वालेन सरकारलाई सुझाव–बचतकर्तालाई राज्यको ढुकुटी बाँड्ने होइन, निक्षेपको स्रोत खोजौं
वि.सं.२०८३ वैशाख २५ शुक्रवार
shares
आफू च्यातिएको लुगा लगाएर, एक छाक मिठो नखाई, छोराछोरी राम्रो स्कुलमा नपढाई आम नागरिक राज्यलाई कर तिर्छन् । यसरी संकलित करबाट सरकारले बाटोघाटो, स्कुल, अस्पताल, पुललगायत बनाउँछ । सरकारी कर्मचारी, जनप्रतिनिधिलाई तलबभत्ता, पेन्सन तथा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिन्छ ।
तर, पछिल्लो समय विकास निर्माण र सामूहिक हितमाभन्दा सीमित बचतकर्तालाई जनताले तिरेको कर बाँड्ने तयारी गरिएको छ । पैसा खाने एउटा, बाँड्ने चाँहि राज्यको ढुकुटी । वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्ने घोषणा गरिसकेको छ । यद्यपि, कहाँबाट ? बताएको छैन ।
जनताले तिरेको कर बचतकर्तालाई फिर्ता गर्ने सरकारको रणनीति देखिन्छ । सहकारीमा करोड होइन, अर्ब होइन, खर्बौ रकम डुबेको छ । त्यो पनि लाखौं बचतकर्ताको । उनीहरुको बचत फिर्ता गर्न खर्बौ रकम चाहिन्छ । सरकारले सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीको सम्पत्ति जफत गरी बचत फिर्ता गर्ने दाबी गरेपनि तत्काल यो सम्भव देखिन्न ।
किनकि हजारौं सहकारी अध्यक्ष, सञ्चालक फरार छन् । अर्कोतर्फ, जेलमा रहेका सहकारी अध्यक्ष, सञ्चालकसँग केही पनि सम्पत्ति छैन । अनि कहाँबाट बचत फिर्ता गर्ने ? सरकारको अहिलेको योजना राज्यको ढुकुटीबाट पैसा बाँड्ने, पछि असुल्ने देखिन्छ । तर, सहकारी अध्यक्ष, सञ्चालकसँग पैसा भए पो पछि उठाउन मिल्छ । उनीहरुसँग सम्पत्ति नै छैन भने कहाँबाट असुल्ने ?
उनीहरुले बचतकर्ताको पैसा खाएका होइनन्, कर्जा प्रवाह गरेका हुन् । त्यसक्रममा धेरथोर घुस खाए होलान् । तर, त्यतिले त बचत फिर्ता गर्न सकिन्न नि । त्यसैले, बचतकर्ताको निक्षेप फिर्ता गर्न शुरुमा ऋण असुली आवश्यक छ । फेरि अधिकांश ऋणीले कर्जा तिर्न सक्दैनौं भनेर हात उठाइसके । अर्कोतर्फ, धितो लिलाम गरिएपनि किनबेच ठप्प छ, मूल्य लगातार घट्दो छ ।
यसले पाँच करोड ऋण असुल्नु छ भने धितो बिक्री गर्दा डेढ करोडसमेत नआउने अवस्था छ । अनि कसरी सरकारले ऋण उठाउँछ र बचत फिर्ता गर्छ ? एउटा बचतकर्ताको मात्र निक्षेप फिर्ता गरेर हुँदैन । लाखौं बचतकर्ताको रकम डुबेको छ । एउटै बचतकर्ताको डेढ लाखदेखि २० करोडसम्म बचत डुबेको छ । अनि यत्रो बचत कहाँबाट फिर्ता गर्ने ?
सरकार लोकप्रियतातर्फ लागेको देखिन्छ । आफ्नो पार्टी (रास्वपा) ठूलो बनाउन सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा बाँड्ने सरकारी रणनीति हो । तयसले रास्वपा त ठूलो होला तर मुलुक गम्भीर संकटमा धकेलिने छ । किनकि बचतकर्ताको रकम फिर्ता गराउन जनताले तिरेको करले मात्र पुग्दैन । त्यसपछि सरकारले ऋण लिनेछ ।
अहिले नै सार्वजनिक ऋण ३२ खर्बमाथि पुगिसक्यो । थप ऋण लिई निक्षेप फिर्ता गरिए बचतकर्ताहरु त मख्ख पर्लान् तर भविष्यमा नेपालको अस्तित्व नै संकटमा पर्नसक्ने अवस्था आउनसक्छ । किनकि विदेशीले यत्तिकै ऋण दिँदैन । उसको पनि कुनै न कुनै स्वार्थ रहन्छ । र, त्यो स्वार्थ हो, नेपाली भूमि । नेपालमाथि धेरै देशको आँखा छ ।
यसरी ऋणले थिचाएर नेपाल नै कब्जा गर्ने विदेशी रणनीति हो । विडम्बना यो रणनीति वालेन सरकारले नबुझेको हो कि बुझ पचाएको हो ? प्रश्न उठेको छ । नभए मुलुक संकटमा पर्नसक्छ भनेर थाहा हुँदाहुँदै सरकार किन जोखिम मोलिरहेको छ ? किन बचतकर्तालाई राज्यको ढुकुटीबाट पैसा बाँड्न लागिएको ?
