लोकतन्त्रको उज्यालो मार्ग: चेतना, करुणा र अध्यात्मको संगम

99
shares

 

मानव सभ्यताको विकासक्रममा लोकतन्त्र शासन प्रणालीको रूपमा मात्र होइन, मानवीय चेतना र मूल्यहरूको अभिव्यक्ति पनि हो। लोकतन्त्रको मूल सार जनताको सहभागिता, समानता, स्वतन्त्रता र उत्तरदायित्वमा निहित हुन्छ। तर यी सिद्धान्तहरू कानुनी संरचना वा संस्थागत व्यवस्थाबाट मात्र सुदृढ हुन सक्दैनन्। यसको वास्तविक बल मानवीय चेतना, नैतिकता र करुणामूलक दृष्टिकोणमा आधारित हुन्छ।

आजको युगमा लोकतन्त्र अनेक चुनौतीहरूबाट घेरिएको छ। राजनीतिक स्वार्थ, भ्रष्टाचार, विभाजनकारी प्रवृत्ति र नैतिक पतनले यसको आधार कमजोर पारिरहेका छन्। यस्तो अवस्थामा लोकतन्त्रलाई स्थायित्व र प्रभावकारिता दिनको लागि आन्तरिक रूपान्तरण आवश्यक हुन्छ। यहीँबाट चेतना, करुणा र अध्यात्मको महत्त्व प्रकट हुन्छ।

चेतना व्यक्तिको सोच, समझ र आत्मबोध हो, जसले उसलाई सही–गलत छुट्याउने क्षमता दिन्छ। करुणा भनेको अरूको पीडा अनुभूति गर्ने संवेदनशीलता हो, जसले समाजमा सहिष्णुता र सहकार्यको भावना विकास गर्छ। अध्यात्मवादले व्यक्तिलाई आत्मअनुशासन, नैतिकता र उच्च मूल्यतर्फ उन्मुख गराउँछ। यी तीन तत्वहरूको समन्वयले लोकतन्त्रलाई जीवन्त र सार्थक प्रणाली बनाउँछ।

लोकतन्त्रको उज्यालो मार्ग बाह्य व्यवस्थापनभन्दा बढी आन्तरिक चेतनाको विकासमा निर्भर रहन्छ। जब नागरिकहरू सचेत, करुणाशील र नैतिक हुन्छन्, तब मात्र लोकतन्त्र सुदृढ, न्यायपूर्ण र दिगो बन्न सक्छ। यही समन्वयले लोकतन्त्रलाई शासन प्रणालीबाट मानवताको मार्गदर्शक शक्तिमा रूपान्तरण गर्छ।

नेपालमा लोकतन्त्र स्थापनाको लामो संघर्षपछि आज हामी गणतन्त्रमा छौँ। तर संविधानको कार्यान्वयन अझै अपूरो छ। सरकार बारम्बार ढल्ने गरेको छ, जसले दीर्घकालीन नीति बन्न सकेको छैन। न्याय प्रणालीमाथि अविश्वास छ। सार्वजनिक निकायमा दण्डहीनता मौलाएको छ। परिणामस्वरूप, जनतामा लोकतन्त्रप्रतिको आस्था घट्दै गएको छ। राज्य सञ्चालनमा असमानता र अविश्वास बढिरहेको छ। बेरोजगारी, महँगी, सामाजिक विभेद र विकासमा असन्तुलनले जनताको जीवनलाई कठिन बनाएको छ। लोकतन्त्रको संस्थागत संरचना भए पनि यसको आत्मा कमजोर भएको छ।

वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणसँगै मानवीय मूल्य कमजोर हुँदै गएको देखिन्छ। यो नेपालको समस्या मात्र होइन, विश्वकै चिन्ताको विषय बनेको छ। मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु प्रत्येकको दायित्व हो तर मानिसले यसलाई नबुझ्दा मूल्यहरूको ह्रास देखिन थालेको छ। नेपाली समाजमा पनि यसको स्पष्ट प्रभाव परिरहेको छ। समाज गलत संस्कार र प्रवृत्तितर्फ उन्मुख भइरहेको अनुभव हुन्छ। धर्म र संस्कृतिको नाममा हुने राजनीति समाज र राष्ट्र दुवैलाई हानि पुर्याउने अवस्थामा पुगेको छ। त्यसैले शिक्षा र सचेतनाको माध्यमबाट समाजलाई व्यवस्थित गर्दै सकारात्मक सोचको धनी बनाउन आवश्यक देखिन्छ।

मानवीय मूल्यमा विचार, विश्वास, विवेक, चेतना, आदर, प्रेम, स्नेह र करुणा जस्ता गुणहरू समावेश हुन्छन्। यी मूल्यहरू व्यक्तिको विवेक र संस्कृतिसँगै पालना हुन्छन्। वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः जस्ता सूत्रहरूले मानवीय मूल्यलाई सार्वभौमिक बनाएका छन्। व्यक्तिगत स्वार्थलाई त्यागी सम्पूर्ण मानव जातिको कल्याणमा योगदान पुर्याउनु नै यसको उद्देश्य हो। समाजमा विकृति हटाउन र सद्भाव कायम राख्न मानवीय मूल्य अपरिहार्य हुन्छ।

 

नैतिक मूल्य सिकाउने प्रमुख संस्था परिवार, समाज र विद्यालय हुन्। परिवारलाई पहिलो पाठशाला मानिन्छ किनभने त्यहीँबाट व्यक्तिको आचरण र संस्कार सुरु हुन्छ। परिवारले असल मूल्य र आचरण प्रदर्शन गरे मात्र समाजमा सकारात्मक अभ्यास सम्भव हुन्छ। त्यसैले परिवार र समाजको जिम्मेवारी अझ बढी गम्भीर हुन्छ।मानव मूल्यमा आधारित शिक्षाले आदर, चरित्र, करुणा, मैत्री र सहअस्तित्व सिकाउँछ। सत्य, अहिंसा, दया, शान्ति र करुणालाई आधार मान्ने शिक्षा नै वातावरणीय सन्तुलन र सम्पूर्ण जगतको कल्याणको आधार हो। सनातन ज्ञान र मान्यताहरू आजपनि प्रासंगिक छन्।

 

लोकतन्त्रको आत्मा मानवीय मूल्य हो। समानता, स्वतन्त्रता र न्याय लोकतन्त्रका मूल आधारस्तम्भ हुन्। लोकतन्त्रले प्रत्येक नागरिकलाई आफ्नो अस्तित्व, अधिकार र क्षमता अभिव्यक्त गर्ने स्वतन्त्रता दिन्छ। तर जब लोकतन्त्र चुनावमा सीमित हुन्छ र सामाजिक जीवनमा मानवीय मूल्य हराउँछ, तब त्यो लोकतन्त्र खोक्रो हुन्छ। नेपालको वर्तमान अवस्थाले यही संकेत गरेको छ। जनप्रतिनिधिहरूबाट अपेक्षित नैतिक आचरण नदेखिँदा नागरिकमा असन्तोष बढेको छ।

 

मानवीय मूल्यले लोकतन्त्रलाई स्थायित्व दिन्छ। नागरिकले नागरिकप्रति, नेता–कर्ताले जनताप्रति र समाजले समग्र मानवताप्रति उत्तरदायी बन्ने आधार मानवीय मूल्य नै हो। समानता र सहअस्तित्वको अभ्यास लोकतन्त्रको मेरुदण्ड हो। नेपालमा यसका केही अभ्यास भए पनि अझै जातीय विभेद, लैङ्गिक असमानता र अवसरको अन्यायपूर्ण वितरणले लोकतान्त्रिक मूल्य कमजोर पारेको छ।

लोकतन्त्र समाजको चेतना र मूल्यसँग जोडिएको छ। जनताको चेतना कमजोर भए लोकतन्त्र खोक्रो हुन्छ। नेपालमा लोकतन्त्र लामो संघर्षपछि स्थापित भए पनि अझै परिपक्व बन्न सकेको छैन। प्रश्न उठ्छ—के हामी यसलाई चुनाव र दलगत प्रतिस्पर्धासम्म सीमित राख्ने हो वा मानवीय मूल्य, नैतिकता र अध्यात्मवादसँग जोडेर दिगो सामाजिक विकासतर्फ लैजाने हो?

