कविता: रित्ता काखहरु
वि.सं.२०८३ भदौ ५ शुक्रवार
141
shares
shares
–प्रकाशचन्द्र खतिवडा
घामको झुल्कोले
ल्याएन शुभ बिहानी
प्रारम्भ भएन सुनौलो दिन
सानीमायाको जवानी खोसेर
एक मुठी घामको उज्यालो
अन्धकारमा रुपान्तरित हुन्छ ।
पानीका नीला फोकाहरु
अक्षर जस्तै लाग्छन
म अक्षर मिलाएर
कविता लेख्छु
मेरो कविता
कालापानी तिर दौडन्छ
देशको सीमा रेखा कोर्दै
म पछि पछि दगुर्छु
राष्ट्रियताको झण्डा उचाल्दै ।
पहिरोले चिरेको छ मेरो गाउँ
मान्छेको मन चिरिए जस्तै
त्रसित जिन्दगी बोकेर
आकाशमा उडिरहेछन चराहरु
शोक गीत गाउँदै
रात ओइलाइ रहेको छ
श्रापित जून ओकल्दै
दयाराम बेचैन छ
घर जहानलाई कोरले गाँजे पछि ।
भन्नलाई भनिएको छ दन्त्य कथा
भयंकर राक्षस आउनु अगावै
खोज्नु छ मैले सुरक्षित ओडार
थाप्नु छ पासो राक्षस फस्ने गरी
म सुरक्षित जीवनको अम्यर्थना गरि रहेछु
समय संग पौठेजोरी खेल्दै ।
मैले जातीय राग अलाप्नु छैन
ताप्नु छैन साम्प्रदायिकताको आगो
लड्नु छैन धार्मिक युद्ध
बहाउनु छैन असमानताको खोला
समावेशी फूलहरु मुस्कुराई रहेछन
विषाक्त काँडाको यातना पन्छाउँदै ।
मैले लड्नु छ मुक्ति युद्ध
गाउनु छ समानताको गीत
भोको पेट पटुकीले कसेर
जहान छोरा छोरीको रुञ्चे अनुहार हेर्दै
मैले लाउनै छ अजम्बरी प्रीत
म हिमाल जस्तो अग्लन सकूँ
सागर जस्तो फैलन सकूँ
अनाथहरु रोइ रहेछन
तिनीहरुको आँसु पुछ्न सकूँ ।
रामकली उदास छे
हरेराम परदेशिए पछि
वृद्ध आमा आँखा तन्काउँछिन
संसाझै दोबाटो च्याएर
हरेरामको पदचाप सुनिदैन
बृद्ध आमा तरक्क आसुँ झार्छिन
अरुण र अरुणाको ओठमा मुस्कान छैन
तिनीहरुको खुसी खोसिएको छ
आमाहरु गाउँदैनन लोरी
तिनीहरुको काख रित्तिएको छ ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५






























