आर्थिक अन्तरनिर्भरताको सन्दर्भमा वैदेशिक कूटनीति
वि.सं.२०८१ चैत १३ बुधवार
shares
कूटनीति भनेको राष्ट्रहरूबीचको सम्बन्ध व्यवस्थापन गर्ने विधि वा प्रक्रिया हो। यस अन्तर्गत वार्ता, सम्झौता र अन्तर्राष्ट्रिय सम्बन्धहरू कायम राख्ने कार्य पर्छ। कूटनीति मुख्य रूपमा सरकारका प्रतिनिधिहरू द्वारा सञ्चालन गरिन्छ, जसले आपसी सहकार्य, शान्ति स्थापन, व्यापार, सुरक्षा, र सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्न भूमिका खेल्छन्। कूटनीति शब्द अंग्रेजी भाषाको Diplomacy को परिवर्तित स्वरुप हो । डिप्लोमेसी शब्द ग्रीक शब्द Diploun बाट विकसित भएको हो जसको शाब्दिक अर्थ त्य मोड्नु (To Twist) अथवा पट्याउनु (To Fold) हुन्छ । इतिहास अनुसार रोमन साम्राज्यकालमा राहदानी तथा सडकमा आवागमन गर्न प्रदान गरिएका अनुमतिपत्रलाई धातुपत्रमा कुंदी त्यसलाई पट्याएर तथा विशेष किसिमबाट सिलाएर राखिन्थ्यो । यस्ता धातुपत्रमा कुंदिएका दस्तावेजहरुलाई Diploma भनिन्थ्यो । त्यस्तै विभिन्न समयमा धातुपत्रमा कुंदिएका दस्तावेजबाहेक अन्य सरकारी दस्तावेजहरु विशेष गरेर विदेशीहरुलाई प्रदान गरएिका विशेषाधिकारहरु तथा विदेशसंग गरिएका सम्झौतासंग सम्वन्धित कागजपत्रहरुलाई पनि Diploma को संज्ञा दिन थालिए अनुरुप अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरु Diploma शब्दबाट चिनिन थाले । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको संख्या बढ्न थालेपछि यसलाई सुरक्षित स्थानमा तथा व्यवस्थित रुपमा राख्नुपर्ने आवश्यकता देखिन थाल्यो । यस्ता दस्तावेजहरुको सुरक्षालगायत आवश्यक अन्य कार्यहरु सम्पादन गर्न छुट्टै कर्मचारीहरु नियुक्तिको क्रम प्रारम्भ भयो । यसपछि यी कर्मचारीहरुलाई Diplomats र उनीहरुद्वारा गरिने कार्यलाई कुटनैतिक कार्य (Diplomatic Business) भन्न थालियो ।
कूटनीतिको प्रारम्भ कहिलेदेखि भयो भन्ने कुरा स्पष्टताका साथ उल्लेख गर्नु निकै कठिन छ । एक मानव समूहको अर्को समूहसंगको परस्पर सम्पर्कको सन्दर्भबाट हेर्दा कूटनीति इतिहासभन्दा पनि पुरानो विषय हो । प्राचीन धर्मग्रन्थहरुले स्वर्ग र पृथ्वीबीच सन्देशवाहकको भूमिका निर्वाह गर्ने देवदूतलाई पहिलो राजदूतको संज्ञा दिएका छन् । ऐतिहासिक तथ्यका आधारमा मूल्यांकन गर्दा उक्त विचारलाई पूर्णतया स्वीकार गर्न नसकिए तापनि मानव सभ्यताको आदिकालदेखि नै मानव समूहबीच मतभित्रता अन्त्य गर्न वार्ताको आवश्यकता महसुस गरिएको र सो कार्यका लागि वार्ताकार नियुक्त गर्ने परिपाटि रहेको कुरा अनुमान गर्न सकिन्छ । जंगली अवस्थामै रहेको अर्थात् सभ्यताको उषाकाल प्रारम्भ हुनु अघि पनि युद्धका नियमहरु खास गरेर घाईतेहरुको उपचारको व्यवस्था भएको साथै शत्रु पक्षका सन्देशवाहकहरुलाई मृत्युदण्ड दिनु अघि कार्यसम्पादन गर्ने अवसर उपलब्ध गराइएको संकेत प्राप्त हुन्छ ।राष्ट्रहरुबीचको परस्पर सम्बन्ध अथवा अन्तर्राष्ट्रिय सन्धिसम्झौताको अर्थमा एडमण्ड बर्क ले सर्वप्रथम सन् १७९७ यो शब्दको प्रयोग गरेका थिए ।
