करुणाशील आत्माबाट निर्माण हुने शान्त समाज 

51
shares

 

आजको विश्व प्रविधि–विस्फोट, जनसङ्ख्याको तीव्र दबाब, जलवायु परिवर्तन र गहिरो नैतिक संकटको चपेटामा परेको छ। यी चुनौतीहरूलाई कानुनी, आर्थिक वा प्राविधिक उपायबाट मात्र समाधान गर्न सकिँदैन, किनकि समस्या बाहिरभन्दा भित्र गहिरो छ। समाधानको मूल स्रोत अन्तर्मनको उज्यालो र आध्यात्मिक चेतनामा निहित छ। उदाहरणका लागि, जलवायु परिवर्तनको सामना गर्न उपभोगवादी मानसिकता त्यागेर पृथ्वीलाई साझा घरका रूपमा हेर्ने चेतना आवश्यक छ। नीति निर्माण केवल लाभ र वृद्धि केन्द्रित नभई उत्तरदायित्व र सहअस्तित्वमा आधारित हुनुपर्छ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्ता र जैव–प्रविधिजस्ता क्षेत्रमा नैतिक सीमारेखा नतोकिए मानवीय जीवन नै जोखिममा पर्न सक्छ। यसकारण व्यक्तिगत जीवनमा मात्र होइन, नेतृत्व र नीति–निर्माण प्रक्रियामा पनि आध्यात्मिक दृष्टिकोण अपरिहार्य बन्दै गएको छ। अध्यात्म कुनै कर्मकाण्ड होइन; यो आत्म–अन्वेषण र चेतनाको जागरण हो। यसले मानिसलाई क्षणिक बाह्य आडम्बरभन्दा पर चिरन्तन सत्यसँग जोड्छ।

शुद्ध अन्तर्मन अहंकार, ईर्ष्या, क्रोध र लोभबाट मुक्त हुन्छ। मलिन चेतनाले असन्तुलित व्यवहार जन्माउँछ भने शुद्ध चेतनाले करुणा र विवेकलाई विकसित गर्छ। मानव जीवनको लक्ष्य बाहिरी सम्पत्ति होइन, आन्तरिक समृद्धि हो। विवेक, धैर्य, करुणा र सहिष्णुता नै वास्तविक सम्पत्ति हुन्, र तिनको विकास अन्तर्मनको शुद्धताबाट मात्र सम्भव हुन्छ।

मानव जीवन भौतिक उपलब्धि, सत्ता वा सामाजिक प्रतिष्ठामा सीमित छैन। यसको वास्तविक मर्म अन्तर्मनको उज्यालोमा निहित छ, जसले व्यक्तिलाई आत्मचेतना, आत्मसंयम र नैतिकता आत्मसात् गर्न प्रेरित गर्छ। जब व्यक्तिले आफ्नो अन्तरमनलाई शुद्ध, सुसंस्कृत र उज्यालो बनाउँछ, तब मात्र उसले जीवनका जटिल समस्याहरूको सामना धैर्य, विवेक र संयमका साथ गर्न सक्छ। अन्तर्मनको उज्यालो ज्ञानको प्रकाश मात्र होइन, यो करुणा, सहिष्णुता, प्रेम, क्षमा र सेवा–भावको प्रकाश हो, जसले समाजलाई नैतिक आधार प्रदान गर्दछ।

सहिष्णु समाजको निर्माणको पहिलो आधार व्यक्ति–स्तरको अन्तर्मन सुधार हो। जब प्रत्येक नागरिकले आफ्नो अन्तरमनमा अनुशासन, नैतिक मूल्य र आध्यात्मिक चेतना विकास गर्छ, तब उसले आफ्नो स्वार्थका लागि होइन, समग्र समाजका लागि निर्णय र कार्य गर्ने क्षमता प्राप्त गर्छ। गीता, उपनिषद्, बौद्ध दर्शन लगायत प्राचीन ग्रन्थहरूले यही कुरा स्पष्ट पारेका छन् कि आत्म–जागरण र आत्म–परिष्कार नै समाजिक सद्भावको मूल आधार हो। उदाहरणका लागि, गीता अध्याय २ मा कृष्णले अर्जुनलाई आत्म–विवेक र धर्मसंगत कार्यको महत्त्व सिकाउनुहुन्छ। यही चेतनाले व्यक्तिलाई स्वार्थ, लोभ, द्वेष र क्रोधका अन्धकारबाट मुक्त गर्छ, जसले समाजमा मेलमिलाप र सहिष्णुताको वातावरण सिर्जना गर्छ।

शान्त समाज कुनै बाह्य संरचना, कानुन वा शक्ति सन्तुलनको परिणाम मात्र होइन; यसको वास्तविक आधार करुणाशील आत्मा हो। जब व्यक्तिको चेतना करुणाले स्पर्श हुन्छ, तब समाज स्वतः शान्तिको दिशामा अग्रसर हुन्छ। करुणा केवल भावनात्मक सहानुभूति होइन, यो अरूको पीडालाई आफ्नै पीडा जस्तै अनुभूति गर्ने चेतनागत अवस्था हो। यही अवस्था नै मानवीय सम्बन्ध, सामाजिक न्याय र सहअस्तित्वको आधार बन्छ।

करुणाशील आत्मा अहंकार, द्वेष र हिंसाबाट मुक्त हुन्छ। जहाँ अहंकार कमजोर हुन्छ, त्यहाँ संवाद बलियो हुन्छ; जहाँ द्वेष हराउँछ, त्यहाँ विश्वास जन्मिन्छ। शान्त समाजको निर्माण तब सम्भव हुन्छ जब व्यक्ति अरूलाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा हेर्न थाल्छ। करुणाले मानिसलाई अधिकार मात्र होइन, कर्तव्यको पनि बोध गराउँछ। यसले शक्तिलाई नियन्त्रणमा राख्छ र स्वतन्त्रतालाई उत्तरदायित्वसँग जोड्छ।

