कूटनीतिका उदीयमान अवधारणाहरू र नेपाल

66
shares

विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक अन्तरनिर्भरता, सूचना प्रविधिको तीव्र विकास, जलवायु परिवर्तन, मानव सुरक्षा तथा विश्वव्यापीकरणका कारण कूटनीतिक अभ्यासमा व्यापक परिवर्तन हुदै गएको छ। परम्परागत रूपमा कूटनीति राज्य राज्यबीचका सम्बन्ध व्यवस्थापन गर्ने माध्यमका रूपमा सीमित थियो। तर आजको युगमा कूटनीति केवल सरकारबीचको संवादमा सीमित नरही बहुआयामिक, बहुपक्षीय र बहु–सरोकारवालाको सहभागितामा आधारित प्रणालीका रूपमा विकसित हुदै गएको छ। परिवर्तनशील यस परिवेशमा कूटनीतिका अनेकौँ उदीयमान अवधारणाहरू विकसित भएका छन्, जसले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ दिशा र सम्बन्ध प्रदान गरिरहेका छन्। यी अवधारणाहरूले राज्यको शक्ति, प्रभाव, हित संरक्षण तथा विश्व शान्ति प्रवर्द्धनका नयाँ आयामहरू प्रस्तुत गरेका छन्।

परम्परागत कूटनीति भन्नाले मुख्यतः सार्वभौम राज्यहरूका सरकारहरूबीच राष्ट्रिय हितको संरक्षण, राजनीतिक सम्बन्धको व्यवस्थापन, शान्ति स्थापना, द्वन्द्व समाधान तथा सम्झौताहरूको वार्ताका लागि सञ्चालन गरिने औपचारिक गतिविधिलाई बुझिन्छ। यसमा विदेश मन्त्रालय, राजदूत, दूतावास तथा उच्च सरकारी प्रतिनिधिहरू प्रमुख पात्रका रूपमा रहने गर्दछन्। परम्परागत कूटनीति प्रायः गोपनीयता, औपचारिकता, राज्य–केन्द्रित दृष्टिकोण तथा राजनीतिक र सुरक्षा सम्बन्धी विषयहरूमा केन्द्रित हुने गरेको थियो। विशेष गरी युद्ध र शान्ति, सीमा, सुरक्षा, सन्धि–सम्झौता तथा शक्ति सन्तुलनका विषयहरू यसको मूल केन्द्रमा पर्दथे।

आधुनिक कूटनीतिमा चलेका अवधारणाहरुमध्ये सार्वजनिक कूटनीति (Public Diplomacy) एक हो। परम्परागत कूटनीतिमा सरकारका प्रतिनिधिहरूबीच मात्र संवाद हुने गर्दथ्यो भने सार्वजनिक कूटनीतिले विदेशी नागरिक, सञ्चारमाध्यम, शिक्षण संस्था, गैरसरकारी संस्था तथा नागरिक समाजसँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्ने कार्यलाई जोड दिन्छ। कुनै राष्ट्रले आफ्नो सकारात्मक छवि निर्माण गर्न, आफ्नो संस्कृति, मूल्य र नीतिहरूलाई विश्व समुदायमा प्रवर्द्धन गर्न तथा जनस्तरमा विश्वास अभिवृद्धि गर्न सार्वजनिक कूटनीतिको प्रयोग गर्दछ। आज सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्महरूको विस्तारसँगै सार्वजनिक कूटनीतिको प्रभाव अझ बढेको छ।

यसैसँग सम्बन्धित अर्को महत्वपूर्ण अवधारणा डिजिटल कूटनीति (Digital Diplomacy) हो। सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले कूटनीतिक अभ्यासलाई पनि डिजिटल माध्यममा रूपान्तरण गरेको छ। अहिले विदेश मन्त्रालयहरू, दूतावासहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सामाजिक सञ्जाल, वेबसाइट, भर्चुअल बैठक तथा अनलाइन संवादमार्फत कूटनीतिक गतिविधिहरू सञ्चालन गरिरहेका छन्। डिजिटल कूटनीतिले सूचना आदानप्रदानलाई तीव्र, पारदर्शी र पहुँचयोग्य बनाएको छ। विशेष गरी कोभिड–१९ महामारीको समयमा भर्चुअल कूटनीतिक अभ्यासले यसको महत्वलाई थप पुष्टि गर्‍यो। डिजिटल कूटनीतिले संकट व्यवस्थापन, राष्ट्रिय छवि निर्माण तथा नागरिक सेवामा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

समकालीन विश्वमा आर्थिक कूटनीति (Economic Diplomacy) को महत्व पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रहरूको समृद्धि केवल राजनीतिक सम्बन्धमा नभई व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र आर्थिक सहकार्यमा निर्भर हुन थालेको छ। आर्थिक कूटनीतिले विदेशी लगानी आकर्षित गर्ने, निर्यात प्रवर्द्धन गर्ने, विकास सहायता प्राप्त गर्ने तथा अन्तर्राष्ट्रिय आर्थिक साझेदारी विस्तार गर्ने कार्य गर्दछ। वर्तमान समयमा धेरै देशहरूले आफ्नो विदेश नीतिको केन्द्रमा आर्थिक हितलाई राखेका छन्। नेपालजस्ता विकासोन्मुख मुलुकका लागि आर्थिक कूटनीति रोजगारी सिर्जना, पूँजी प्रवाह वृद्धि तथा आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण माध्यम बन्न सक्छ।

विश्वव्यापी जलवायु संकटको बढ्दो प्रभावसँगै जलवायु कूटनीति (Climate Diplomacy) पनि एक उदीयमान अवधारणाका रूपमा विकसित भएको छ। जलवायु परिवर्तन कुनै एक देशको समस्या नभई सम्पूर्ण मानव समुदायको साझा चुनौती भएकाले यसका समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। हरितगृह ग्यास उत्सर्जन नियन्त्रण, जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा अनुकूलन रणनीतिहरूमा सहमति निर्माण गर्न जलवायु कूटनीतिले महत्वपूर्ण भूमिका खेल्छ। विशेष गरी हिमाली राष्ट्र नेपालका लागि जलवायु कूटनीति अत्यन्त महत्वपूर्ण छ, किनकि हिमनदी पग्लिने, प्राकृतिक विपद् बढ्ने तथा जैविक विविधतामा असर पर्ने समस्याले देशलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ।

हालका वर्षहरूमा सांस्कृतिक कूटनीति (Cultural Diplomacy) ले पनि विशेष महत्व प्राप्त गरेको छ। संस्कृति कुनै राष्ट्रको पहिचान, इतिहास, जीवनशैली तथा मूल्यहरूको प्रतिनिधित्व गर्ने माध्यम हो। सांस्कृतिक आदानप्रदान, कला, साहित्य, संगीत, भाषा, पर्यटन तथा सम्पदाको प्रवर्द्धनमार्फत राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। सांस्कृतिक कूटनीतिले राष्ट्रहरूबीचको पारस्परिक समझदारी, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउँछ। नेपालले बुद्ध, हिमालय, योग, संस्कृति तथा विविधतायुक्त सम्पदालाई सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा प्रभावकारी ढंगले उपयोग गर्न सक्छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकी विद्वान Joseph Nye ले प्रतिपादन गरेको सफ्ट पावर कूटनीति (Soft Power Diplomacy) को अवधारणाले पनि व्यापक चर्चा पाएको छ। यस अवधारणाअनुसार कुनै राष्ट्रले सैन्य वा आर्थिक दबाबभन्दा आकर्षण, संस्कृति, मूल्य, शिक्षा, प्रविधि र संस्थागत विश्वसनीयताका माध्यमबाट प्रभाव विस्तार गर्न सक्छ। आज विश्वका धेरै राष्ट्रहरूले शिक्षा, अनुसन्धान, नवप्रवर्तन, संस्कृति र विकास सहकार्यका माध्यमबाट आफ्नो सफ्ट पावर सुदृढ गरिरहेका छन्। नेपालले पनि बुद्ध जन्मभूमि, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्तिपूर्ण सहअस्तित्वका मूल्यहरूलाई सफ्ट पावरका रूपमा प्रयोग गर्न सक्ने पर्याप्त सम्भावना रहेको छ।