कूटनीतिले राष्ट्रिय शक्तिका विभित्र तत्वहरुलाई गतिशील र एकीकृत बनाउंछ । राष्ट्रिय शक्तिका विभित्र तत्वहरुलाई कूटनीतिको माध्यमबाट नै वास्तविक रुपमा प्रभावकारी बनाउन सकिन्छ । यो यस्तो कला हो जसद्वारा राष्ट्रिय शक्तिका विभित्र तत्वहरुलाई राष्ट्रिय हित अनुकुल प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सकिन्छ । कूटनीति शान्ति संरक्षण, युद्ध निराकरण, मैत्री स्थापना र राष्ट्रिय हित प्रवद्र्धनको एक महत्वपूर्ण साधन हो । कूटनीतिलाई शान्तिपूर्ण रुपमा अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्ने प्रभावकारी साधनको रुपमा चिन्ने गरिन्छ ।
कूटनीतिका प्रकार:
१. पारम्परिक वा द्विपक्षीय कूटनीति (Traditional/Bilateral Diplomacy)
- दुई राष्ट्रहरूबीचको औपचारिक सम्बन्ध।
२. बहुपक्षीय कूटनीति (Multilateral Diplomacy)
- धेरै राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाहरूबीच हुने कूटनीतिक सम्बन्ध।
- उदाहरण: संयुक्त राष्ट्रसंघ (UN), विश्व व्यापार संगठन (WTO) मा आवध्दता।
३. आर्थिक कूटनीति (Economic Diplomacy)
- व्यापार, लगानी, तथा आर्थिक सहयोग प्रवर्द्धन गर्न गरिने कूटनीति।
४. सार्वजनिक कूटनीति (Public Diplomacy)
- सरकार र नागरिक समाजबीचको सम्बन्ध सुधार गर्ने कूटनीति।
५. सांस्कृतिक कूटनीति (Cultural Diplomacy)
- भाषा, संस्कृति, कला, र परम्पराका माध्यमबाट कूटनीतिक सम्बन्ध सुधार गर्ने प्रयास।
६. खेलकूटनीति (Sports Diplomacy)
- खेलकुदलाई माध्यम बनाएर दुई वा बढी राष्ट्रबीचको सम्बन्ध सुधार गर्ने प्रयास।
७. डिजिटल कूटनीति (Digital Diplomacy)
- सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट गरिने कूटनीति।
८. जलवायु कूटनीति (Climate Diplomacy)
- जलवायु परिवर्तन तथा वातावरणीय मुद्दामा राष्ट्रहरूबीचको सम्झौता र सहकार्य।
९. सैन्य कूटनीति (Military Diplomacy)
- सैनिक शक्ति, संयुक्त सैन्य अभ्यास, वा सैन्य सम्झौतामार्फत कूटनीतिक सम्बन्ध बनाउने प्रक्रिया।
१०. गुप्त कूटनीति (Secret Diplomacy)
- गोप्य रूपमा गरिने वार्तालाप वा सम्झौता।
११. जल कूटनीति (Water Diplomacy)
- जल स्रोतको उपयोग र बाँडफाँट सम्बन्धी कूटनीतिक वार्ता।
परम्परागत र आधुनिक कूटनीति
परम्परागत र आधुनिक कूटनीति बीचको मुख्य अन्तर समय, प्रविधि, र अभ्यासमा देखिन्छ। परम्परागत कूटनीति धेरै हदसम्म गोप्य र सिमित व्यक्तिहरूबीचको वार्तालापमा आधारित थियो, जबकि आधुनिक कूटनीति प्रविधि, सार्वजनिक सहभागिता, र बहुआयामिक दृष्टिकोणमा केन्द्रित छ।
परम्परागत कूटनीति (Traditional Diplomacy)
- परम्परागत कूटनीति मुख्य रूपमा सरकारका उच्च अधिकारीहरू, विशेष गरी राष्ट्रप्रमुख, परराष्ट्रमन्त्री, र राजदूतहरूबीचको प्रत्यक्ष वार्तालापमा आधारित हुन्थ्यो।
विशेषताहरू:
- द्विपक्षीय (Bilateral) केन्द्रित – दुई राष्ट्रबीचको सम्बन्धमा मात्र ध्यान दिइने।
- गोपनीयता (Secrecy) – वार्ता गोप्य रूपमा गरिन्थ्यो, नागरिकहरूलाई जानकारी कम दिइने ।
- सीमित संचार (Limited Communication) – केवल प्रत्यक्ष वार्ता वा औपचारिक पत्राचार प्रयोग गरिने।
