प्रवासबाट मातृभूमिलाई २२ लाखको साथ, भोटेकोशीका बाढीपीडितका लागि राहत अभियान

232
shares
Nabil bank

 

स्पेन । रोजगारी र अवसरको खोजीमा स्पेन पुगेका नेपालीहरूले मातृभूमिमा परेको विपद्‌मा सहयोगको हात बढाएका छन्। स्पेनको दोनोस्तीमा रहेका नेपाली तथा शुभचिन्तकले भोटेकोशी बाढीपीडितका लागि २२ लाख रुपैयाँ राहत संकलन गरेका छन्। संकलित रकममध्ये पहिलो चरणमा ८ लाख ४ हजार ५५० रुपैयाँ नेपाल पठाइएको छ भने बाँकी रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गर्ने तयारी गरिएको छ।

खेलकुदकर्मी तथा समाजसेवी अशोक लामा रुम्बाको नेतृत्वमा सञ्चालन भएको अभियानमा स्पेनको रेन्तेरिया नगरपालिकासहित दोनोस्तीमा रहेका नेपाली र अन्य शुभचिन्तकले सहयोग गरेका हुन्। बाढीबाट प्रभावित परिवारको वास्तविक अवस्था र आवश्यकताका आधारमा राहत पुर्‍याउने उद्देश्यले अभियान अघि बढाइएको जनाइएको छ।

अभियानका नेतृत्वकर्ता रुम्बाका अनुसार संकलित रकमको पहिलो किस्ता राष्ट्रिय वाणिज्य बैंकमार्फत नेपाल पठाइसकिएको छ। बाँकी करिब १४ लाख रुपैयाँ भने टोली आफैँ प्रभावित क्षेत्रमा पुगेर स्थानीय संघसंस्थासँग समन्वय गरी वितरण गर्ने योजना छ।

लायन्स क्लब अफ लेकसाइड पोखराको समन्वयमा राहत वितरणको तयारी भइरहेको स्थानीय श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। प्रभावित परिवारको अवस्था पहिचान गरेर सहयोग वितरण गर्दा राहत वास्तविक पीडितसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

‘विदेशमा भए पनि मातृभूमिको दुःखमा साथ दिनु हाम्रो दायित्व’

राहत अभियानको नेतृत्व गरिरहेका अशोक लामा रुम्बाले प्रवासमा रहे पनि मातृभूमिमा विपद् आइपर्दा नेपालीहरू एकजुट भएर सहयोग गर्नुपर्ने बताएका छन्।

उनका अनुसार विदेशमा बस्दैमा मातृभूमिप्रतिको सम्बन्ध र जिम्मेवारी कमजोर हुँदैन। भोटेकोशीका बाढीपीडितको पीडामा साथ दिन र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन अभियान सञ्चालन गरिएको हो।

“हामी रोजगारी र विभिन्न अवसरको खोजीमा विदेशमा रहे पनि हाम्रो मन सधैँ मातृभूमिसँगै छ। भोटेकोशीका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीको पीडामा सकेको सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ,” रुम्बाले अभियानको सन्देशमा भनेका छन्।

उनले अभियानमा साथ दिने नेपाली तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै संकलित रकम सही पीडितसम्म पुर्‍याउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।

दोनोस्तीमा दशैंको जमघट, नेपाली संस्कृति जोगाउने प्रयास

राहत अभियानसँगै दोनोस्तीमा नेपाली समुदायले दशैंको सांस्कृतिक रौनक पनि बाँडेको छ। नेपाली समाज दोनोस्तीले बडादशैंका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

अशोक लामा रुम्बाको नेतृत्वमा आयोजित कार्यक्रममा स्पेनमा बसोबास गर्ने नेपालीहरू भेला भई दशैंको शुभकामना साटासाट गरेका थिए। सहभागीहरूले नेपाली मौलिक भेषभूषा लगाउनुका साथै विभिन्न नेपाली परिकारको स्वाद लिएका थिए।

विदेशमा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। नेपाली समाज दोनोस्तीले प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सद्भाव र सांस्कृतिक सम्बन्ध बलियो बनाउन विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको छ।

विपद्मा सहयोग र संस्कृतिमा एकता

भोटेकोशीका बाढीपीडितका लागि राहत संकलन र दशैंको सांस्कृतिक जमघटले प्रवासमा रहेका नेपाली समुदायको सक्रियता देखाएको छ। विपद्का बेला सहयोग जुटाउने र विदेशमा नेपाली पहिचान तथा परम्परा जोगाउने यी गतिविधिले प्रवासी समुदायको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको आत्मीयतालाई उजागर गरेका छन्।

भौगोलिक दूरीले मानवीय सम्बन्ध र सहयोगको भावनालाई रोक्न नसक्ने सन्देश दोनोस्तीका नेपालीहरूको यो पहलले दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x