नापीको सरुवा यसपटक पनि विवाद
वि.सं.२०८३ मंसिर ११ शुक्रवार
shares
काठमाडौँ । यसअघि विवादमा परेर फिर्ता भएको नापी कर्मचारीको सरुवा अहिले पनि विवादमुक्त हुन सकेन । आर्थिक लेनदेनका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै उजुरी परेपछि अघिल्लो सरुवा निर्णय फिर्ता लिएको नापी विभागले यसपटक पनि नियमसंगत र न्यायोचित सरुवा गर्न नसकेको आरोप लागेको छ ।
मालदार मानिने कार्यालयबाट मालदार कार्यालयमै कर्मचारी सार्ने प्रवृत्ति यसपटकको सरुवामा पनि दोहोरिएको देखिन्छ । यसअघि विवादमा परेका कतिपय कर्मचारीलाई समेत पुनः सुगम र आकर्षक मानिने कार्यालयमा जिम्मेवारी दिइएको छ । यसले नापी विभागको सरुवा प्रणालीमाथि पुनः प्रश्न उठाएको छ ।
नापी विभागले मंसिर ११ गते गरेको निर्णयअनुसार राजपत्रांकित तृतीय श्रेणीका १५९ जना नापी अधिकृतको सरुवा गरेको छ । सरुवा सूचीमा आकर्षक मानिने कार्यालयमा कर्मचारीको अदलबदललाई प्राथमिकता दिइएको देखिन्छ ।
सरुवा सूचीअनुसार मुकेशकुमार यादवलाई ललितपुरबाट दमक, योगेन्द्रकुमार यादवलाई कलंकीबाट दमक, गोविन्दराज जोशीलाई कास्कीबाट कावासोती र जगन्नाथ जोशीलाई ललितपुरबाट कावासोती पठाइएको छ ।
त्यस्तै, लालबहादुर सलामीलाई कावासोतीबाट डिल्लीबजार, विकास सापकोटालाई कावासोतीबाट कास्की र शक्तिप्रकाश जोशीलाई बेलबारीबाट ललितपुर सरुवा गरिएको छ ।
मालदार मानिने कार्यालयमा वर्षौंदेखि कर्मचारीको आकर्षण रहँदै आएको छ । दुर्गम र कम आकर्षक कार्यालयमा कर्मचारी पठाउने विषयमा उदासीनता देखाउने तर सुगम तथा आकर्षक कार्यालयमा भने कर्मचारीको पहुँच र प्रभावका आधारमा सरुवा हुने गरेको आरोप पटकपटक उठ्ने गरेको छ ।
यसअघि नै सरुवामा आर्थिक चलखेल भएको भन्दै विवाद उत्पन्न भइसकेको अवस्थामा विभागले यसपटकको निर्णय गर्दा सरुवाको आधार, मापदण्ड र कर्मचारीको कार्यकाललाई कति प्राथमिकता दियो भन्ने प्रश्न उठेको छ ।
अघिल्लो विवादबाट पाठ नसिकेको विभागले यसपटकको सरुवामा पनि निष्पक्षता र पारदर्शिता कायम गर्न नसकेको हो कि भन्ने प्रश्न कर्मचारी वृत्तमा उठ्न थालेको छ । अझ आर्थिक लेनदेनमा नयाँ सरुवा सूची आएको धेरैको आरोप छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
































