व्यापार–व्यवसायको नाममा जनता ठग्ने अनि राज्य छल्ने धन्दा, सरकारको कहिले जाने आँखा ?
वि.सं.२०८३ वैशाख २१ सोमवार
shares
भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरुमा सामान प्याक गरेर राखिएको हुन्छ । तरकारीदेखि खाद्यान्नसम्म प्याकिङ्ग गरी आकर्षक तरिकाले राखिएका हुन्छन् । तर, ती सामान म्याद गुज्रिएको हुनुका साथै कम तौलको हुने अधिकांशको गुनासो छ । उनीहरुका अनुसार सामान बाहिरबाट हेर्दा किन्न मन लाग्ने तरिकाले प्याकिङ्ग गरिएको हुन्छ ।
तर, घर लगेर प्याकिङ्ग खोल्दा कामै नलाग्ने हुन्छ । म्याद गुज्रिएर बिग्रिएको, सडेकोसँगै तौल पनि एकदमै कम हुने गर्छ । अर्कोतर्फ, यस्ता सुपरमार्केट तथा स्टोरमा सामानको भाउ अन्य ठाउँको तुलनामा दोब्बर हुन्छ । अन्यत्र पचास रुपैयाँ पर्ने सामान यहाँ ७० देखि एक सय रुपैयाँसम्म पर्छ । कारण हो, सामानलाई प्याक गरिएको हुनु ।
मनै तान्नेगरी सामान प्याक गरिएको सर्वसाधारण किन्छन् अनि पछुताउँछन् । ‘धेरैजसो सामान कामै नलाग्ने हुन्छन्, खेर फ्याल्नुपर्छ,’ एक उपभोक्ताले भने । यद्यपि, सरोकारवाला निकायहरु अनुगमन गर्दैनन् । जनता ठग्दा, उनीहरुको स्वास्थ्यमा खेलबाड गर्दासमेत सरकारलाई केही मतलब छैन । भाटभटेनी, बिगमार्ट, सुपरमार्केटटहरुमा मात्र होइन, अन्यत्र पनि यस्तै छ ।
माछामासु पसलकै कुरा गर्ने हो भने कहिलेदेखिको बासी, मरेको, सडेको मासु बेचिन्छ, त्यो पनि चर्को मूल्यमा ।
केही दिनअघि त मरेको कुखुराको मासु खाँदा दुई जनाको ज्यानै गयो । यसबाटै प्रष्ट हुन्छ कि व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति नागरिकको ज्यानै लिन्छन् । दुर्भाग्य, यस्तो हुँदापनि राज्यको ध्यान जाँदैन । सरोकारवाला निकायहरु अनुगमन गर्दैनन् न त कारबाही । माछामासुसँगै डेरी पसलहरुको पनि हालत उस्तै छ ।
दुई लिटर दुधमा तीन लिटर पानी हालेर बेचिन्छ । त्यो पनि कतिपय दुध त पाउडर र केमिकलबाट बनेको हुन्छ । यतिमात्र होइन, साङ्ला, झिँगा, किरा मरेको दुध, दही, महीसमेत बेचिन्छ । सातादेखिको बासी दही, दुध पनि बेचबिखन गरिन्छ भने पनिर पनि त्यस्तै बेचिन्छ । यसरी दुधको नाममा पानी बेच्दा वा मानिसको स्वास्थ्यमा हानि हुने सामान बेच्दासमेत राज्य मौन छ ।
मुलुकमा तीन तहको सरकार छ । विडम्बना, संघ, प्रदेश र स्थानीय सरकार नै बजार अनुगमन गर्दैनन् । बजार अनुगमन गर्ने हाम्रो काम होइन वा एकअर्कालाई देखाएर पन्छिने गर्छन् । यसले सर्वसाधारण जनता मर्कामा परेका छन् । व्यापारीले भनेजति पैसा तिरेरपनि उनीहरु गुणस्तरहीन, कम तौल, बिग्रिएको, सडेको सामान किनेर खान बाध्य छन् ।
बजारमा चियादेखि डोनट, मिठाई, केक, मःम पसलसम्म मापदण्डविपरीत छन् । सानो प्लास्टिकको एक कप चियाको ३० देखि ४० रुपैयाँ लिइन्छ । फेरि चियामा दुध कम, पानी बढी हुन्छ । डोनट पसलमा एउटै तेलमा डोनटदेखि निम्की, आलु चिप्सलगायत पकाइन्छ । त्यो तेल हेरिनसक्नु हुन्छ । त्यस्तो तेलमा बनाइएको खानाले स्वास्थ्यमा एकदमै हानि पुर्याउँछ ।
तर, मानिसहरुलाई थाहा हुँदैन । यसले उनीहरु त्यस्ता सामान किनेर खान्छन् अनि रोगी बन्छन् ।
मिठाई पसल बाहिरबाट चिटिक्क देखिन्छन् । अनेकौं रंगका मिठाई देख्दा खाउखाउ लाग्छ । व्यापारीले भनेझैं पैसा तिरेर मानिसहरु मिठाई किन्छन्, खान्छन् । उनीहरुले त्यो मिठाई बनाउने ठाउँ देखेका हुँदैनन् । सायद देख्ने हो भने कसैले मिठाई किन्ने छैनन् ।
