ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
वि.सं.२०८३ कात्तिक ९ सोमवार
shares
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ले प्रदान गर्ने ‘बेष्ट बैंक अवार्ड २०२६’बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको छ।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधाअन्तर्गत ग्लोबल फाइनान्सको अवार्ड प्राप्त गरेको थियो। लगातार तीन वर्षसम्म एउटै विधामा सम्मानित हुनुले बैंकको वित्तीय क्षमता, सेवा विस्तार र प्रविधिमैत्री बैंकिङ प्रणालीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी र ग्राहकमैत्री नवप्रवर्तनलाई मूल्याङ्कनको प्रमुख आधार बनाएको थियो।
त्यसैगरी, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रभावकारी प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई समेत पुरस्कार प्रदान गर्ने आधारका रूपमा लिइएको जनाइएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रतिष्ठित वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ। ग्लोबल फाइनान्सले विश्वभरका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादन र उपलब्धिलाई मूल्याङ्कन गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ।
बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गरिसकेको छ। सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेष्ट इन्टरनेट बैंक’ तथा सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सलेन्स प्राप्त गरेको बैंकले जनाएको छ।
त्यसैगरी, सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत बैंकले प्राप्त गरेको छ। आधुनिक प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधारलाई प्राथमिकता दिँदै आएको बैंकले यी उपलब्धिलाई आफ्नो सेवा विस्तार र संस्थागत विकासको परिणामका रूपमा लिएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। यी संरचनासहित बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ। यसबाट विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुगेको बैंकको भनाइ छ।
लगातार तेस्रो पटक प्राप्त अन्तर्राष्ट्रिय सम्मानले आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बैंकले जनाएको छ।यस उपलब्धिका लागि बैंकले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगातार आफ्नो उपस्थिति बलियो बनाउँदै गएको ग्लोबल आइएमई बैंकका लागि यो सम्मान प्रतिष्ठाको विषय मात्र नभई सेवा गुणस्तर, डिजिटल रूपान्तरण र संस्थागत विश्वसनीयतालाई अझ सुदृढ बनाउने चुनौतीसमेत हो। आगामी दिनमा ग्राहकको विश्वास कायम राख्दै वित्तीय सेवाको पहुँच र प्रभावकारिता बढाउनु बैंकका लागि महत्त्वपूर्ण रहनेछ।


































