटो पाउँछ। इच्छाशक्ति र ध्यानद्वारा मनको चञ्चलतालाई स्थिर राख्नु अत्यावश्यक हुन्छ। नकारात्मक संवेग, क्रोध, लोभ र मोहले मानिसलाई पतनतर्फ डोहोयाउँछ। तर आत्मसंयमी व्यक्ति राग–द्वेषरहित भएर आफ्ना इन्द्रियहरूसँग सामना गर्दा अन्तःकरणको शान्ति र प्रसन्नता प्राप्त हुन्छ।
गीताले सिकाएको अर्को महत्वपूर्ण सन्देश हो—संसारको सबै कुरामा ईश्वरको उपस्थितिलाई स्वीकार गर्नु। शरीर, इन्द्रिय, मन र बुद्धिले आफूलाई भगवानमा अर्पण गर्दा जीवनमा स्थायी शान्ति प्राप्त हुन्छ। जन्म–मरण, सुख–दुःख, समृद्धि–अभाव यी सबै संसारिक नियमको हिस्सा मात्र हुन्। परिवर्तन संसारको नियम हो। तसर्थ, जीवनमा आउने परिवर्तन, उतार–चढाव वा असफलता भन्ने कुराले हाम्रो मानसिक शान्तिमा बाधा पुर्याउन सक्दैन।
मनुष्यले आफ्नो जीवनलाई भौतिक इच्छाहरूमा केन्द्रित राख्दा असंतोष र पीडा जन्मन्छ। तर जब उसले निष्काम भावमा कर्म गर्दै, तत्त्वज्ञानको अनुभव गरेर, भोग–योग–भाव–लालसा त्यागेर भगवानको स्मरण गर्छ, तब वास्तविक मोक्ष प्राप्त हुन्छ। जीवनको प्रत्येक घटना भगवानको कर्मको अंश हो भन्ने बुझाइले भय, शोक र चिन्ता हटाउँछ।जन्म, मरण, सुख, दुःख, सफलता वा विफलता—यी सबै कर्मको फल हुन्। हामी जे गर्न सक्छौं, त्यो कर्ममार्गमा निष्काम भाव राखेर गर्नु नै सर्वोच्च साधना हो। यसरी मानिसको जीवन व्यक्तिगत विकासमा मात्र सीमित रहँदैन, समाजमा नैतिकता, सदाचार र प्रेम फैलाउन सहयोगी हुन्छ।यसरी, कर्मयोग र तत्त्वज्ञानको अभ्यासले मानव जीवनलाई भौतिक सुख–दुःखबाट मुक्त गर्दै, स्थायी आनन्द र मोक्षको मार्ग खोल्दछ। जब मानिस ईश्वरको सहारामा रहन्छ, निष्काम भावले कर्म गर्दछ, र आफ्नो मनलाई स्थिर राख्छ, तब उसले जीवनको सबै पीडा, डर र चिन्ताबाट मुक्त भएर आत्मिक आनन्दको अनुभूति गर्न सक्छ। यही भागवत गीताको दिव्य सन्देश हो—जीवनलाई भय, मोह, र आसक्तिबाट मुक्त गर्दै, ईश्वर र मोक्षको दिशातर्फ अग्रसर हुनु।
कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ। कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा अगाडि बढ्नु पर्दछ। हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ । त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।
धर्म, संस्कार र परम्परागत मूल्यले प्रेरित भई गरिएका कर्मले समाजमा स्थायित्व, शान्ति र न्याय कायम गर्न मद्दत पुर्याउँछ। उदाहरणका लागि, सेवा भावले समुदायका कमजोर सदस्यप्रति करुणा र सहयोगको वातावरण बनाउँछ। सत्यपालनले कानुन र नियमको सम्मान बढाउँछ। यसरी व्यक्तिगत नैतिकताबाट सुरु भएको सुधारले समाजमा स्थायी परिवर्तन ल्याउन सक्छ।समाज निर्माणका लागि ठूलो योजना, नीति र संरचनाभन्दा पनि महत्वपूर्ण हो, मानिसको हृदयमा नैतिक कर्मको विकास। यदि प्रत्येक व्यक्ति आफ्नो जीवनमा साँचो धर्म, उत्तरदायित्व र सेवा भाव अपनाउँछ भने समाज स्वच्छ, न्यायपूर्ण र प्रगतिशील बनिरहन्छ। यसैले व्यक्तिगत नैतिकता र कर्मलाई समाज सुधारको मूल आधार मानिनु पर्दछ।
गीताको ज्ञानले मानव हृदयका सद्गुण र सद्भावलाई जागृत गरी जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्दत पुर्याउँछ । यसले नागरिक चेतना, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रभावबाट मानव जगतलाई आध्यात्मिक, नैतिक र व्यावसायिक दृष्टिकोण सुधार्न मद्दत पुर्याउँछ । देशको शासकीय संरचनामा परिवर्तन भए तापनि, संस्कार र आचरणमा सुधार नहुनाले निराशा उत्पन्न भएको छ । गीताको सन्देशलाई व्यवहारमा लागू गर्दै स्वच्छ, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त समाजको विकास गर्नु आजको आवश्यकता हो।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् । )





























