कविता : मिजास
वि.सं.२०८३ साउन १६ शनिवार
shares
बाचुन्जेल दु:खले
छोडेन अभाव उस्तै
बेवश भो जिन्दगी
कहिल्यै आहा भएन |
आफ्ना पिडा लुकाई
अरूका लागि हाँस्दा
धैर्य बानीले होला
कहिल्यै डाहा भएन |
सबलाई समान
देख्ने स्वभावले त
कति फाइदा लिए
अरूले थाहा भएन |
सरल हुँनु पनि त
कसुर रहेछ यहाँ
अज्ञानी भयो मन
पहिल्यै थाहा भएन |
न अरू जस्तो हुँनु छ
न सिको गर्नु छ केही
न सुखले तान्न सक्यो
जीवन वाहा भएन |
न ठुला सपना भएँ
न ठुला आकाङ्क्षा नै
उपाधि सरलको पाएँ
स्वाङ्को चाहा भएन |
बालापनका खुसी
कति मिठा सम्झना
घुम्छन् आँखाभरि अझ
बित्यो पत्तै भएन |
ती साथीसङ्गी आज
आउँछन् पुराना याद
दिमागमा रहलान्
कहिल्यै थाहा भएन |
ती निश्छलका बोली
त्यो आत्मियता आज
स्वार्थपूर्ण भो परिधि
स्वच्छ यहाँ भएन |
विचार नयाँ दिऊ
सदा यो जगतमा
मिठास बाड्न सकूँ
ठुलो अरू भएन |
काव्यको रसपान
अमृत बन्छ बरू
नवीन सोचले दियो
ऊर्जा अरू भएन |
कविका हुन्छन् सिर्जना
कोमल उदार भाव
लिन जान्यो जसले
धन्य अरू भएन ||





























