बाढी–डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई सहजीकरण गर्ने नाडाको पहल
वि.सं.२०८३ असोज ७ बुधवार
shares
काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायी तथा सदस्य कम्पनीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने भएको छ।
बाढी तथा डुबानका कारण विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा क्षति पुगेको, भन्सार नाका तथा अन्य स्थानमा रहेका आयातित सवारीसाधन क्षतिग्रस्त भएको तथा कतिपय सवारीसाधन हराएको जानकारी प्राप्त भइरहेको नाडाले जनाएको छ। व्यवसायीका गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको छ।
नाडाले प्रभावित व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायसँग समन्वय तथा पहल सुरु गरेको जनाएको छ।
क्षतिको यथार्थ विवरण संकलनका लागि नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई सचिवालयमा प्रमाणित विवरण उपलब्ध गराउन आग्रह गरेको छ। विवरणमा बाढी तथा डुबानबाट क्षतिग्रस्त सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या र प्रकार, गोदाम तथा कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण समावेश गर्न नाडाले अनुरोध गरेको छ।
नाडाका अनुसार संकलित विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावित व्यवसायीका समस्या समाधानका लागि पहल गरिनेछ। विशेषगरी बीमा दाबी प्रक्रिया शीघ्र र सहज बनाउन बीमा कम्पनीहरूसँग तथा हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गरिनेछ।
त्यस्तै, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सम्भावित वित्तीय सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग छलफल गर्ने नाडाले जनाएको छ।
अटोमोबाइल क्षेत्रमा परेको समग्र क्षतिको विवरण सरकार तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाको योजना छ। यस कार्यलाई व्यवस्थित बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याउने तयारीसमेत गरिएको छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को यस कठिन परिस्थितिमा संघ प्रभावित व्यवसायी तथा सदस्य कम्पनीहरूसँगै रहेको बताउँदै क्षतिको यथार्थ विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।































