तिहार शुरु नहुँदै जताततै कौडा र पटका, रोक्नमा सरकारको बेवास्ता !

580
shares
Nabil bank

तिहार आउन अब एक साता बाँकी छ । अर्को सातादेखि तिहार शुरु हुन्छ । तर, तिहार शुरु नहुँदै सडकमा छ्याप्छ्याप्ती लंगुरगुच्चा, कौडा, जुवातास खेलेको देखिन थालेको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरभित्र लंगुरगुच्चा, कौडा र जुवातास खेलेको दृश्य देखिन्छ । सडक छेउछाउ पनि भीड जम्मा गरेर यी अवैध चीजहरु खेलिरहेको पाइन्छ ।

तर, नियामक निकायले यसलाई बन्द गराउन सकेको छैन । न खेलाउनेलाई कारबाही । तिहार आउन साता बाँकी हुँदा जताततै पटका पड्काउन थालिएको छ । यसले ध्वनि प्रदूषण त भएको छ नै, साथै आम नागरिकलाई डिस्टर्ब भइरहेको छ । बाटो हिँडिरहँदा अचानक पटका पड्किदाँ पैदलयात्री र सवारी चालक तर्सिने गरेका छन् ।
यता, घरहरुमा झिलीमिली टाँग्न पनि शुरु भइसकेको छ । तिहार झिलीमिलीको चाड हो । तर, त्यही झिलीमिलीका कारण सर्वसाधारणले ज्यान गुमाएका घटनाहरु छन् । तिहारमा झिलीमिली टाँग्ने क्रममा घरको छतबाट खसेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । बालेको बत्ती सल्किएर आगलागी भएका घटनाहरु पनि थुप्रै छन् ।

तिहारमा मुख्य रुपमा बिक्री हुने भनेको भाइमसला, ड्राई फुट्रस लगायतका सामग्री हुन् । तर, रसुवा बाढीका कारण यसपटक सामान महँगिने निश्चित छ । दशैंमा जसरी व्यापारीले पुराना सामान बेचे, तिहारमा त्यसैगरी पुराना सामान महँगो मूल्यमा बेचिने देखिएको छ । व्यापारीहरुले पोका बनाएर सामान बेच्न राखिसकेका छन् ।
पुरानो सामान महँगोमा बेच्ने राम्रो मौका पाएका छन्, व्यापारीहरुले । केही व्यक्तिले लंगुरगुच्चा, कौडा र जुवातास खेलाएर सर्वसाधारणको पैसा र समय सखाप पारिरहँदा र व्यापारीहरुले उपभोक्ता ठगिरहँदा सरकार भएको अनुभव गर्न सकिएको छैन । चाडपर्व व्यापारीका लागि कमाउने मौका हो ।

व्यापारीलाई जसरी पनि कमाउनु छ । त्यसका लागि पुराना सामान दोब्बर मूल्यमा भिडाउँछन्, हरेक सामानमा मनलाग्दी मूल्य असुल्छन् । तर, उपभोक्ता फस्छन् । उनीहरुको पैसा पनि सकिन्छ, ज्यान पनि । कुहिएको, बिग्रिएको सामान भिडाएर जनताको स्वास्थ्य र पैसा लुटिँदैछ ।
तर, सरकार अनुगमन गर्दैन । बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि अनुगमन शून्यबराबर छ । झण्डै दुई तिहाईको बलियो सरकार छ तर बजार अनुगमन हुँदैन । सल्लाघारीको तीनकुने चौर वरपर थुप्रै प्रहरी देखिन्छन् । ट्राफिक प्रहरी र प्रहरी नै हुन्छन् । तर, लंगुरगुच्चा, कौडा, जुवातास खेलाइरहेको र खेलिरहेको देख्दैनन् ।

यसको कारण के हो ? प्रहरी चिया पसलमा गफ गरेर बस्छन् तर तिनलाई समात्दैनन् । देखेर पनि नदेखेझैं गर्छन् । प्रहरीले तिनलाई भटाभट समात्ने हो भने कसले लंगुरगुच्चा, कौडा र जुवातास खेलाउने र खेल्ने आँट गर्छ ? जनताले तिरेको करबाट प्रहरीले तलब खाएका छैनन् तर जनता गलत बाटोमा लाग्दा उनीहरु वास्ता गर्दैनन् ।
यता, व्यापारीहरु सामान आएको छैन भन्दै पुरानै सामान महँगोमा भिडाइरहेका छन् । प्याक गरेको सामानभित्र के छ, देखिँदैन । उपभोक्ताले लिएर जान्छन्, घर लगेर खोल्दा खानयोग्य हुँदैन । सामान खोलेपछि व्यापारीले सामान फिर्ता लिँदैनन् । व्यापारीहरुले यसरी लुटको धन्दा मच्चाएका छन् ।