 

लोकतन्त्र सफल हुन नैतिकता अनिवार्य हुन्छ। तर नेपालमा वर्तमान राजनीतिक परिदृश्यले नैतिकताको  संकटलाई उजागर गरेको छ। नेताहरूले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन थालेका छन्। दलगत राजनीति व्यक्तिपरक बन्दै गएको छ। पद प्राप्ति र शक्तिको होडमा आन्तरिक लोकतन्त्र कमजोर भएको छ। भ्रष्टाचार, नातावाद, दण्डहीनता र गैरजवाफदेहिताले लोकतन्त्रमा नागरिकको विश्वास घटाइरहेको छ।

 

अध्यात्मवादले आत्मालाई सर्वपरी र ब्रह्माण्डको मूल मान्दछ, जसको माध्यमबाट व्यक्तिले जीवनका उद्देश्य, कर्तव्य र आत्मज्ञानलाई खोज्छ। अध्यात्मवादको उद्देश्य व्यक्तिको मानसिक, भौतिक र आध्यात्मिक पक्षलाई समन्वय गर्नु हो, जसले जीवनलाई अर्थपूर्ण बनाउँछ। यो शिक्षाले मानिसलाई आत्मा, सत्य, धर्म र शान्तिका साथ जीवन यापन गर्ने प्रेरणा दिन्छ। आध्यात्मिक जीवनका अभ्यासले मानवीय मूल्यहरू, जस्तै सहिष्णुता, करुणा, समानुभूति, र सहयोगी भावना प्रकट गर्न मद्दत गर्छ।लोकतन्त्रलाई राजनीतिक गणितको रुपमा बुझ्दा यसको  अर्थ हराउँछ। यहाँ अध्यात्मवाद महत्त्वपूर्ण हुन्छ। अध्यात्मवादलाई सामान्यतया धार्मिक अनुष्ठानसँग मात्र जोडिन्छ, तर यसको वास्तविक मर्म आन्तरिक शुद्धता, आत्म–अनुशासन, सत्यप्रति निष्ठा र करुणापूर्ण जीवनशैली हो। अध्यात्मले स्वार्थभन्दा पर समाजप्रतिको दायित्व बुझ्न प्रेरित गर्छ।

 

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकमा अध्यात्मिक दृष्टिकोणले समरसता ल्याउन सक्छ। अध्यात्मले राजनीतिलाई सेवा–भाव दिन्छ। यदि राजनीतिक नेतृत्वले अध्यात्मलाई आत्मसात् गर्न सक्यो भने भ्रष्ट्राचार घट्छ, नेतृत्व शुद्ध हुन्छ र लोकतन्त्र वास्तवमै जनमूलक बन्छ।

 

लोकतन्त्रलाई दीर्घकालीन र स्थायी बनाउन मानवीय चेतना अपरिहार्य हुन्छ। नागरिकले आफ्नो अधिकार मात्र होइन, कर्तव्य पनि बुझ्नुपर्छ। सामाजिक न्याय सुनिश्चित गर्नुपर्छ। गरिब, सीमान्तकृत समुदाय, महिला र युवा सबैलाई समान अवसर दिनुपर्छ। राजनीतिक नेतृत्वले सेवा–भाव अपनाउनुपर्छ।

मानवीय चेतना नहुँदा लोकतन्त्र केवल चुनावी गतिविधिमा सीमित हुन्छ। तर चेतनशील नागरिक समाज र नैतिक नेतृत्वको संयोजनले लोकतन्त्रलाई स्थायित्व दिन्छ।

 

नेपालको लोकतन्त्र अहिले संकट र सम्भावनाको दोभानमा छ। यदि हामी चुनाव र सत्तासंघर्षमै सीमित रह्यौँ भने लोकतन्त्र खोक्रो हुन्छ। तर यदि हामीले लोकतन्त्रलाई मानवीय चेतना, नैतिकता र अध्यात्मिकता सँग जोड्यौँ भने यो दिगो सामाजिक विकासको आधार बन्न सक्छ।जेन जीको विद्रोही आत्मा, वर्तमान राजनीतिक असन्तोष र हाम्रो सांस्कृतिक–आध्यात्मिक सम्पदाको संगमबाट नयाँ नेपाल निर्माण सम्भव छ। लोकतन्त्र जीवन–शैली हो जहाँ मानिसले मानिसलाई सम्मान गर्छ, सत्यलाई अंगाल्छ, करुणालाई अभ्यास गर्छ र समाजलाई आफ्नो परिवार ठान्छ। यस्तो लोकतन्त्र नै दिगो सामाजिक विकासको मार्ग हो।

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals