ज्ञान, प्रविधि र नवप्रवर्तन: दिगो विकासको नयाँ आधार   

99
shares

 

एक्काइसौँ शताब्दीको विश्व अर्थतन्त्र तीव्र रूपमा ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित बन्दै गएको छ। प्राकृतिक स्रोत, सस्तो श्रम वा परम्परागत उत्पादन प्रणाली मात्र आर्थिक समृद्धिका प्रमुख आधार रहने युग क्रमशः समाप्त हुँदै गएको छ। आज राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता अनुसन्धान, वैज्ञानिक सोच, सूचना प्रविधि, डिजिटल रूपान्तरण, सिर्जनशीलता र नवप्रवर्तनलाई उत्पादन तथा सेवासँग जोड्ने क्षमताबाट निर्धारण हुन थालेको छ। यस सन्दर्भमा ज्ञानमा आधारित अर्थतन्त्र दिगो आर्थिक वृद्धि, गुणस्तरीय रोजगारी, उत्पादकत्व अभिवृद्धि र समावेशी विकासको प्रमुख आधारका रूपमा स्थापित भएको छ।

नेपाल पनि आर्थिक रूपान्तरण, दिगो विकास लक्ष्य प्राप्ति र समृद्ध राष्ट्र निर्माणको यात्रामा रहेको अवस्थामा ज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकास नीतिको केन्द्रमा राख्नु अपरिहार्य भएको छ। युवा जनशक्ति, सूचना–प्रविधिको विस्तार, डिजिटल सेवा, अनुसन्धान तथा उद्यमशीलताको प्रवर्द्धनमार्फत उच्च मूल्य सिर्जना गर्ने अर्थतन्त्र निर्माण गर्न सकिने पर्याप्त सम्भावना रहेको छ। तर अनुसन्धान तथा विकासमा न्यून लगानी, विश्वविद्यालय उद्योगबीच कमजोर सहकार्य, सीमित प्रविधि हस्तान्तरण, मस्तिष्क पलायन र नवप्रवर्तनमैत्री नीतिगत वातावरणको अभावले नेपालको ज्ञान अर्थतन्त्रको विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

ज्ञानमा आधारित अर्थतन्त्रले आर्थिक दृष्टिले लाभ मात्र दिन्दैन, यसले समाजको संरचना, राजनीतिक निर्णय, नीति निर्माण र सांस्कृतिक विकासमा पनि गहिरो प्रभाव पार्दछ। जब ज्ञान केन्द्रित प्रणालीले शासन, उद्योग, शिक्षा र अनुसन्धानलाई जोड दिन्छ, तब मात्र समाजले दीगो र समावेशी विकासको मार्ग समात्न सक्छ। पारंपरिक अर्थतन्त्रमा सीमित स्रोत, भौतिक पूँजी र श्रमलाई प्राथमिकता दिइन्थ्यो, तर ज्ञान अर्थतन्त्रमा मानव मस्तिष्क, अनुसन्धान क्षमता, नवप्रवर्तनशील सोच र प्रविधिको प्रयोग नै स्थायी प्रतिस्पर्धात्मक शक्ति बन्न पुग्छ।

नेपाल जस्ता विकासशील मुलुकका लागि ज्ञानमा आधारित अर्थतन्त्र अपनाउनु मात्र विकल्प होइन, आवश्यकता हो। सीमित प्राकृतिक स्रोत र भू–राजनीतिक चुनौतीको समयमा, मानव बौद्धिक शक्ति नै दीगो विकासको मुख्य आधार बन्न सक्छ। उच्च शिक्षा, अनुसन्धान, प्रविधि, नवप्रवर्तन र नीति निर्माणमा लगानी गर्नु, कर्मचारी सीप विकास गर्नु र ज्ञान साझेदारी प्रवर्धन गर्नु अति आवश्यक छ। जब ज्ञान व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तन सुसंगत र रणनीतिक रूपमा लागू हुन्छ, तब मात्र उत्पादन, रोजगारी, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय जस्ता क्षेत्रहरूमा व्यापक सुधार सम्भव हुन्छ।

ज्ञानमा आधारित अर्थतन्त्रले नवप्रवर्तनलाई इन्धन दिन्छ। अनुसन्धान र सिर्जनशीलताको प्रवाहले नयाँ विचार जन्माउँछ, नयाँ उत्पादन र सेवाको सम्भावना खोल्छ। यसले आर्थिक वृद्धिमा योगदान पुर्याउँदैन, तर सामाजिक र सांस्कृतिक परिवर्तनलाई पनि उत्प्रेरित गर्छ। ज्ञानको सही व्यवस्थापनले संगठन र समाज दुवैमा दक्षता, पारदर्शिता र उत्तरदायित्व बढाउँछ। संगठनको ज्ञान सुरक्षित र सुसंगत रूपमा बाँडिँदा कर्मचारीहरूको क्षमता उच्च हुन्छ, नीति र कार्यक्रमहरू प्रभावकारी र दिगो हुन्छन्।

ज्ञान बौद्धिक र मानसिक क्षमताबाट उत्पन्न भएको सूचनाको सङ्ग्रह हो, जसलाई व्यक्तिले अनुभव, अध्ययन, र अनुसन्धानबाट प्राप्त गर्छ। यो व्यक्तिको सोचाइ, बुझाइ र विश्लेषण गरेको विषयको समग्रता हो। यसले जीवनमा समस्याहरू समाधान गर्न मद्दत पुर्याउँछ र व्यक्तिको निर्णय क्षमता वृद्धि गर्छ। ज्ञानको माध्यमले नयाँ आविष्कार, सुधार र समाजको प्रगति सम्भव हुन्छ। यसले मानिसलाई साँचो र झूटो, राम्रो र नराम्रो बीचको भिन्नता छुट्याउन सिकाउँछ।

ज्ञान मार्ग आत्माको क्रान्ति हो। ज्ञानलाई निरन्तर अभ्यास र अन्वेषणमार्फत आत्मसात गर्नु भनेको मात्र सोचाइ परिवर्तन गर्नु होइन, समाज परिवर्तन गर्ने शक्ति सृजना गर्नु हो। जसरी कलाकारले आफ्नो कला अभ्यासबाट प्रवीणता हासिल गर्छ, त्यसै गरी ज्ञान अभ्यासले मानिसको मन, चेतना र विवेकलाई निखार्छ। ज्ञानले समाजमा न्याय, समानता र सकारात्मक क्रान्ति ल्याउने उपकरण हो।

पश्चिमी चिन्तक प्लुटोले भनेझैँ, विचारको ईश्वरीय क्रम र आत्माको गहिरो प्रकृतिलाई बुझ्नु नै वास्तविक ज्ञान हो। ज्ञान अनुभूति, विवेक र अनुभवको समग्र शक्ति हो। यो साझा गर्दा मात्र झनै सशक्त हुन्छ। ज्ञानले असत्य र सत्यको भेद बुझाउँछ, मन र मस्तिष्कलाई परिष्कृत गर्छ, र व्यक्तिलाई उच्चतम नैतिकता र जिम्मेवारीको मार्गमा उभ्याउँछ।

ज्ञान व्यवस्थापनले समाजको संरचना, संस्था, नीति र अनुसन्धान प्रणालीलाई परिवर्तन गर्न सक्छ। जब ज्ञानलाई सिर्जना, संकलन, मूल्याङ्कन, बाँडफाँड र प्रयोगमा सुव्यवस्थित गरिन्छ, तब मानिस र संस्था दुवै नयाँ क्षितिजमा पुग्छन्। यो समाजमा नवप्रवर्तन, न्याय, समानता र विकासको क्रान्ति सृजना गर्ने संरचना हो।यो शक्ति हो, क्रान्ति हो र भविष्यको मार्गदर्शक हो। जब नागरिक, संस्था र सरकारले ज्ञानलाई साधन मात्र नभई क्रान्तिकारी शक्ति मान्छन्, तब मात्र हाम्रो समाज सशक्त, आत्मनिर्भर र दीगो विकासको मार्गमा अघि बढ्न सक्छ।

नयाँ पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, आयोजनाका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच आयोजनाको गुणस्तर बढाउन, लक्षित वर्गहरुलाई कृयाकलापहरु कार्यान्वयन गर्न जानकारी दिन, आयोजना क्षेत्रका साझेदारहरु निर्माण गर्न, सफल अनुभवहरुको प्रचारगर्न ज्ञान व्यवस्थापनले मूख्य भूमिका खेल्नेछ ।

