उज्यालो चेतना: मानव सम्बन्धको नयाँ आधारशिला
वि.सं.२०८३ जेठ १६ शनिवार
shares
आजको समाज प्रविधिले नजिक ल्याएको देखिन्छ, तर मनहरूले भने दूरी बढाइरहेका छन्। शब्दहरू बढेका छन्, संवाद घटेका छन्; सम्पर्कहरू तीव्र छन्, तर संवेदना कमजोर हुँदै गएको छ। यस्तो अवस्थामा मानव सम्बन्धको मूल संकट बाह्य संरचनामा होइन, मनको अँध्यारोमा लुकेको छ। जब मन भय, अहंकार र अविश्वासले ढाकिन्छ, सम्बन्धहरू औपचारिक, स्वार्थपूर्ण र भंगुर बन्छन्। यही अँध्यारोलाई चिर्न मनको उज्यालो अपरिहार्य हुन्छ।
मानव सम्बन्धहरू चेतनाको प्रतिविम्ब हुन्। जहाँ मन अन्धकारले ढाकिएको हुन्छ, त्यहाँ सम्बन्धहरू पनि शंकाले भरिन्छन्। तर जहाँ चेतना उज्यालो हुन्छ, त्यहाँ विश्वास, करुणा र समझदारी आफैँ जन्मिन्छन्। त्यसैले, उज्यालो चेतना नै आजको युगमा मानव सम्बन्धको सबैभन्दा बलियो आधारशिला बनेको छ।
आजको समाजमा सम्बन्धहरू कमजोर हुँदै गइरहेका छन्। नजिक भएर पनि टाढा भएको अनुभूति बढ्दो छ। कारण समयको अभाव होइन, चेतनाको अस्पष्टता हो। जब मानिस आफ्नो भित्री संसारसँग टाढा हुन्छ, तब ऊ अरूसँग पनि साँचो सम्बन्ध बनाउन असमर्थ हुन्छ। उज्यालो चेतना आफूलाई बुझ्ने, स्वीकार्ने र रूपान्तरण गर्ने प्रक्रिया हो। यही प्रक्रिया बिना कुनै पनि सम्बन्ध गहिरो र दीर्घकालीन हुन सक्दैन।
उज्यालो चेतनाले सम्बन्धमा पारदर्शिता ल्याउँछ। यसले अहंकारलाई पगाल्छ र नम्रतालाई जन्म दिन्छ। जब मानिसले आफ्नो कमजोरी स्वीकार्न सिक्छ, तब उसले अरूको कमजोरी पनि सहजै स्वीकार्न सक्छ। यही स्वीकारोक्ति नै प्रेमको वास्तविक रूप हो। यसले सम्बन्धलाई प्रतिस्पर्धाबाट सहयोगतर्फ, शंका बाट विश्वासतर्फ, र द्वन्द्वबाट समन्वयतर्फ लैजान्छ।
सम्बन्धहरूको पुनर्निर्माण बाह्य प्रयासले मात्र सम्भव हुँदैन। यसको लागि आन्तरिक रूपान्तरण आवश्यक हुन्छ। उज्यालो चेतना त्यो आन्तरिक शक्ति हो, जसले मानिसलाई क्षमा गर्न, बुझ्न र पुनः जोडिन प्रेरित गर्छ। जब चेतना उज्यालो हुन्छ, तब विगतका घाउहरू बाधा होइन, सिकाइ बन्छन्। मानिसले सम्बन्धलाई बोझ होइन, अवसरको रूपमा देख्न थाल्छ।
आजको डिजिटल युगमा, जहाँ सम्पर्क सजिलो छ तर सम्बन्ध कमजोर, उज्यालो चेतनाको आवश्यकता झन् गहिरो भएको छ। सामाजिक सञ्जालले मानिसहरूलाई जोडेको छ, तर मनलाई जोड्न सकेको छैन। मनलाई जोड्ने शक्ति केवल उज्यालो चेतनामा हुन्छ—जहाँ साँचोपन, सहानुभूति र संवेदनशीलता जीवित हुन्छन्।
मनको उज्यालो आत्मबोध, संवेदनशीलता र करुणाको सक्रिय चेतना हो। उज्यालो मनले सुन्न जान्छ, बुझ्न प्रयास गर्छ र दोषारोपणभन्दा संवादलाई रोज्छ। यस्तो चेतनाले मानिसलाई आफ्नै पीडाबाट बाहिर निकालेर अरूको अनुभूतिमा प्रवेश गर्न सक्षम बनाउँछ। जब व्यक्ति आफैँसँग शान्त हुन्छ, ऊ अरूसँग पनि सहज र सत्य हुन सक्छ।