किनकि मिठाई पसल जति सफा देखिएको हुन्छ, मिठाई बनाउने ठाउँ उत्तिकै फोहोर । आजकल बर्थ डेदेखि विवाह, व्रतबन्धसम्ममा केक काट्ने चलन छ । सानो पर्व वा खुशी मनाउनु परेमा पनि केक काटिन्छ । तर, त्यो केक कसरी बनाइन्छ ? कस्ता सामान प्रयोग गरिएको छ ? कसैलाई थाहा हुँदैन । केकमा बिग्रिएको अण्डा अनि मैदाको प्रयोग गरिएको हुन्छ । जसले मानिसमा दीर्घकालिन रोग निम्त्याउँछ ।
यद्यपि, यसबारे आम नागरिक अन्जान छन् । मःम पसलहरुमा खुट्टा टेकिनसक्नु लाइन हुन्छ । मःममा कस्ता मासुको प्रयोग गरिएको छ ? खानेलाई थाहा हुँदैन । तैपनि उनीहरु मिठो मानेर खान्छन् । अनि त्यही जिब्रोको स्वादले पछि ज्यानै लिन्छ । गर्मी हुनेबित्तिकै कोक, फन्टालगायत पेयपदार्थ पिउन रुचाइन्छ । तर, यो कसरी बनाइन्छ ? कसैलाई थाहा हुँदैन । चटपट, पानीपुरी आजकल बच्चादेखि बुढासम्मले खाइरहेको देखिन्छ ।
चटपटमा ससको नाममा केमिकल हालेर बनाइएको रंग हालिन्छ भने पानीपुरीको झोल फोहोर पानीबाट बनाइएको हुन्छ । यस्तो खानेकुरा खाँदा मानिसको संवेदनशील अंगमा हानि पुग्छ । तर, पढेलेखेकादेखि अनपढसम्म चटपट, पानीपुरी भनेपछि हुरुक्क हुन्छन् । घरेलु तथा विदेशी मदिरा बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । घरेलु मदिरा युरिया मल, फोहोर जुत्ता, मोजा, राँगा, भैंसीको हड्डीलगायतबाट बनाइएको हुन्छ ।
तर, कोदो–चामलबाट बनाइएको भन्दै बेचिन्छ । विदेशी मदिरा त केबाट र कसरी बनाइन्छ ? कसैलाई थाहै हुँदैन । यस्ता मदिरा बेचिबिखन हुँदा अनि यसको सेवनबाट मानिसको पैसासँगै ज्यानै जाँदा राज्य भने मौन छ । न त घरेलु होस् या विदेशी मदिरामा प्रतिबन्ध लगाउँछ न त अनुगमन गरी कारबाही नै गर्छ । बजारमा पाइलैपिच्छे व्यापार व्यवसाय सञ्चालन भएका छन् । उनीहरुको दैनिक व्यापार दश हजारदेखि लाखौं हुन्छ ।सामानको तोकिएभन्दा दोब्बर–चौब्बर मूल्य उपभोक्तासँग असुलिन्छ । राज्य भने निरीह छ । व्यापारी–व्यवसायीसामु सरकार झुकेको अवस्था छ । नत्र व्यापार–व्यवसायको नाममा कानूनको धज्जी उडाइरहँदा सरकार किन चुपचाप छ ।
कानूनमा स्पष्ट भनिएको छ कि वस्तु तथा सेवा किनबेच हुँदा अनिवार्य रुपमा बिलबिजक दिनुपर्छ । सँगै दश प्रतिशतमात्र नाफा खाएर सामान बेच्न पाइन्छ । तर, हामी कहाँ त न सामान किन्दा बिल दिइन्छ न त दश प्रतिशतमात्र नाफा खाइन्छ । सँगै राज्यलाई समेत लुटिन्छ । बजारमा ९० प्रतिशत व्यापार व्यवसाय दर्ताबिनै सञ्चालन भएका छन् ।
दर्ता भएपनि कर तिरिएको छैन । त्यसतर्फ कसैको ध्यान गएको पाइँदैन । यसले व्यापारी–व्यवसायी त मालामाल भएका छन् तर जनता रोगी अनि राज्य कंगाल भइरहेको छ । वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले भने यो बेथितिको अन्त्य गर्ने जनतामा आशा छ । अब सरकार कतिको नागरिकको विश्वासमा खडा हुन्छ ? हेर्न बाँकी छ । हुन त सरकार गठनको एक महिना भइसक्दासमेत त्यस्ता कुनै काम भएको छैन ।
बजार अनुगमन, व्यापार, व्यवसाय अनिवार्य दर्तालगायतमा सरकारले ध्यान दिएको पाइँदैन । तैपनि ढिलो भएको छैन । सरकारले बजार अनुगमनमा कडाई अनि जनता ठग्ने, राज्यलाई कर छल्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने हो भने एकातिर जनतालाई राहत मिल्नेछ, अर्कोलाई ढुकुटीमा कर । त्यसैले, यसतर्फ सरकारको बेलैमा आँखा जाओस् । जनतामा पनि चेतना आओस् । जथाभावी सामान नकिन्यौं, जसले आफ्नो पैसासँगै ज्यान सिध्याउँछ ।




























