लघुकथा:छायाँ र अस्तित्व
वि.सं.२०८३ साउन २ शनिवार
shares
त्यो रात विश्वनाथका लागि रात रहेन, एउटा अनन्त कालकोठरी बन्यो। ओछ्यानमा पल्टिँदा पनि भान्सा र बैठक कोठामा गुन्जिएका शब्दहरूले उनको कानको जाली खियाइरहेका थिए। श्रीमतीको त्यो रुखो व्यवहार र छोराको अहङ्कारले भरिएको स्वरले उनलाई निदाउनै दिएन। ३० वर्षसम्म जसका लागि उनले आफ्नो बैँस र सपनाहरू तिलाञ्जली दिए, आज तिनैका लागि ऊ एउटा ‘डेट एक्सपायर्ड’ वस्तु मात्र बनेका थिए।
भोलिपल्ट बिहानको सूर्य उदाउँदा पनि विश्वनाथको जीवनमा भने अँध्यारो झन् गाढा भएको थियो। चियाको कप टेबलमा राख्दै श्रीमतीले फेरि तुच्छ शब्द वाण हानिन्, “पेन्सनको कागजपत्र बेलैमा मिलाउनुहोला, नत्र यो घरको खर्च धान्न म सक्दिनँ।” छोरी उनको कोठाको अगाडिबाटै मोबाइलमा झुम्मिँदै गइन्, तर बुबालाई एउटा ‘सुप्रभात’ सम्म भन्ने शिष्टाचार देखाइनन्। उनी घरमा भएर पनि कसैका लागि दृश्यमा थिएनन्; उनी केवल एउटा अदृश्य, उपेक्षित छायाँ थिए।
छटपटाहट र बेचैनीले सीमा नाघेपछि विश्वनाथ कोठाको झ्यालको डन्डीमा बाँधिएको गलबन्दीतिर एकटकले हेर्न थाले। मस्तिष्कको एउटा कुनाबाट भयानक आवाज आयो— “सकियो विश्वनाथ, तिम्रो उपयोगिता सकियो। अब बाँचेर कसका लागि बोझ बन्छौ? बरु यो शासक समाज र स्वार्थी परिवारलाई आफ्नो लास उपहार दिएर यो धर्तीबाटै सदाका लागि बिदा होऊ!” उनले गलबन्दी हातमा लिए। मुटुको धड्कन तीव्र भयो। आत्महत्याको त्यो कालो विचारले उनलाई अँगाल्नै लागेको थियो।
तर, ठीक त्यही पल उनको नजर भित्तामा झुण्डिएको आमाको तस्बिरमा पर्यो। उनलाई लाग्यो आमाले भन्दै छिन्— “छोरा, कसैको स्वार्थका लागि आफ्नो अमूल्य जीवन किन फाल्छौ?”
हातको गलबन्दी भुइँमा खस्यो। मस्तिष्कमा अर्को तीव्र द्वन्द्व सुरु भयो। मर्ने हिम्मत गर्नेले बाँचेर समाजलाई चुनौती किन नदिने? यो घर, यो सहर जहाँ उनको अस्तित्व नै मेटिइसकेको थियो, त्यहाँ बस्नुभन्दा टाढा कतै— कुनै शान्त आश्रममा गएर बाँकी जीवन अध्यात्म र लोकसेवामा बिताउने विचार उनको मनमा पलायो।
“हो, म मर्ने छैन। म यो स्वार्थी बजारको नियममा पराजित भएर आफ्नो प्राण त्याग्ने छैन,” विश्वनाथले लामो श्वास फेरे।
उनले दराजबाट पुराना लुगाका दुई जोर कपडा एउटा झोलामा हाले। खल्तीमा भएको त्यही रित्तो चेकबुक र नागरिकता बोके। श्रीमती र छोराछोरी टिभी हेर्न व्यस्त थिए। विश्वनाथले एकपटक आफ्नो रगत-पसिनाले बनाएको घरलाई हेरे, जहाँ अब उनको कुनै अस्तित्व थिएन। उनी कसैलाई केही नभनी सुटुक्क मूल ढोकाबाट बाहिर निस्किए— आत्महत्याको कालो बाटो छोडेर, एउटा नयाँ आश्रम र नयाँ जीवनको खोजीमा।




