मानव सम्बन्धको पुनर्निर्माण करुणाबाट सुरु हुन्छ। करुणा साहस हो अर्काको पीडा महसुस गर्ने, क्षमा गर्ने र सम्बन्धलाई पुनः अर्थ दिन सक्ने साहस। करुणाले सम्बन्धमा जमेको कठोरता पगाल्छ र मनबीचको दूरी घटाउँछ। जहाँ करुणा हुन्छ, त्यहाँ संवाद सम्भव हुन्छ; जहाँ संवाद हुन्छ, त्यहाँ भरोसा पुनः जन्मिन्छ।
आधुनिक जीवनशैलीले मानिसलाई आत्मकेन्द्रित बनाएको छ। प्रतिस्पर्धा, उपलब्धि र पहिचानको दौडमा सम्बन्धहरू उपेक्षित भएका छन्। तर मनको उज्यालोले सम्झाउँछ—सम्बन्ध कुनै बोझ होइन, जीवनको आधार हो। परिवार, मित्रता, सहकार्य र सामाजिक एकता सबै मनको अवस्थाबाट निर्देशित हुन्छन्। उज्यालो मनले सम्मान, धैर्य र जिम्मेवारीलाई व्यवहारमा उतार्छ।मानव सम्बन्धको पुनर्निर्माण आन्तरिक रूपान्तरणको प्रक्रिया हो। जब प्रत्येक व्यक्ति आफ्नो मन उज्यालो बनाउने प्रयास गर्छ। अहंकार घटाएर, करुणा बढाएर तब सम्बन्धहरू स्वतः पुनर्जीवित हुन्छन्। मनको उज्यालो नै आजको विखण्डित समाजलाई पुनः जोड्ने सबैभन्दा बलियो सेतु हो।
आजको प्रतिस्पर्धी संसारमा आत्मकेन्द्रित प्रवृत्तिको बढ्दो प्रभावले मानिसहरू संवेदनशून्य बन्दै गएका छन्। स्वार्थपरक सोचले सामाजिक विषमता, मानसिक तनाव र पारिवारिक विघटन बढाएको छ। यस्तो समयमै करुणा नै आत्मीयता, पारस्परिक सहयोग, र विश्वासको पुनर्स्थापनाको उपाय हो। करुणावान समाजले परोपकार, समावेशिता र सहिष्णुताको आधारमा सामाजिक पूँजी निर्माण गर्छ, जुन विकासको स्थायी आधार हो।दार्शनिक व्यासले महाभारतमा करुणालाई “धर्मको प्राण” भनेका छन्। ग्रीक दार्शनिक अरिस्टोटलले करुणालाई कला र जीवनको सर्वश्रेष्ठ भावनात्मक शक्ति मानेका छन्।
बुद्धचरित्रमा, सिद्धार्थले राजसी वैभव त्यागेर संसारको पीडा बुझ्न यात्रा गरे। उनले शान्ति पाए—करुणा अभ्यास गरेर। “सर्वे भवन्तु सुखिनः” भन्ने उनको उद्घोष करुणाको नै शुद्धतम रूप हो, जसले लाखौं आत्मालाई जोड्ने सेतुको काम गरेको छ।ग्रीक मिथकमा पनि करुणा देखिन्छ। उदाहरणका लागि प्रोमेथियसको कथा—जसले देवताको आज्ञा उल्लंघन गर्दै मानवलाई अग्नि उपहार दिए। उनले अनन्त पीडा सहनु पर्यो, तर त्यो करुणामय कार्यले मानव सभ्यतालाई उज्यालो बनायो।
मानव इतिहास विभाजन, युद्ध र विछोडले भरिएको छ। सभ्यताको प्रारम्भदेखि आजसम्म मानिसले अनेकौँ द्वन्द्व, असमझदारी र विछोडको अनुभव गरेको छ। तर यी सबैलाई मिलाउने, चिरिएका आत्मालाई फेरि जोड्ने, र विखण्डित समाजलाई पुनः एकता दिने शक्ति करुणामै निहित छ। करुणा नदेखिएको ठाउँमा शून्यता हुन्छ, र जहाँ करुणा जागृत हुन्छ, त्यहाँ प्रेम, शान्ति र मेलमिलापको आभा फैलिन्छ।
परिवारमा करुणा सबैभन्दा पहिलो र गहिरो अभ्यास हो। परिवारका सदस्यबीच असमझदारी, तर्कवितर्क र कहिलेकाहीँ विछोड पनि हुन्छ। तर आमा–बाबुको क्षमाशील करुणाले परिवारलाई पुनः एकतामा फर्काउन सक्छ। उनीहरूको करुणाभावनाले छोराछोरीलाई जीवनपथ देखाउँछ, र दया–क्षमा मिश्रित व्यवहारले घरलाई स्वर्ग बनाउँछ।
