कविता:बौलाहाको व्याकरण

855
shares

 

यो ब्रह्माण्डको ‘नाम’ मात्रै होइन हामी

हामी त शून्यको गर्भबाट च्युत भएका ‘सर्वनाम’ हौं,

जहाँ तिमी र म बीचको भेद—

एउटा लिङ्गीय संसर्गमा पग्लिएर एकाकार हुन्छ।

हाम्रो अस्तित्व कुनै संज्ञाको परिभाषामा अटाउँदैन,

हामी त त्यो आदिम ‘काम’ हौं,

जसले व्याकरण जन्मनुअघि नै सृष्टिको श्लोक लेखेको थियो।

समाजले भिराइदिएका ‘बौलाहा’ विशेषणहरू—

हाम्रा लागि शरीरमा टाँसिएका च्यातिएका वस्त्र हुन्।

हामी त ती नग्न विशेषणका पुजारी हौं,

जसले अहम्‌को भद्दा शृङ्गार उतारेर

आफ्नै छायाको कामुकतासँग संभोग गर्छ।

मनोविज्ञानको गहिराइमा,

हामी चेतन र अचेतनको त्यो मिलन विन्दु हौं,

जहाँ पागलपन नै अन्तिम सौन्दर्य बनिदिन्छ।

हाम्रो जीवनमा ‘कर्ता’ को हुन्?

हामी आफैं हौं, वा हाम्रा दमित इच्छाहरू?

जब तृष्णाको लिङ्गो ठडिन्छ विस्मयादिबोधक बनेर,

तब व्याकरणका विभक्तिहरू अर्थहीन हुन्छन्।

हामी भविष्यका दास होइनौं,

हामी त वर्तमानको त्यो उत्कर्ष हौं,

जसले कालको गाला समातेर भनिदिन्छ—

“अस्तित्व कुनै पूर्णविराम होइन, यो त अनन्त अल्पविराम हो।”

हाम्रो मस्तिष्कको पदक्रम अलि फरक छ,

यहाँ विचारहरू नियममा होइन, लयमा हिँड्छन्।

हरेक बौलाहा एउटा दार्शनिक हो,

जसले शब्दको योनीबाट सत्यको जन्म गराउँछ।

हामी फ्रायडको ‘इड’ हौं,

हामी सार्त्रको ‘अस्तित्व’ हौं,

हामी त ती व्याकरणहीन कविता हौं,

जसलाई बुझ्न दिमाग होइन, विद्रोह चाहिन्छ।

civil hospital
Hams Hospitals