समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ विराटनगरमा विमोचन

580
shares
Nabil bank

विराटनगर । साहित्यकार तोमनाथ उप्रेतीद्वारा लिखित समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ विराटनगरमा आयोजित एक साहित्यिक समारोहबीच विमोचन गरिएको छ। विराट साहित्य सङ्गम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा शनिबार राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले कृतिको विमोचन गरेका हुन्।

विराट साहित्य सङ्गम, मोरङका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल निर्भिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। समालोचक निर्मला कोइरालाले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै यसमा समेटिएका विषयवस्तुको विविधता, समालोचनात्मक दृष्टिकोण र साहित्यिक महत्त्वबारे चर्चा गरिन्।

कृतिकार तोमनाथ उप्रेतीले आफ्नो लेखनको उद्देश्य र साहित्यिक समालोचनाप्रतिको दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा आदर्श माध्यमिक विद्यालय, विराटनगरका पूर्वप्रधानाध्यापक रमानाथ भट्टराई तथा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि मन्तव्य व्यक्त गरेका थिए। साहित्यिक समारोहमा विभिन्न स्रष्टाले कविता वाचन गरेका थिए।

प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नेपाली साहित्यको विकासमा समालोचनाको महत्त्व उल्लेख गर्दै साहित्यिक कृतिको गम्भीर अध्ययन र विश्लेषणले सिर्जनात्मक क्षेत्रलाई समृद्ध बनाउन योगदान पुर्‍याउने धारणा राखेका थिए। कार्यक्रमको समापन अध्यक्ष मधु पोखरेलले गरेका थिए।

‘अक्षरभित्र चिन्तन’ मा विराटनगरलाई कर्मभूमि बनाएर साहित्यसाधनामा सक्रिय विभिन्न स्रष्टाका कविता, खण्डकाव्य, कथा, मुक्तक, हाइकु, उपन्यास तथा नाटकलगायत विधाका कृतिमाथि समालोचनात्मक विश्लेषण गरिएको छ। सङ्ग्रहले स्थानीय साहित्यिक सिर्जनालाई व्यापक नेपाली साहित्यिक परिप्रेक्ष्यमा अध्ययन र मूल्याङ्कन गर्ने प्रयास गरेको छ।

कृतिमा समेटिएका समालोचनाले साहित्यलाई मनोरञ्जन र भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नराखी सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता, सांस्कृतिक चेतना र सामाजिक रूपान्तरणका प्रश्नसँग जोडेर विश्लेषण गरेका छन्। साहित्यिक कृतिको विषयवस्तु, पात्र, भाषाशैली, प्रतीक, संरचना र अन्तर्निहित जीवनदृष्टिको अध्ययनमार्फत सिर्जनाका बहुआयामिक पक्ष उजागर गर्ने प्रयास गरिएको छ।

सङ्ग्रहमा सीमा आभासको उपन्यास ‘महायुग’ र छवि वैरागी घिमिरेको ‘विविशारा’ माथिका समीक्षामार्फत सामाजिक संरचना, शक्ति सम्बन्ध, वर्गीय विभाजन तथा मानवीय मनोविज्ञानका पक्षमाथि चर्चा गरिएको छ। उमेश लुइटेलको कवितासङ्ग्रह ‘आगो खरानी जान्दैन’ मा चेतना, आत्मबोध र जीवनदर्शनका पक्षलाई विश्लेषण गरिएको छ। त्यस्तै, बाबुराम पोखरेलको मुक्तकसङ्ग्रह ‘गोलढुङ्गा’ र मधु पोखरेलको ‘क्वाँटी’ मा अभिव्यक्त जीवनका विविध अनुभूति, सामाजिक चेतना र मानवीय संवेदनालाई समालोचनाको विषय बनाइएको छ।

अर्जुन नेपालको नाटक ‘सीमा’, भवानीप्रसाद पोखरेलको कथासङ्ग्रह ‘कथा र अनुभूति’, लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ र हरिप्रसाद अधिकारीको कथासङ्ग्रह ‘चारमन दाउरा’ माथिका समीक्षाले मानवीय सम्बन्ध, सामाजिक यथार्थ, अस्तित्वबोध र जीवनका अन्तर्द्वन्द्वलाई समेटेका छन्।

यसैगरी, चन्द्रकान्त भट्टराईको ‘वसन्तको पालुवा’, नानुमैया दाहालको ‘खुला आकाशमुनि’, अम्बिका खरेल उप्रेतीको ‘अन्धकारमा जून’, हेमसागर पोखरेलको ‘प्रिय हिमाल’, शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’, नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ र सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ माथिका समीक्षामा प्रकृतिचेतना, राष्ट्रप्रेम, आशा, सङ्घर्ष, प्रयोगशीलता र स्वतन्त्र चिन्तनका विविध पक्षलाई महत्त्व दिइएको छ।

भीम केइरालाको ऐतिहासिक उपन्यास ‘महारानी देवलदेवी’ माथिको समीक्षामा भने मध्यकालीन नेपालको राजनीतिक परिवेश, शक्ति सम्बन्ध, ऐतिहासिक चेतना र मानवीय सम्बन्धका जटिल पक्षको विश्लेषण गरिएको छ।

समालोचक उप्रेतीले साहित्यिक कृतिको मूल्याङ्कन गर्दा लेखकको प्रतिष्ठा वा व्यक्तिगत आग्रहभन्दा पाठगत प्रमाण, ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ, कलात्मक संरचना र विवेकपूर्ण विश्लेषणलाई प्राथमिकता दिनुपर्ने दृष्टिकोण अघि सारेका छन्।

साहित्यिक समालोचनालाई प्रशंसा वा निन्दामा सीमित नराखी कृतिका सबल पक्ष, अन्तर्विरोध र सामाजिक अर्थको खोजी गर्ने बौद्धिक अभ्यासका रूपमा प्रस्तुत गर्नु यस सङ्ग्रहको प्रमुख विशेषता हो। यस दृष्टिकोणले साहित्यिक कृतिलाई गहिराइमा बुझ्न, त्यसको वैचारिक आधार पहिचान गर्न र सिर्जनाभित्र निहित सामाजिक सन्देशको विश्लेषण गर्न पाठकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

‘अक्षरभित्र चिन्तन’ ले विराटनगरको साहित्यिक परिवेशमा सक्रिय स्रष्टाहरूका कृतिलाई समालोचनात्मक विमर्शमा ल्याउँदै स्थानीय साहित्यिक योगदानको अभिलेखीकरण र मूल्याङ्कनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै, सिर्जना र समालोचनाबीचको संवाद विस्तार गर्दै नेपाली साहित्यमा आलोचनात्मक चेतना, पाठकीय विवेक र साहित्यिक अनुसन्धानलाई प्रोत्साहन गर्ने आधारका रूपमा समेत कृतिलाई हेरिएको छ।

कार्यक्रममा साहित्यकार, समालोचक, प्राध्यापक, अनुसन्धाता, साहित्यप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x