यहाँ त जसले सकेको छ, उसले लुटेको छ । तर, सरकार कतै अनुगमन गर्दैन । जनतालाई चाड मान्नैपर्ने बाध्यता छ । ऋणधन गरेर जनता चाड मनाउँछन् । यस्तो महँगी भएपछि कसरी चाड मनाउने ? दिदीबहिनी ऋणधन गरेर्र दाजुभाइ टिका लगाउन सामान किनेर लैजान्छन् ।
दाजुभाइले पनि ऋण खोजेर दक्षिणा दिनुपर्यो । सामानअनुसारको दक्षिणा दिएन भने अर्कोपटकबाट टिका नै लगाउन नआउलान् भन्ने चिन्ता । बेरोजगारी र महँगीको कारणले जनता बाँच्नै नसक्ने अवस्थमा पुगेका छन् । सरकारी जागिर खाने, घरभाडामा लगाउने, पेन्सन आउने र छोराछोरी विदेशमा भएकाबाहेक कसैले अब चाडबाड मनाउन सक्दैन ।

यहाँ जसरी पनि जनता नै मरिरहेका छन् । कृषकले पाँच सयदेखि छ सयमा जिउँदो खसी बेचे । बाख्रा त दुई तीन सय रुपैयाँ किलोमा बेचे । तर, मासु पसलेहरुले काटेर खसीको मासु प्रतिकिलो १६ देखि १९ सयमा बेचे । किसानले आफ्नो मेहिनेतअनुसारको मूल्य पाएनन्, उपभोक्ता पनि ठगिए ।
चाडपर्वमा माछामासु नभईकन हुँदैन । तर, सबैभन्दा बढी यसमै ठगी भइरहेको छ । बीचमा बसेर बिचौलियाहरुले खाइरहेका छन् । पशुपालकलाई केही न केही ।

दुई रुपैयाँ किलोमा गोलभेडा नबिकेको भन्दै कृषकले पटकपटक सडक आन्दोलन गरेका छन् । तर, बजारमा जहिलेजसो टमाटर किलोको एक सय रुपैयाँ हुन्छ । हरेक ठाउँमा बिचौलिया छन् । व्यापारीहरुले बेच्ने मात्र हुन्, उनीहरुको आफ्नो उत्पादन हुँदैन । यद्यपि, बीचमै बसेर उनीहरु मोटाइरहेका छन् ।
बिचौलियाहरु किसानबाट ६ महिनाअघि सामान ल्याउँछन्, ६ महिनापछि भुक्तानी गर्छन् । उपभोक्ताले त क्यास तिरेर सामान खरिद गर्नुपर्छ । विडम्बना, दलालीलाई कारबाही गर्न सक्ने सरकार नै भएन । बालेन सरकारले सिण्डिकेटधारी, बिचौलिया, भ्रष्टाचारीहरुलाई कारबाही गर्छ भन्ने आश जनतालाई थियो ।

त्यसैले त जनताले बालेन सरकारलाई झण्डै दुई तिहाई भोट दिए । तर, आठ महिनामा सरकारले सिन्को पनि भाँचेन । वालुवाटार र सिंहदरबार गर्दै यो अवधि बित्यो । सरकारले काम गर्न नसकेपछि विभिन्न बहाना बनाउन थालेको छ । प्रदेश र स्थानीयमा रास्वपाको नेतृत्व नभएकाले काम गर्न नसकेको उनीहरुको जिकिर छ ।
आफ्नो असक्षमता लुकाउन यसो भन्न मिल्छ ? जो मान्छेको खुट्टामा तागत छैन, उसले भारी बोक्न सक्छ ? संघीय स्तरमै असक्षमता देखिइसकेको छ । अब फेरि स्थानीय र प्रदेशमा भोट दिएर देश डुबाउने ? काम गर्नेले बहाना गर्दैन । बहाना काम गर्न नसकेपछि गर्ने हो ।

बजारमा के भइरहेको छ ? बालेन सरकारलाई थाहा छैन । उनीहरुलाई दिन कटाउनुछ, सरकार लम्बाउनुछ । तर, यसले देश र जनतालाई घात भइरहेको छ । असोज १६ गतेदेखि सदन स्थगित छ । विपक्षीले आवाज उठाउलान् भनेर सरकार सदन बन्द गरेर बसेको छ । यद्यपि, सांसदहरुले तलबभत्ता त खाइरहेका छन् ।
जनता महँगीको मारमा छन् । कानुन बन्न सकेको छैन । तर, सरकार सदन बन्द गरेर हाइसञ्चो मानेर बसेको छ । यो सरकार पनि पुरानै सरकारजसरी चलिरहेको छ । अनि रास्वपालाई १८२ सिटमा जिताएर के फाइदा भयो ? देशमा के परिवर्तन आयो ? जुन जोगी आएपनि कानै चिरेको अवस्था छ ।

व्यापारीहरु ठग्न छोड्दैनन्, कर्मचारी घुस खान । देशमा केही होला कि भनेर जनता कहिले काँग्रेस, कहिले एमाले कहिले माओवादी त कहिले रास्वपालाई भोट दिन्छन् । तर, अवस्था उही छ । चुनाव नआउञ्जेल यो त्यो भन्छन्, जितेपछि बिर्सिन्छन् । बालेन सरकारले आठ महिनामा के गर्यो ? जनताले भन्न सक्ने स्थिति छैन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x