समकालीन युगमा मानवतावादी कूटनीति (Humanitarian Diplomacy) को महत्व पनि बढ्दै गएको छ। प्राकृतिक विपद्, महामारी, शरणार्थी संकट, खाद्य असुरक्षा तथा मानवीय संकटका समयमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न मानव कूटनीतिले महत्वपूर्ण भूमिका खेल्छ। यस अवधारणाले मानव जीवनको सुरक्षा, मानव अधिकारको संरक्षण तथा मानवीय सहायताको प्रभावकारी वितरणलाई प्राथमिकता दिन्छ। अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राष्ट्रसंघीय निकायहरू तथा विभिन्न मानवीय संस्थाहरूले यस प्रकारको कूटनीतिक अभ्यासलाई प्रवर्द्धन गरिरहेका छन्।

त्यसैगरी स्वास्थ्य कूटनीति (Health Diplomacy) पनि पछिल्लो समय विशेष रूपमा चर्चामा आएको छ। कोभिड–१९ महामारीले स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई उजागर गरेको छ। स्वास्थ्य कूटनीतिले महामारी नियन्त्रण, खोप वितरण, औषधि उपलब्धता, स्वास्थ्य प्रविधि आदानप्रदान तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा राष्ट्रहरूबीच सहकार्य बढाउँछ। स्वास्थ्य अब केवल राष्ट्रिय मुद्दा नभई अन्तर्राष्ट्रिय सुरक्षासँग जोडिएको विषयका रूपमा स्थापित भएको छ।

अर्को महत्वपूर्ण उदीयमान अवधारणा विज्ञान तथा प्रविधि कूटनीति (Science and Technology Diplomacy) हो। कृत्रिम बौद्धिकता, जैविक प्रविधि, अन्तरिक्ष अनुसन्धान, साइबर सुरक्षा तथा डिजिटल नवप्रवर्तनले विश्व राजनीतिमा नयाँ चुनौती र अवसरहरू सिर्जना गरेका छन्। वैज्ञानिक सहकार्य, अनुसन्धान साझेदारी तथा प्रविधि हस्तान्तरणमार्फत राष्ट्रहरूले साझा समस्याको समाधान खोजिरहेका छन्। भविष्यको विश्व व्यवस्थामा विज्ञान र प्रविधि कूटनीति अत्यन्त प्रभावशाली माध्यम बन्ने अपेक्षा गरिएको छ।

आजको अन्तरनिर्भर विश्वमा बहुपक्षीय कूटनीति (Multilateral Diplomacy) को महत्व झनै बढेको छ। जलवायु परिवर्तन, आतंकवाद, साइबर अपराध, महामारी, मानव बेचबिखन तथा अन्तर्राष्ट्रिय व्यापारजस्ता समस्याहरू कुनै एक राष्ट्रले मात्र समाधान गर्न सक्दैन। त्यसैले राष्ट्रहरूले अन्तर्राष्ट्रिय संगठनहरू, क्षेत्रीय मञ्चहरू तथा बहुपक्षीय संस्थाहरूको माध्यमबाट साझा समाधान खोजिरहेका छन्। संयुक्त राष्ट्रसंघ, क्षेत्रीय संगठनहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू बहुपक्षीय कूटनीतिका प्रमुख माध्यम हुन्।

यसैगरी नागरिक कूटनीति (Citizen Diplomacy) र सहर कूटनीति (City Diplomacy) जस्ता अवधारणाहरू पनि विकसित भइरहेका छन्। अब केवल केन्द्रीय सरकार मात्र कूटनीतिक गतिविधिको प्रमुख पात्र छैन। स्थानीय सरकार, विश्वविद्यालय, व्यवसायिक समुदाय, गैरसरकारी संस्था, प्रवासी समुदाय तथा साधारण नागरिकहरू समेत अन्तर्राष्ट्रिय सम्बन्धका सक्रिय सहभागी बन्न थालेका छन्। विभिन्न सहरहरूबीच भगिनी सम्बन्ध, ज्ञान आदानप्रदान तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसले स्थानीय तहलाई समेत विश्वव्यापी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ।

कूटनीतिक अभ्यासमा खेलकुद कूटनीति (Sports Diplomacy) को महत्व पनि बढ्दो छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, खेलाडी आदानप्रदान तथा खेलमार्फत राष्ट्रहरूबीच मित्रता, समझदारी र सहयोगको वातावरण निर्माण गर्न सकिन्छ। खेलकुदले राजनीतिक तनाव कम गर्न तथा जनस्तरमा सकारात्मक सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई आधुनिक कूटनीतिक उपकरणका रूपमा प्रयोग गरिँदै आएको छ।

समग्रमा हेर्दा कूटनीतिका उदीयमान अवधारणाहरूले परम्परागत राज्य केन्द्रित कूटनीतिक अभ्यासलाई फराकिलो, समावेशी र बहुआयामिक बनाएका छन्। डिजिटल प्रविधि, आर्थिक अन्तरनिर्भरता, जलवायु परिवर्तन, स्वास्थ्य सुरक्षा, सांस्कृतिक आदानप्रदान तथा नागरिक सहभागिताले कूटनीतिको स्वरूपलाई पुनर्परिभाषित गरिरहेका छन्। वर्तमान विश्वमा सफल कूटनीति केवल राजनीतिक वार्तामा सीमित नभई ज्ञान, प्रविधि, संस्कृति, अर्थतन्त्र, वातावरण, स्वास्थ्य तथा मानव सुरक्षासँग जोडिएको समग्र प्रक्रिया बनेको छ। नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूले यी उदीयमान अवधारणाहरूलाई प्रभावकारी रूपमा आत्मसात् गरी राष्ट्रिय हित प्रवर्द्धन, अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ।

नवीन कूटनीतिक अवधारणाहरूको उदय हुनुको अर्थ परम्परागत कूटनीति अप्रासंगिक भएको वा तिनले परम्परागत कूटनीतिलाई पूर्ण रूपमा विस्थापित गरेको भन्ने होइन। वास्तवमा आधुनिक कूटनीतिका अधिकांश नवीन अवधारणाहरू परम्परागत कूटनीतिको विकसित र विस्तारित रूप हुन्। आर्थिक कूटनीति, सार्वजनिक कूटनीति, डिजिटल कूटनीति, जलवायु कूटनीति, स्वास्थ्य कूटनीति तथा सांस्कृतिक कूटनीति जस्ता अवधारणाहरूले परम्परागत कूटनीतिको आधारभूत उद्देश्य राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनलाई नै नयाँ माध्यम, नयाँ उपकरण र नयाँ सरोकारवालामार्फत अगाडि बढाएका छन्। यसले उही उद्देश्य प्राप्तिका लागि कार्यक्षेत्र र कार्यविधि फराकिलो बनाएको छ।

वास्तवमा परम्परागत कूटनीतिले पनि समयानुकूल परिवर्तनलाई आत्मसात गर्दै आएको छ। उदाहरणका लागि, कुनै देशका राजदूतहरूले विगतमा जस्तै राजनीतिक वार्ता मात्र गर्दैनन्; उनीहरूले लगानी प्रवर्द्धन, पर्यटन प्रचार, व्यापार विस्तार, सांस्कृतिक कार्यक्रम, प्रवासी समुदायसँग सम्बन्ध तथा डिजिटल माध्यमबाट जनसम्पर्कका कार्यहरू पनि गरिरहेका छन्। यस अर्थमा आधुनिक कूटनीति परम्परागत कूटनीतिको विकल्प नभई त्यसको परिमार्जित र विस्तारित रूप हो।