सरकारसँग अहिलेपनि समय छ । बेलैमा आँखा खोलियोस् र बचतकर्तालाई राज्यको ढुकुटीबाट पैसा बाँड्ने होइन, निक्षेपको स्रोत खोजौं । सहकारीमा मकै पोल्नेदेखि भ्रष्टाचारीसम्मले पैसा राखेका थिए । राजस्व छलेर, गैरकानूनी काम गरेर आर्जित रकम सहकारीमा राखिएको थियो । नभए साधारण व्यक्तिसँग कसरी २० करोड रकम आउनसक्छ । त्यसैले, अब सरकारले सहकारीमा राखिएको बचतको स्रोत खोज्नुपर्छ ।
कसले कसरी कमाएको रकम सहकारीमा राखेका थिए ? त्यो पैसा कालो हो कि सेतो ? खोज्नुपर्छ । घरजग्गाm गाडी, सेयर दलाली, व्यवसायीहरुले सहकारीमा करोडौं रकम राखेका थिए । राज्य र जनता दुवैलाई ठगेर कमाएको पैसा उनीहरुले बढी ब्याजका निम्ति सहकारीमा जम्मा गरेका थिए । त्यसकारण अब वालेन सरकारले यस्ता बचत फिर्ता गर्ने होइन, गैरकानूनी रुपमा आर्जित निक्षेप राष्ट्रियकरण गर्ने हो ।
राज्यको ढुकुटीमा भएको रकम जनताको हो । साझा हो । त्यो न सरकारमा बसेकाको हो न सीमित बचतकर्ताको । त्यो रकम सबै नेपालीको हो । त्यसैले, सम्पूर्ण जनताको हितमा हुने काममा त्यो रकम खर्च हुनुपर्छ । नाकि सीमित बचतकर्तालाई बाँड्न । सहकारीमा ४३ खर्ब रकम डुबेको छ । यो रकम ढुकुटीबाट बाँडिए राज्य कंगाल हुनेछ ।
त्यसैले, सरकारको आँखा खुलोस् । लोकप्रियताको पछि नलागौं, बृद्धि, विवेकको प्रयोग गरौं । यदि सरकारले सहकारीमा राखिएको निक्षेपको स्रोतमात्र खोज्ने हो भने अहिले रुवाबासी गरिरहेका बचतकर्ताहरु चुपचाप हुनेछन् । किनकि उनीहरुसँग स्रोत देखाउने केही पनि छैन । त्यो रकम सही ढंगबाट आर्जन गरिएको भए पो स्रोत देखाउनु ।
त्यही स्रोत खुलाउन नसक्दा त बैंकको साटो सहकारीमा निक्षेप राखेको । यसैले, यो बेला राजस्व छलिएको, भ्रष्टाचार गरिएको, गैरकानूनी रुपमा आर्जित रकम खोज्ने सही समय हो । यदि सरकारले यो काम गर्ने हो भने राज्यको ढुकुटीबाट बचतकर्तालाई निक्षेप फिर्ता गर्नैपर्दैन । स्रोत नखुलिएको बचतबाटै स्रोत खोलिएको निक्षेप फिर्ता गराउन सकिनेछ । यसतर्फ सरकारको ध्यान जाओस् ।
बचतकर्तालाई रास्वपामा आबद्ध गराउन राज्यलाई ठूलो हानि नोक्सानी पुग्ने काम नगरौं । हचुवाको भरमा कुनै पनि कदम नचालौं । राज्यको ढुकुटीको दोहन नगरौं । यदि सरकारलाई राज्यको ढुकुटी बाँड्नु नै छ भने निर्माण व्यवसायीको बक्यौता ४५ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुग्ध तथा उखु किसानको सात अर्ब भुक्तानी गरियोस् । उनीहरुले आफ्नो मेहेनतको कमाई वर्षौदेखि पाएका छैनन् ।
जसका कारण सार्वजनिक सेवासमेत प्रभावित बनेको छ । सरकारले राज्यको ढुकुटीबाट सहकारीका बचतकर्तालाई पैसा बाँडेपछि यी व्यवसायीहरु अवश्य सडकमा आउनेछन् । सँगै जनताको पनि मनोबल गिर्नेछ । आफूहरुले खाइनखाई तिरेको सरकारले यसरी बाँडेपछि किन कर तिर्ने ? जनताको मनमा अवश्य प्रश्न उठ्नेछ । अनि यो प्रश्नपछि जनताले कर नै तिर्न छोडिदिए के होला ? राज्यको ढुकुटी सहकारी पीडितलाई बाँड्ने सरकारी निर्णयको विरोध गरौं । किनकि राज्यको ढुकुटी सीमित व्यक्तिको होइन, सम्पूर्ण नेपाली जनताको हो ।





