वर्तमान समयमा हरेक व्यक्तिको वेवसाइट, इमेल, फेसबुक पेज, सामाजिक सञ्जालहरुमा आबद्ध, टिकटक लगायत युटुव च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो भएको छ । अब घरमा वाइफाइ जडित कम्प्युटर र मोबाइल भएपछि सारा संसार सिमित बन्द कोठाभित्र हुन पुगेको छ । वर्तमान समयमा ज्ञान व्यवस्थापन संगठनको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ । ज्ञान व्यवस्थापन स्मरण, बुद्धि, बिचार र सिकाईका परिचालनसँग सम्बन्धित कार्य हो यसले ज्ञानको पहिचान गर्न, प्राप्त गर्न औपचारिक तरिकाले सबै व्यक्ति वा पद्धतिमा क्रमबद्ध तरिकाले व्यवस्थापन गर्दै संगठनात्मक तथा आधुनिक प्रविधिको प्रयोग गरि समस्याहरु सहज रुपमा सम्पादन गर्न सक्ने बातावरण तयार गरिदिन्छ ।

ज्ञान व्यवस्थापन आफैमा एउटा नियमित र निरन्तर प्रक्रिया हो । ज्ञान व्यवस्थापन एउटा नियमित चक्र हो । यसको चक्रमा तथ्याङ्क, सुचना र ज्ञानलाई क्रमश संकलन, बिश्लेषण, भण्डारण एवम् उपयोग गर्ने कुरालाई बिशेष ध्यान दिइन्छ । ज्ञान व्यवस्थापनले प्रणालीगत व्यवस्थापनमा संस्थागत ज्ञानको उद्धेश्य र लक्ष्य हासिल गर्न सृजनात्मक मुल्य र रणनीतिक आवश्यकता पुरा गर्नका लागि लाभदायक बौद्धिक सम्पत्ति हासिल गरी संगठनात्मक सुधार प्रर्दशन गर्न सहयोग गर्दछ । संगठनात्मक ज्ञान संगठनको सम्पत्ति हो ।

संगठनात्मक ज्ञानले व्यक्तिको ज्ञानलाई विस्थापित गर्दैन, बरू व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूर्ण, सुसंगत बनाउँदै संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गर्दछ । ज्ञान व्यवस्थापनले संगठनको सक्षमता र प्रभावकारिता बढाउन संगठनात्मक ज्ञानसँगसँगै व्यक्तिको सम्भावित ज्ञान, सीप, क्षमता, विचार, अन्वेषणलाई पूर्णरूपमा उपयोग गर्ने रणनीति बुन्ने गर्दछ । संगठनको काम छिटोछरितो गर्न, राम्रा अभ्यासहरू दोहो–याउन, खर्च कम गर्न, ज्ञानार्जन, विकास, संरक्षण र प्रयोग गर्न ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ । ज्ञान व्यवस्थापन संगठनको लक्ष्य हासिल गर्न कर्मचारी, प्रविधि, प्रक्रिया, तथा संगठनात्मक संरचनाको प्रयोग र अन्वेषणको उद्देश्यमूलक समन्वय हो जसले संगठनको क्षमतामा सारभूत मूल्य अभिवृद्धि गर्दछ ।

आजको सूचना र ज्ञानको युगमा, ज्ञान वित्तीय र भौतिक साधनभन्दा महत्त्वपूर्ण स्रोत बनेको छ। ज्ञान व्यवस्थापनले संगठनमा कार्यसम्पादन सुधार्न, नयाँ ज्ञान सिर्जना गर्न, त्यसको प्रयोग र भण्डारण गर्न मद्दत गर्छ। यसले कर्मचारीलाई सिक्ने र नयाँ ज्ञान सृजनामा उत्प्रेरित गर्दछ। संगठनात्मक सिकाइ र ज्ञानको बहाव व्यवस्थापन गरेर, ज्ञान प्राप्ति, उपयोग र संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यद्यपि, यदि संगठनको मूल्यवान ज्ञान गुमिन्छ भने, यसको नोक्सान हुन सक्छ। मानव मस्तिष्कको अनुभव र ज्ञान, पुस्तक, कागजात र रिपोर्टमार्फत ज्ञान व्यवस्थापनको महत्त्व छ, जसले समाज र संगठनको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्दछ। ज्ञान साझेदारी, नीति प्रक्रियामा सुधार, विद्यार्थी गतिविधि र समुदायमा सकारात्मक प्रभाव पार्न ज्ञान व्यवस्थापन आवश्यक छ।

ज्ञान व्यवस्थापनबाट संगठनका जनशक्तिले थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । यसबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, टिममा काम गर्ने संस्कृतिले टिम लाभान्वित हुन्छ ।संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ । यसरी संगठनको बैंकमा रहेको ज्ञान व्यवस्थापन सूचना प्रणाली, बैठक, तालिम कक्षा, टिमको कार्याभ्यास तथा इन्टरनेटको माध्यमबाट संगठनमा घुमिरहेको हुन्छ । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई परिस्कृत गर्दै जान्छ । ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ भने प्रयोग नगर्दा व्यक्तिको दिमागमा नै बन्द भएर बस्न पनि सक्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ । यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ ।