आजको विश्वमा परम्परागत र नवीन कूटनीतिलाई प्रतिस्पर्धी अवधारणाका रूपमा होइन, परस्पर पूरक अवधारणाका रूपमा बुझ्नु उपयुक्त हुन्छ। राज्य राज्यबीचको औपचारिक सम्बन्ध, सन्धि–सम्झौता, राजनीतिक वार्ता र सुरक्षा संवादजस्ता विषयहरू अझै पनि परम्परागत कूटनीतिको माध्यमबाट नै सञ्चालन भइरहेका छन्। तर ती कार्यहरूलाई अझ प्रभावकारी बनाउन सार्वजनिक सहभागिता, डिजिटल प्रविधि, आर्थिक सहकार्य, सांस्कृतिक आदानप्रदान तथा बहुपक्षीय संलग्नता जस्ता नवीन उपकरणहरू थपिएका छन्। त्यसैले आधुनिक कूटनीतिको सफलता परम्परागत आधारलाई कायम राख्दै नवीन अवधारणाहरूलाई समुचित रूपमा आत्मसात गर्न सक्नुमा निर्भर गर्दछ।

नेपालको सन्दर्भमा पनि परम्परागत कूटनीतिको महत्व यथावत् छ। छिमेकी मुलुकहरूसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षासम्बन्धी विषयहरू परम्परागत कूटनीतिको आधारभूत क्षेत्र नै रहनेछन्। तर यी विषयहरूसँगै आर्थिक विकास, जलवायु न्याय, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय छवि निर्माणका पक्षहरूलाई समेत समेट्न सके मात्र नेपालको कूटनीति समयसापेक्ष र प्रभावकारी बन्न सक्छ। त्यसैले नवीन अवधारणाहरूलाई परम्परागत कूटनीतिको विकल्पका रूपमा होइन, त्यसको स्वाभाविक विकासक्रम र समृद्ध रूपका रूपमा बुझ्नु अधिक उपयुक्त हुन्छ।

कूटनीतिका उदीयमान अवधारणाहरूको प्रभावकारी उपयोगबाट नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा विकासात्मक क्षेत्रमा उल्लेखनीय लाभ हासिल गर्न सक्छ। भूपरिवेष्ठित तथा विकासोन्मुख राष्ट्रका रूपमा नेपालका लागि कूटनीति केवल अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने माध्यम मात्र नभई राष्ट्रिय विकास, लगानी प्रवर्द्धन, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिको महत्वपूर्ण साधन हो। विशेष गरी डिजिटल कूटनीति, आर्थिक कूटनीति, जलवायु कूटनीति, सांस्कृतिक कूटनीति र सार्वजनिक कूटनीतिका माध्यमबाट नेपालले आफ्नो राष्ट्रिय हितलाई थप प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सक्छ।

नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर विदेशी लगानी आकर्षित गर्न, निर्यात बजार विस्तार गर्न, पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न तथा वैदेशिक रोजगारीका अवसरहरूलाई थप सुरक्षित र व्यवस्थित बनाउन सक्छ। विश्वका विभिन्न मुलुकहरूमा रहेका नेपाली दूतावासहरूलाई परम्परागत प्रशासनिक भूमिकामा मात्र सीमित नराखी लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गरेर आर्थिक समृद्धिको आधार निर्माण गर्न सकिन्छ।

जलवायु कूटनीतिबाट नेपालले विशेष लाभ लिन सक्ने सम्भावना छ। हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा रहेको छ। हिमनदीहरूको तीव्र पग्लाइ, बाढी, पहिरो तथा अनियमित वर्षाका कारण नेपालले गम्भीर चुनौतीहरू सामना गरिरहेको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली क्षेत्रका समस्याहरूलाई प्रभावकारी रूपमा उठाउँदै जलवायु वित्त, हरित प्रविधि तथा अनुकूलनका लागि आवश्यक स्रोतसाधन प्राप्त गर्न सकिन्छ। नेपालले आफूलाई हिमालय संरक्षण र जलवायु न्यायको सशक्त आवाजका रूपमा स्थापित गर्न सके अन्तर्राष्ट्रिय सहयोग र समर्थन प्राप्त गर्ने सम्भावना अझ बढ्नेछ।

सांस्कृतिक तथा सार्वजनिक कूटनीतिबाट नेपालले आफ्नो सफ्ट पावरलाई सुदृढ बनाउन सक्छ। भगवान बुद्धको जन्मस्थल, हिमालयको देश, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता तथा शान्तिपूर्ण सहअस्तित्वजस्ता विशेषताहरू नेपालको अन्तर्राष्ट्रिय पहिचानका बलिया आधार हुन्। यिनै पक्षहरूको व्यवस्थित ब्रान्डिङ गरी विश्व समुदायमा नेपालको सकारात्मक छवि निर्माण गर्न सकिन्छ। यसबाट पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा अन्तर्राष्ट्रिय सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ।

डिजिटल कूटनीतिको उपयोगले नेपाललाई सीमित स्रोतसाधनका बाबजुद पनि विश्व समुदायसँग प्रभावकारी सम्पर्क विस्तार गर्ने अवसर प्रदान गर्दछ। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म तथा भर्चुअल माध्यमहरूको प्रयोग गरी नेपालले आफ्नो नीतिगत धारणा, विकासका उपलब्धि, लगानीका अवसर तथा पर्यटन सम्भावनाहरूलाई विश्वभर प्रचार–प्रसार गर्न सक्छ। यसले कम लागतमा अधिक प्रभाव सिर्जना गर्न सहयोग पुर्‍याउँछ।

नेपालका लागि आगामी कार्यनीति बहुआयामिक हुनुपर्छ। यसका लागि विदेश नीतिलाई परम्परागत राजनीतिक सम्बन्धभन्दा बाहिर ल्याई आर्थिक विकास, प्रविधि हस्तान्तरण, जलवायु न्याय, मानव संसाधन विकास तथा राष्ट्रिय ब्रान्डिङसँग जोड्न आवश्यक छ। आर्थिक कूटनीतिमा दक्ष जनशक्ति उत्पादन गरी दूतावास तथा नियोगहरूलाई परिणाममुखी बनाउनुपर्छ। डिजिटल कूटनीतिको संस्थागत विकास गरी विदेश मन्त्रालय तथा कूटनीतिक नियोगहरूलाई आधुनिक प्रविधिसँग आबद्ध गर्नुपर्छ। जलवायु परिवर्तन, हिमालय संरक्षण तथा विपद् व्यवस्थापनका विषयमा नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्ने रणनीति अवलम्बन गर्नुपर्छ।

त्यसैगरी प्रवासी नेपाली समुदायलाई विकास कूटनीतिको महत्वपूर्ण साझेदारका रूपमा परिचालन गर्न आवश्यक छ। विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप, अनुभव तथा लगानीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ। विश्वविद्यालयहरू, अनुसन्धान संस्थाहरू, निजी क्षेत्र तथा स्थानीय सरकारहरूलाई समेत कूटनीतिक प्रयासमा सहभागी गराई बहुआयामिक कूटनीतिक संरचना विकास गर्न सकिन्छ।

नेपालले आफ्नो सफ्ट पावरलाई सुदृढ गर्न बुद्ध, लुम्बिनी, सगरमाथा, योग, आयुर्वेद, सांस्कृतिक सम्पदा तथा प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्नुपर्छ। खेलकुद कूटनीति, सांस्कृतिक कूटनीति तथा शैक्षिक कूटनीतिलाई पनि विदेश नीतिको अभिन्न अंगका रूपमा विकास गर्न सकिन्छ। यसबाट नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि हुनुका साथै पर्यटन, लगानी तथा अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसरहरू सिर्जना हुनेछन्।

कूटनीतिका उदीयमान अवधारणाहरूलाई राष्ट्रिय विकास रणनीतिसँग एकीकृत गर्न सके नेपालले आफ्नो विद्यमान भूराजनीतिक अवस्थालाई थप अवसरमा रूपान्तरण गर्न, अन्तर्राष्ट्रिय सहयोगलाई अधिकतम उपयोग गर्न तथा समृद्ध, सम्मानित र प्रभावशाली राष्ट्रका रूपमा आफूलाई स्थापित गर्न सक्नेछ। २१औँ शताब्दीको कूटनीति केवल सम्बन्ध व्यवस्थापनको विषय नभई राष्ट्रिय समृद्धि, प्रतिस्पर्धात्मक क्षमता र विश्वव्यापी प्रभाव विस्तारको महत्वपूर्ण साधन भएकाले नेपालले समयानुकूल, नवप्रवर्तनशील र परिणाममुखी कूटनीतिक रणनीति अवलम्बन गर्नु अपरिहार्य देखिन्छ।

विश्वव्यापीकरण, सूचना प्रविधिको तीव्र विकास, आर्थिक अन्तरनिर्भरता, जलवायु परिवर्तन, मानव सुरक्षा तथा बहुपक्षीय सहकार्यको विस्तारसँगै कूटनीतिको स्वरूप परम्परागत सीमाभन्दा धेरै फराकिलो र बहुआयामिक बन्दै गएको छ। आजको कूटनीति केवल राज्य–राज्यबीचको राजनीतिक संवादमा सीमित नरही आर्थिक विकास, डिजिटल सम्पर्क, सांस्कृतिक आदानप्रदान, जलवायु न्याय, स्वास्थ्य सुरक्षा, विज्ञान–प्रविधि, खेलकुद तथा नागरिक सहभागितासम्म विस्तार भएको छ। सार्वजनिक कूटनीति, डिजिटल कूटनीति, आर्थिक कूटनीति, जलवायु कूटनीति, सांस्कृतिक कूटनीति तथा सफ्ट पावर कूटनीतिजस्ता उदीयमान अवधारणाहरूले राष्ट्रहरूको प्रभाव, प्रतिष्ठा र हित प्रवर्द्धनका नयाँ अवसरहरू सिर्जना गरेका छन्। यी अवधारणाहरूले कूटनीतिलाई केवल विदेश नीतिको साधन मात्र नभई राष्ट्रिय विकास, समृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने रणनीतिक माध्यमका रूपमा स्थापित गरेका छन्।

नेपालका लागि यी उदीयमान कूटनीतिक अवधारणाहरू विशेष महत्वका छन्। भूराजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको, प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, हिमाली पर्यावरण तथा भगवान बुद्धको जन्मभूमिजस्ता विशिष्ट पहिचान बोकेको नेपालले आधुनिक कूटनीतिक साधनहरूको प्रभावकारी उपयोग गरी आफ्नो राष्ट्रिय हितको प्रवर्द्धन गर्न सक्दछ। आर्थिक कूटनीतिमार्फत लगानी, व्यापार र पर्यटन विस्तार गर्न, जलवायु कूटनीतिमार्फत जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न, डिजिटल कूटनीतिमार्फत विश्व समुदायसँग प्रभावकारी सम्पर्क विस्तार गर्न तथा सांस्कृतिक कूटनीतिमार्फत नेपालको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्न सकिन्छ। साथै, प्रवासी नेपाली समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा स्थानीय सरकारहरूको सहभागितामा बहुआयामिक कूटनीतिक अभ्यासलाई सुदृढ बनाउने अवसर पनि उपलब्ध छ।

बदलिँदो विश्व परिवेशमा नेपालले परम्परागत कूटनीतिक सोचबाट माथि उठेर नवप्रवर्तनशील, परिणाममुखी तथा विकास–केन्द्रित कूटनीतिक रणनीति अवलम्बन गर्नु आवश्यक छ। राष्ट्रिय विकासका लक्ष्य, आर्थिक समृद्धिको आकांक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि तथा दिगो विकासका उद्देश्यहरूलाई कूटनीतिक प्रयाससँग जोड्न सकियो भने कूटनीति नेपालको समग्र रूपान्तरणको प्रभावकारी साधन बन्न सक्छ। यसका लागि सक्षम कूटनीतिक जनशक्ति, स्पष्ट राष्ट्रिय दृष्टिकोण, प्रविधिमैत्री कार्यशैली तथा राष्ट्रिय हितप्रति केन्द्रित दीर्घकालीन रणनीतिक सोचको विकास अपरिहार्य छ। यिनै आधारहरूमा नेपालले २१औँ शताब्दीका अवसरहरूलाई अधिकतम उपयोग गर्दै विश्व समुदायमा सम्मानित, प्रभावशाली र समृद्ध राष्ट्रका रूपमा आफ्नो स्थान सुदृढ गर्न सक्नेछ।

डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्

civil hospital
Hams Hospitals