समाजमा करुणा अझै व्यापक महत्त्व बोकेको छ। समाज जातीयता, वर्गीय विभेद र असमानताले चिरिएको हुन्छ। यस्ता घाउलाई कुनै शक्ति भन्दा पनि करुणाले मात्र उपचार गर्न सक्छ। करुणा विहीन समाज हिंसात्मक, असुरक्षित र अमानवीय हुन्छ। तर करुणा उपस्थित भएमा समाजमा विश्वास, मेलमिलाप र सहकार्य पुनः जन्मिन्छ।
राष्ट्रमा करुणा राजनीतिक द्वन्द्व, युद्ध र गृहकलहलाई शान्त पार्ने महान शक्ति हो। इतिहास साक्षी छ—महात्मा गान्धीले अहिंसा र करुणाको दर्शनलाई जीवनमा उतारेका कारण भारत स्वतन्त्र भएको हो। यदि करुणा र अहिंसाको बाटो रोजिएको थिएन भने, त्यस स्वतन्त्रताको मूल्य अझ विनाशकारी हुन सक्थ्यो। यसरी, राष्ट्रलाई समृद्ध, शान्त र स्थिर बनाउन करुणा अपरिहार्य मूल्य हो।साहित्यकार टागोरले भनेका छन्—“करुणा मानवताको सुन्दरतम फूल हो, जसले प्रेमको सुवास फैलाउँछ।”
आजको आधुनिक समाजमा प्रविधि, भौतिकता, प्रतिस्पर्धा र व्यक्तिगत लाभले करुणालाई ओझेल पारेको छ। मानिसले मानिसलाई वस्तुमा रूपान्तरण गरेको छ। यही कारण सम्बन्धहरू चिरिएका छन्, आत्मा विछोडिएका छन्।तर समाधान के छ? समाधान करुणामै छ।
नेल्सन मन्डेलाले दक्षिण अफ्रिकाको जातीय विभाजनलाई करुणा र मेलमिलापको बाटोबाट मात्र समाधान गरे। यदि उनले प्रतिशोध रोजेका भए, अझ विनाश हुन्थ्यो।मानव इतिहास, साहित्य, धर्म र दर्शन सबैले करुणालाई नै जीवनको सर्वोच्च मूल्य मानेका छन्। करुणा नै मनको उज्यालो हो, जसले अन्धकारलाई पन्छाउँछ। करुणा नै विछोडिएका आत्मालाई जोड्ने सेतु हो।
जबसम्म करुणा जीवित छ, मानवता जीवित छ। करुणा हरायो भने सभ्यता काठको मूर्तिमा सीमित हुन्छ, आत्मा मृत हुन्छ।अतः, करुणाको अभ्यास हरेक हृदयमा जागृत हुन जरुरी छ। परिवार, समाज र राष्ट्र—सबै तहमा करुणा फैलाउन सके मात्र हामी एक न्यायपूर्ण, शान्त र प्रेममय संसार निर्माण गर्न सक्छौं।मानव समाजको असली सौन्दर्य करुणा, सहानुभूति र परस्पर सम्मानमा निहित हुन्छ। जब हामी हृदयबाट संवेदनशील हुन्छौँ, तब मात्र अरूको पीडा आफ्नै पीडा जस्तो लाग्छ र अरूको खुशी आफ्नै खुशीको अनुभूति हुन्छ। यही संवेदना नै मेलमिलाप र समभावको मूल आधार हो।
समाजमा विचार, धर्म, जात, वर्ग, भाषा वा संस्कृतिका आधारमा मतभेद हुनसक्छन्। तर यी भिन्नताहरू कुनै पनि हालतमा द्वेष, वैमनस्य वा विभाजनको कारण बन्नु हुँदैन। संवेदनशील हृदयले भिन्नतालाई अस्वीकृत गर्दैन, बरु त्यसलाई प्राकृतिक विविधता भनेर आत्मसात् गर्छ। यही बोधले समाजलाई सहिष्णुता र सहअस्तित्वतर्फ डोर्याउँछ। मेलमिलाप तब सम्भव हुन्छ, जब हामी अरूलाई पनि आफ्नै जस्तो मान्छौँ र तिनीहरूको अस्तित्वलाई आदर गर्छौँ।समभाव सबैलाई समान दृष्टिले हेर्ने चेतना बुझिन्छ। यसको अर्थ सबलाई उही ढाँचामा ढाल्नु होइन, बरु विविधतालाई स्वीकार्दै समान स्नेह र सम्मानका साथ व्यवहार गर्नु हो। यदि समाजमा करुणा र समभावको अभ्यास हुन्छ भने अहंकार, घृणा र स्वार्थका पर्खालहरू भत्किन्छन्। विभाजनको ठाउँमा एकताको भावना पलाउँछ, वैमनस्यको ठाउँमा मैत्रीभाव जाग्छ।
