पहिरोले खप्त्याडको प्रवेशद्वार बन्द, मुख्यमन्त्रीद्वारा अनुगमन
वि.सं.२०८३ कात्तिक ९ सोमवार
shares
सुर्खेत । मुगुको खप्त्याड गाउँपालिका–८ नुवाखेतमा पहिरो खसेपछि असोज ११ गतेदेखि सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
पहिरोका कारण खप्त्याड गाउँपालिकाको प्रवेशद्वार नै बन्द भएको स्थानीय दानबहादुर रावतले बताए । लामो समयदेखि सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
अवरुद्ध सडकको अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कात्तिक ९ गते स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै सडक पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री शाहीले पहिरोबाट भएको क्षतिको विवरण संकलन गरी लागत अनुमान तयार पारेर काम अघि बढाइने बताए । उनले भूगर्भविद् ल्याएर प्रभावित क्षेत्रको तत्काल अध्ययन गराउने र पहिरोको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि जनाए ।
भौगोलिक अवस्था र पहिरोको जोखिमबारे प्राविधिक अध्ययन गराएर सडक सञ्चालनका लागि आवश्यक काम अघि बढाइने मुख्यमन्त्रीको भनाइ छ ।
बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने यो सडक मुगुको आवागमनका लागि महत्त्वपूर्ण मार्ग हो । सडक अवरुद्ध हुँदा स्थानीयवासीको आवतजावतसँगै मालसामान ढुवानी र रारा जाने पर्यटकको यात्रामा समेत असर पर्न सक्ने देखिएको छ ।
असोज ११ गतेदेखि अवरुद्ध सडक कहिलेसम्म सञ्चालनमा आउने भन्नेबारे भने स्पष्ट समयसीमा तय भएको छैन । भूगर्भविद्को अध्ययन, क्षतिको विवरण र लागत अनुमानपछि सडक मर्मतको काम अघि बढाउने प्रदेश सरकारको तयारी छ ।


































