धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बन्दै बिटार पार्क
वि.सं.२०८३ कात्तिक ७ शनिवार
shares
रामेछाप । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र नेपाली मौलिक पहिचानलाई एकै ठाउँमा समेटेको बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
शान्त वातावरण, हरियाली र विभिन्न आकर्षक संरचनाले सजिएको यो पार्कलाई घुमफिरका लागि मात्र नभई नेपालको प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताबारे अध्ययन र अवलोकन गर्ने स्थलका रूपमा समेत विकास गर्ने प्रयास भइरहेको छ ।
रामेछाप नगरपालिका–८ बाबिया खर्कमा अवस्थित बिटार पार्क रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्दछ । दुई नगरपालिकाको मिलनस्थलका रूपमा रहेको यो पार्क मन्थलीबाट नजिकै भएकाले पनि पर्यटकका लागि सहज गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । मन्थली बजारबाट करिब आधा घण्टा पैदल वा सवारीसाधनमा करिब १० मिनेटमै पुग्न सकिने भएकाले छोटो समयको घुमफिरका लागि समेत यो उपयुक्त स्थल हो ।
प्रकृतिसँग रमाउन, परिवारसँग समय बिताउन र नेपाली कला, संस्कृति तथा पहिचानसँग परिचित हुन चाहनेहरूका लागि बिटार पार्कले फरक अनुभव प्रदान गर्न सक्छ । पार्क परिसरमा निर्माण गरिएका विभिन्न संरचना, हुर्कँदै गरेका बिरुवा र खुला वातावरणले यसको आकर्षण बढाउँदै लगेका छन् ।
नेपालको पहिचान झल्काउने धरहरा, सगरमाथा र नेपाली खुकुरीका प्रतिमाले पार्कमा पुग्ने आगन्तुकलाई देशको इतिहास, गौरव र सांस्कृतिक विशेषताबारे जानकारी लिन प्रेरित गर्छन् । त्यस्तै, विभिन्न जनावरका प्रतिमाले नेपालको वन्यजन्तु तथा जैविक विविधताबारे बालबालिका र अन्य आगन्तुकलाई परिचित गराउने सम्भावना बोकेका छन् । पार्कमा निर्माण गरिएको टावरबाट आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने बालबालिकाका लागि पिङलगायत खेल्ने संरचना पनि राखिएका छन् ।
बिटार पार्कको अर्को विशेषता यसको धार्मिक महत्त्व हो । बाबिया खर्कका घिमिरे परिवारको कुल मन्दिरसमेत यही परिसरमा रहेकाले पार्क धार्मिक आस्थासँग पनि जोडिएको छ । घिमिरे समाजले आफ्नै लगानीमा आकर्षक कुल मन्दिर निर्माण गरेको छ । यसले पार्कलाई मनोरञ्जन र प्रकृति अवलोकनको स्थलसँगै धार्मिक तथा सांस्कृतिक गतिविधिसँग जोडिएको गन्तव्यका रूपमा समेत चिनाएको छ ।
स्थानीय युवाको पहलबाट सुरु भएको बिटार पार्कको विकास यात्रा पनि प्रेरणादायी छ । कोरोना महामारीका समयमा स्थानीय युवाहरूको समूहले पार्कको परिकल्पना गरी निर्माणको सुरुवात गरेको थियो । त्यसपछि बागमती प्रदेश सरकार तथा स्थानीय सरकारको चासो र सहयोगसँगै पार्कमा विभिन्न संरचना निर्माण भएका छन् । अहिले पनि पार्कमा थप संरचना निर्माण गर्ने र हरियाली बढाउने काम जारी छ ।
पार्क संरक्षणमा संलग्न दिनेश सार्कीका अनुसार पार्क व्यवस्थित हुँदै गएसँगै घुम्न आउने मानिसको संख्या पनि बढ्दै गएको छ । आगन्तुकले पार्कमा थप पूर्वाधार र संरचना निर्माण गर्न सुझाव दिने गरेको उनले बताए । उनका अनुसार पार्कको छेउमा रहेका कुखुरा फार्म व्यवस्थित नहुँदा दुर्गन्ध फैलिने समस्या देखिएको छ । विशेषगरी पिकनिकका लागि आउने आगन्तुकले यसबारे गुनासो गर्ने गरेका छन् ।
बिटार पार्कलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरसफाइ, हरियाली संरक्षण, विश्रामस्थल, शौचालय, खानेपानी तथा पिकनिक स्थलजस्ता आधारभूत पूर्वाधारमा थप व्यवस्थित बनाउने कुरामा ध्यान दिन आवश्यक देखिन्छ । पार्क वरपरका गतिविधिलाई व्यवस्थित गर्दै वातावरणमैत्री पर्यटनको अवधारणा अघि बढाउन सके यसको आकर्षण अझ बढ्न सक्छ ।
पार्कलाई मनोरञ्जन स्थलमा मात्र सीमित नराखी नेपालको प्राकृतिक, सांस्कृतिक र जैविक विविधता चिनाउने अध्ययन तथा अवलोकन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना पनि छ । विभिन्न वनस्पति रोप्ने, तिनको नाम र विशेषता उल्लेख गर्ने, स्थानीय वन्यजन्तुबारे जानकारी दिने सामग्री राख्ने तथा विद्यार्थीका लागि शैक्षिक भ्रमणका कार्यक्रम सञ्चालन गर्ने हो भने यसले पर्यटनसँगै ज्ञान आर्जनको अवसर पनि प्रदान गर्न सक्छ ।
बिटार पार्कको विकासले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्ने सम्भावना छ । पर्यटकको आवागमन बढेसँगै स्थानीय कृषि उपज, परम्परागत परिकार, हस्तकला तथा अन्य उत्पादनको बजार विस्तार हुन सक्छ । त्यस्तै, होटल, रेस्टुरेन्ट, यातायात र साना व्यवसायमा अवसर सिर्जना हुनुका साथै स्थानीय युवाले रोजगारी तथा स्वरोजगारका सम्भावना बढेको छ।
यसका लागि स्थानीय समुदाय, युवा समूह, व्यवसायी तथा स्थानीय, प्रदेश र संघीय सरकारबिच सहकार्य आवश्यक छ । पार्कको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व संरक्षण गर्दै योजनाबद्ध रूपमा पूर्वाधार विस्तार गर्न सके बिटार पार्क रामेछापको पहिचान बोकेको पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।
स्थानीय युवाको सोच र सामुदायिक पहलबाट सुरु भएको बिटार पार्कले पर्यटन विकासको सम्भावना बोकेको छ । आवश्यक पूर्वाधार, प्रभावकारी व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिन सके मन्थली आसपासको छोटो दूरीको भ्रमणदेखि शैक्षिक तथा सांस्कृतिक पर्यटनसम्मका लागि यो महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने देखिन्छ ।


