यस सन्दर्भमा पूर्वीय दर्शन विशेष महत्त्वपूर्ण छ। उपनिषद्, गीता वा बुद्धको शिक्षामा करुणा र समभावलाई मानव जीवनको उच्चतम गुण मानिएको छ। बुद्धले करुणामय हृदयलाई “परमार्थ सुख” को मार्ग भनेका छन्। त्यस्तै, गीता भन्छ – “समदर्शी मनुष्य नै सच्चा ज्ञानी हो।” यी शिक्षाले संकेत गर्छन् कि आत्मिक उन्नति केवल ज्ञान वा पूजा–पाठद्वारा होइन, बरु संवेदनशील हृदयद्वारा सम्भव हुन्छ।
करुणा सबै प्राणीप्रति दया, सहानुभूति र सहयोग गर्ने भावनात्मक गुण हो। यो मानव हृदयको सबैभन्दा पवित्र र शक्तिशाली भावना हो, जसले मानिसलाई संवेदनशील, उत्तरदायी र मानवीय बनाउँछ। करुणाले हामीलाई अरूको पीडा महसुस गर्न, दुःखमा साथ दिन र समाधान खोज्न प्रेरणा दिन्छ। यो केवल व्यक्तिगत भावना मात्र नभई सामाजिक आचरणको आधार हो, जसले सह–अस्तित्व, समानता र शान्तिपूर्ण जीवनको मार्ग खोल्छ। करुणाले घृणा, हिंसा र स्वार्थलाई हटाएर प्रेम, सेवा र समर्पणको भावना बढाउँछ। यसले जीवनलाई गहिरो अर्थ दिन्छ र सबै प्राणीप्रति प्रेमभाव उत्पन्न गर्छ।
करुणा भावना मात्र होइन, यो मानवताको एक आधारभूत सद्गुण हो जसले समाजमा मेलमिलाप, सद्भाव र शान्ति कायम गर्न सक्ने गहिरो शक्ति राख्दछ। करुणा भनेको अरूको पीडा बुझ्ने र त्यसलाई कम गर्ने मनोवृत्ति हो, जसले आत्मकेन्द्रित सोचबाट बाहिर ल्याएर अरूको दृष्टिकोणबाट जीवन हेर्न प्रेरित गर्छ।हृदयबाट उब्जिएको करुणा निष्कलंक हुन्छ— यसमा कुनै शर्त हुँदैन, अपेक्षा हुँदैन। यस्तो करुणा नै मेलमिलापको जरो हो, जसले द्वेष, घृणा र हिंसालाई परास्त गर्न सक्दछ। विद्यालय, मन्दिर, मस्जिद, चर्च वा गुम्बामा सिकाइने नैतिक शिक्षाले पनि करुणालाई जीवनको मूल मान्यता बनाउनुपर्छ।
करुणा बिना मानवता अधुरो रहन्छ। समाज स्वार्थी, कठोर र अन्यायी बन्छ। करुणा नै नैतिकता, मानव अधिकार र दायित्वको आधार हो। यो भावना धर्म, दर्शन र सभ्यताको साझा सम्पत्ति हो। बुद्ध धर्ममा करुणा मुक्ति मार्गको मूल हो भने हिन्दू, इस्लाम, इसाई लगायतका धर्महरूमा पनि करुणालाई सर्वोच्च मानवीय गुण मानिएको छ। करुणाले सामाजिक समरसता कायम राख्न सहयोग गर्छ, जहाँ सबैले एकअर्काको अस्तित्व स्वीकार्छन्। करुणावान व्यक्ति मात्र साँचो अर्थमा मानव हुन्छ। यसैले करुणा जीवनको मेरुदण्ड हो, जसले हामीलाई असल मानव बन्न सिकाउँछ र संसारलाई सुन्दर, शान्त र सजीव बनाउँछ।
त्यसैले, हृदयको संवेदना नै मेलमिलाप र समभावको शाश्वत दर्शन हो, जसले हामीलाई मानवताको उच्चतम स्तरमा पुर्याउँछ।



