प्रभावकारी अनुसन्धान र नवप्रवर्तनका लागि ज्ञान व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले नयाँ ज्ञान सिर्जना, भण्डारण र सही समयमा यसको उपयोग सुनिश्चित गर्दछ। अनुसन्धान प्रक्रियामा आवश्यक ज्ञानको पहिचान, संरचना र वितरणले कार्यलाई तेज र प्रभावकारी बनाउँछ। ज्ञान व्यवस्थापनले अनुसन्धानकर्ताहरूलाई नयाँ विचारहरू र दृष्टिकोणहरू साझेदारी गर्न उत्प्रेरित गर्दछ, जसले नवप्रवर्तनलाई प्रोत्साहन दिन्छ। साथै, यसले संस्थागत र व्यक्तिगत सीप र अनुभवहरूको प्रभावकारी उपयोगको सुनिश्चितता प्रदान गर्दछ। सही ज्ञानको प्रवाहले अनुसन्धान र नवप्रवर्तनका कार्यहरूमा सहकार्य र समन्वयलाई प्रोत्साहन गर्दछ, जसले दीगो र सृजनात्मक समाधानहरू उत्पन्न गर्न मद्दत पुर्याउँछ।

आजको डिजिटल युगमा सूचना प्रविधि, इन्टरनेट, सामाजिक सञ्जाल, स्मार्ट प्रणाली र डेटा एनालिटिक्सले ज्ञानको पहुँच सहज बनाएका छन्। घरमै बस्दा पनि वैश्विक ज्ञानसम्म पहुँच पाउनु, विभिन्न दृष्टिकोण, अनुसन्धान र नवप्रवर्तनमा सहभागी हुनु सम्भव छ। यस्तो वातावरणमा ज्ञानमा आधारित अर्थतन्त्रले आधुनिकता ल्याउने मात्र होइन, नागरिक सहभागिता, साझा जिम्मेवारी र सिर्जनात्मक सोचको विकास पनि सुनिश्चित गर्दछ।

यस अर्थतन्त्रमा सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। नीति निर्माण, अनुसन्धानमा लगानी, उच्च शिक्षा र सीप विकास, नवप्रवर्तन प्रवर्धन, ज्ञान साझेदारीको वातावरण सिर्जना गर्नु यी सबै रणनीतिक कदमले दीगो विकासलाई सुनिश्चित गर्छ। यदि ज्ञान गुम्छ वा असुरक्षित हुन्छ भने, त्यसले समाज र संस्थाको प्रतिस्पर्धात्मक क्षमता घटाउँछ। त्यसैले ज्ञान संरक्षण, वितरण र उपयोग सुनिश्चित गर्न आवश्यक संरचना र रणनीति अपनाउनु अत्यावश्यक छ।संक्षेपमा भन्नुपर्दा, ज्ञानमा आधारित अर्थतन्त्र आर्थिक मोडेल होइन, यो समाजको दिगो, नवप्रवर्तन र समावेशी विकासको मार्गदर्शन हो। यसले व्यक्तिगत र संस्थागत बौद्धिक पूँजीलाई उच्चतम रूपमा प्रयोग गर्दै राष्ट्रलाई आत्मनिर्भर, सशक्त र प्रतिस्पर्धात्मक बनाउँछ। ज्ञानमा आधारित अर्थतन्त्र नै भविष्यको समाजको आधार, नवप्रवर्तनको इन्धन र दीगो विकासको मार्गदर्शन हो।

यसैले दिगो विकासको नयाँ आधारका रूपमा ज्ञान, प्रविधि र नवप्रवर्तनलाई राज्यका नीति, योजना र सार्वजनिक लगानीसँग प्रभावकारी रूपमा एकीकृत गर्दै अनुसन्धान, उद्यमशीलता र डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्नु आजको प्रमुख आवश्यकता हो। ज्ञानलाई उत्पादन, प्रविधिलाई साधन र नवप्रवर्तनलाई आर्थिक मूल्यमा रूपान्तरण गर्न सके मात्र नेपालले दिगो, प्रतिस्पर्धी र समृद्ध अर्थतन्त्रको आधार निर्माण गर्न सक्नेछ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

 

 

civil hospital
Hams Hospitals