आध्यात्मिक परम्पराहरूले करुणालाई मानव उन्नतिको मूल सूत्र मानेका छन्। बुद्धको मैत्रीभाव, गीताको निष्काम कर्म र उपनिषद्को एकात्म चेतना करुणाको गहिरो अभिव्यक्ति हुन्। यी शिक्षाहरूले समाज परिवर्तनको केन्द्र सत्ता होइन, चेतनालाई बनाएका छन्। जब आत्मा परिष्कृत हुन्छ, व्यवहार स्वाभाविक रूपमा न्यायपूर्ण र सहिष्णु बन्छ।

आजको विश्व द्वन्द्व, असमानता र अविश्वासले ग्रस्त छ। यस्तो समयमा करुणाशील आत्माबाट निर्माण हुने शान्त समाज कुनै आदर्शवादी कल्पना होइन, अपरिहार्य आवश्यकता हो। करुणाले शिक्षा, राजनीति, अर्थतन्त्र र संस्कृतिमा नैतिक दिशा प्रदान गर्छ। यसले हिंसालाई संवादमा, स्वार्थलाई सेवामा र विभाजनलाई सहअस्तित्वमा रूपान्तरण गर्छ।शान्त समाजको बीउ राज्यका नीतिमा होइन, व्यक्तिको हृदयमा रोपिनुपर्छ। जब हरेक आत्मा करुणाशील बन्छ, तब समाज आफैँ शान्त, सन्तुलित र मानवीय बन्छ।

मानव सभ्यताको वास्तविक मूल्य बाह्य संरचना, प्रविधि वा शक्तिमा होइन, मानव हृदयभित्र प्रज्वलित चेतनाको उज्यालोमा निहित हुन्छ। जब हृदय उज्यालो हुन्छ, विचार शुद्ध हुन्छ; विचार शुद्ध हुँदा आचरण संयमित हुन्छ, र आचरण संयमित हुँदा समाज सहिष्णु बन्छ। यस अर्थमा सहिष्णु मानव समाज कुनै कानुनी दस्तावेज वा राजनीतिक घोषणाबाट होइन, आत्मचेतनाले प्रकाशित अन्तर्मनबाट निर्माण हुन्छ।

सहिष्णुता आत्मबोधको उपज हो। उपनिषदको “तत्त्वमसि” ले आत्मा र समष्टिको ऐक्यबोध गराउँछ। जब व्यक्ति आफूलाई मात्र होइन, अरूलाई पनि आफ्नै अस्तित्वको विस्तारका रूपमा बुझ्न थाल्छ, तब द्वेष, अहंकार र हिंसाको आधार स्वतः कमजोर हुन्छ। सहिष्णु समाज भनेको मतभेदको अभाव होइन, मतभेदभित्र पनि मानवता जोगाइराख्ने चेतनाको उपस्थिति हो।आध्यात्मिक तहमा सहिष्णुता करुणाको रूप हो। बुद्ध दर्शनले करुणालाई सबैभन्दा उच्च मानवीय गुण मानेको छ। करुणा तब सम्भव हुन्छ जब पीडामा परेकालाई “अरू” होइन, “आफ्नै” ठानिन्छ। यस्तो हृदय उज्यालोले भरिएको हुन्छ, जहाँ घृणाको अन्धकार टिक्न सक्दैन। करुणामा आधारित व्यवहारले सामाजिक विभाजन, हिंसा र असहिष्णुतालाई क्रमशः क्षीण बनाउँछ।

आधुनिक समाजमा असहिष्णुता प्रायः अहंकार, असुरक्षा र आत्मविच्छेदनबाट जन्मिन्छ। आत्मिक रूपमा रिक्त व्यक्ति बाह्य पहिचान—जात, धर्म, विचार वा शक्तिलाई नै सबैथोक ठान्न थाल्छ। यही संकीर्णता सामाजिक टकरावको कारण बन्छ। तर आध्यात्मिक चेतनाले व्यक्तिलाई भित्र फर्काउँछ, आत्मसँग जोड्छ, र भित्री रिक्ततालाई उज्यालोले भरिदिन्छ।

हृदयको उज्यालोले रचिने समाजमा न्याय नैतिक अनुभूति बन्छ। त्यहाँ सहिष्णुता कमजोरी होइन, चेतनाको उच्चतम अवस्था मानिन्छ। शक्ति होइन विवेक निर्णायक हुन्छ, प्रतिस्पर्धा होइन सहकार्य मूल्यवान् बन्छ। यस्तो समाज दीर्घकालीन रूपमा शान्त, समावेशी र मानवीय हुन्छ।

महात्मा गान्धी, डा. अब्दुल कलामजस्ता व्यक्तिहरूले व्यक्तिगत नैतिकता र आत्मिक उज्यालोमार्फत समाजमा सहिष्णुता र सहअस्तित्वको संस्कृति विकास गरे। यसले प्रमाणित गर्छ कि सामाजिक रूपान्तरणको मूल स्रोत सत्ता होइन, चेतना हो।समाज शान्ति खोज्छ तर समाजको मूल आधार व्यक्ति हो। अशान्त अन्तर्मनले शान्त समाज जन्माउन सक्दैन। आत्म–परिष्कार, ध्यान, करुणा र नैतिक अभ्यासमार्फत जब अन्तर्मन उज्यालो हुन्छ, तब समाज स्वतः उज्यालो बन्छ। यही उज्यालो नै सहिष्णु मानव समाजको आधार र मानव सभ्यताको दिगो भविष्य हो।

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals