आजदेखि सोह्रश्राद्ध सुरु
वि.सं.२०८३ असोज ११ आइतवार
shares
काठमाडौँ । हिन्दु परम्परामा दिवङ्गत आफन्त तथा पूर्वजप्रति श्रद्धा व्यक्त गर्ने विशेष समयका रूपमा लिइने सोह्रश्राद्ध आजदेखि सुरु हुँदैछ। आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध वा महालय श्राद्ध भनिन्छ।
तिथिका आधारमा गरिने भएकाले सोह्रश्राद्धको आरम्भ र समापन हुने दिन हरेक वर्ष एउटै हुँदैन। यस वर्ष सोह्रश्राद्ध आश्विन ११ गते आइतबारदेखि सुरु भएर आश्विन २४ गते शनिबार औँसीका दिन समाप्त हुनेछ।
धार्मिक मान्यताअनुसार श्राद्ध भनेको दिवङ्गत पितृप्रति श्रद्धापूर्वक अन्न, जल तथा पिण्ड अर्पण गर्नु हो। पितृपक्षका यी दिनमा आफ्ना पूर्वजको स्मरण गर्दै तर्पण तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ।
कुन तिथिमा कसको श्राद्ध गर्ने ?
आफ्ना दिवङ्गत आफन्तको श्राद्ध उनीहरूको मृत्यु भएको तिथिअनुसार गर्ने परम्परा छ। कुमार अवस्थामा मृत्यु भएकाको श्राद्ध पञ्चमी तिथिमा गर्ने धार्मिक मान्यता छ।
आश्विन कृष्णपक्षको नवमीलाई मातृ नवमी भनिन्छ। यस दिन आमासहित दिवङ्गत महिला आफन्तहरूको श्राद्ध तथा तर्पण गर्न उपयुक्त मानिन्छ।
संन्यास ग्रहण गरेका पूर्वजको श्राद्ध एकादशी वा द्वादशी तिथिमा गर्ने परम्परा छ। दुर्घटना, आगलागी, डुबेर, चट्याङ लागेर, विष सेवन, जङ्गली जनावरको आक्रमण वा अस्त्रशस्त्रका कारण मृत्यु भएकाको श्राद्ध चतुर्दशीमा गर्ने धार्मिक मान्यता रहेको छ।
दिवङ्गत पितृको तिथि थाहा नभएको अवस्थामा औँसीका दिन श्राद्ध गर्ने चलन छ। यस दिन श्राद्ध गर्दा सबै पितृको तर्पण हुने धार्मिक विश्वास रहिआएको छ।
सोह्रश्राद्धमा कस्तो भोजन गर्ने ?
धार्मिक परम्पराअनुसार सोह्रश्राद्धको समयमा मांसाहारी भोजन त्यागेर शाकाहारी तथा सात्त्विक भोजन गर्नुपर्छ। तामसी भोजनबाट टाढा रहनुपर्ने मान्यता छ।
पितृको तिथि नआउन्जेल सम्भव भएसम्म एक छाक भोजन र अर्को छाक रोटी खाने परम्परा पनि केही समुदायमा रहेको छ। दैनिक स्नान गर्ने तथा श्राद्धअघि शरीर र व्यक्तिगत सरसफाइमा ध्यान दिने चलन छ।
श्राद्धका बेला पालना गरिने नियम
श्राद्धका दिन विभिन्न आचार तथा संयम पालना गर्ने परम्परा छ। श्राद्धअघि पानलगायतका वस्तु सेवन नगर्ने, शरीरमा तेल नलगाउने र श्राद्ध सम्पन्न नहुँदासम्म अरूको अन्न नखाने मान्यता छ।
श्राद्धका लागि प्रयोग गरिने अन्न शुद्ध र सफा हुनुपर्ने धार्मिक विधिमा उल्लेख गरिएको छ। किरा लागेको वा कुकुर तथा कुखुराले जुठो पारेको अन्न प्रयोग गर्न नहुने मान्यता छ।
कुन अन्न तथा तरकारी प्रयोग नगर्ने ?
महालय श्राद्धमा पिण्ड तथा प्रसादका लागि शुद्ध र पाकेको अन्न प्रयोग गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार मुसुरीको दाल, गाजर, कुभिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन प्रयोग नगर्ने चलन छ।
त्यस्तै, पितृलाई अर्पण गरिने फूलमा सेतो तथा पहेँलो रङका फूल प्रयोग गर्ने र चन्दनमा पनि पहेँलो चन्दन प्रयोग गर्ने परम्परा रहेको छ। रातो चन्दन प्रयोग नगर्ने धार्मिक मान्यता छ।
पिण्ड कति आकारको बनाउने ?
श्राद्धको प्रकारअनुसार पिण्डको आकार फरक हुने धार्मिक विधिमा उल्लेख गरिएको छ। एकोदृष्ट श्राद्धमा सरिफाको फलजत्रो, वार्षिक तथा मासिक श्राद्धमा नरिवलको गुदीजत्रो, तीर्थ श्राद्धमा कुखुराको अण्डाजत्रो र पावण श्राद्धमा ठूलो अमलाजत्रो पिण्ड बनाउने परम्परा रहेको छ।
पिण्ड अर्पण गर्नुको उद्देश्य दिवङ्गत पूर्वजप्रति श्रद्धा तथा स्मरण व्यक्त गर्नु रहेको धार्मिक मान्यता छ।
औँसीमा पितृलाई बिदाइ गर्ने परम्परा
सोह्रश्राद्धको अन्तिम दिन औँसीलाई पितृहरू आफ्नो लोकमा फर्कने दिनका रूपमा लिइन्छ। त्यस दिन साँझ दीप प्रज्वलन गर्ने, पितृको स्मरण गर्ने तथा खिरलगायतका परिकार अर्पण गर्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार घर, तीर्थस्थल, गोकर्ण, पशुपति क्षेत्रलगायत विभिन्न स्थानमा पितृको श्रद्धापूर्वक स्मरण गरी तर्पण तथा श्राद्ध गर्ने गरिन्छ। सोह्रश्राद्धपछि दसैँ तथा तिहारजस्ता प्रमुख पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर त्यसपछि देवताको पूजा गर्ने परम्परा रहेको धार्मिक जानकारहरू बताउँछन्।
श्राद्ध गर्न नसकिएमा के गर्ने ?
व्यक्तिगत वा अन्य कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिए वैकल्पिक समयमा श्राद्ध गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। महालय श्राद्ध गर्न नसकिए कार्तिक औँसीमा पिण्डदान गर्न सकिने मान्यता पनि विभिन्न ग्रन्थमा उल्लेख छ।
त्यस समयमा पनि श्राद्ध गर्न नसकिए सूर्य वृश्चिक राशिमा रहँदासम्म अर्थात् मङ्सिर महिनाभित्र श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।
धार्मिक ग्रन्थहरूमा महालय श्राद्धलाई पितृप्रति श्रद्धा व्यक्त गर्ने विशेष अवसरका रूपमा वर्णन गरिएको छ। यस अवधिमा पितृको स्मरण, तर्पण र पिण्डदान गर्दा पूर्वजको आशीर्वाद प्राप्त हुने विश्वास हिन्दु धर्मावलम्बीमा रहिआएको छ।






