- शक्ति केन्द्रित (Power-Centric) – मुख्य रूपमा ठूला राष्ट्रहरूले नियन्त्रण गर्ने प्रवृत्ति ।
- राजनीतिक तथा सैन्य प्रधान (Political & Military Focused) – मुख्य रूपमा युद्ध, शान्ति सम्झौता, र राजनीतिक गठबन्धनमा केन्द्रित थियो।
आधुनिक कूटनीति (Modern Diplomacy)
आधुनिक कूटनीति प्रविधि, अन्तर्राष्ट्रिय संस्थाहरू, जनसञ्चार, र बहुपक्षीय (multilateral) सम्बन्धमा केन्द्रित छ।
विशेषताहरू:
बहुपक्षीय (Multilateral) सम्बन्ध – संयुक्त राष्ट्रसंघ (UN), विश्व व्यापार संगठन (WTO), र क्षेत्रीय संगठनहरू (SAARC, EU) को भूमिका।खुला वार्ता (Transparency) – धेरैजसो कूटनीतिक छलफलहरू सार्वजनिक रूपमा गरिन्छ।डिजिटल र प्रविधि प्रयोग (Digital Diplomacy) – सामाजिक सञ्जाल, वेबसाइट, र भिडियो कन्फरेन्सिङमार्फत कूटनीति। अर्थतन्त्र केन्द्रित (Economic-Centric) – व्यापार, लगानी, र आर्थिक सहयोग प्राथमिकतामा।
सार्वजनिक कूटनीति (Public Diplomacy) – जनतासँग प्रत्यक्ष संवाद गरी देशको छवि सुधार।सांस्कृतिक, जलवायु, र मानवअधिकार कूटनीति (Cultural, Climate, & Human Rights Diplomacy) – राजनीतिक मुद्दामा मात्र विभिन्न अन्तरसम्बन्धित क्षेत्रलाई जोड्ने प्रयास।
परम्परागत र आधुनिक कूटनीतिको तुलना
|
तत्वहरू |
परम्परागत कूटनीति |
आधुनिक कूटनीति |
|
संरचना |
गोप्य र उच्च अधिकारीहरूबीच |
खुला र समावेशी |
|
संचार माध्यम |
प्रत्यक्ष वार्ता वा पत्राचार |
डिजिटल, मिडिया, भिडियो कन्फरेन्स |
|
अभ्यास गर्नेहरू |
राष्ट्रप्रमुख, परराष्ट्रमन्त्री, राजदूत |
सरकार, नागरिक समाज, प्रविधि विज्ञहरू |
|
मुद्दा |
राजनीतिक, सैन्य |
अर्थतन्त्र, जलवायु, मानवअधिकार, प्रविधि |
|
ध्यान दिइने क्षेत्र |
द्विपक्षीय सम्बन्ध |
बहुपक्षीय सम्बन्ध |
|
समावेशिता |
सीमित व्यक्ति र सरकार |
जनता, संचारमाध्यम, निजी क्षेत्र पनि संलग्न |
|
सम्झौताका प्रक्रिया |
लामो समय लाग्ने |
छरितो, प्रविधि प्रयोग गरेर छिटो हुने |
सफल कूटनीतिका आधारभूत नियमहरु
१. कूटनीति जीवन मरण (धर्म/ युद्ध) को भावनाबाट अलग हुनु पर्दछ ।
२. विदेशनीतिका उद्देश्यहरुको परिभाषा राष्ट्रिय हितको अर्थमा गरी यसलाई यथेष्ट शक्तिद्वारा पोषण गरिनु पर्दछ ।
३. कूटनीतिले राजनीतिक परिदृश्यलाई अर्काे राष्ट्रको दृष्टिकोणबाट पनि हेर्नु पर्दछ ।
४. आधारभूत हितसंग असन्वन्धित कुराहरुमा राष्ट्रहरु सम्झौताको लागि इच्छुक हुनु पर्दछ ।
कूटनीति (Diplomacy) र विदेश नीति (Foreign Policy)
कूटनीति र विदेश नीति एक आपसमा गहिरो रूपमा सम्बन्धित छन्, तर यी दुई फरक अवधारणा हुन्। विदेश नीति कुनै देशको अन्तर्राष्ट्रिय सम्बन्धको व्यापक रणनीति हो भने कूटनीति त्यो नीति कार्यान्वयन गर्ने प्रक्रिया वा उपाय हो।
- विदेश नीति कुनै देशको निश्चित रणनीति हो, जसले अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्छ।
- कूटनीति भनेको त्यो विदेश नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने कला हो।
- विदेश नीति स्थायी हुन्छ, जबकि कूटनीति परिस्थिति अनुसार परिवर्तनशील हुन्छ।
कूटनीति भनेको विदेश नीतिलाई कार्यान्वयन गर्ने प्रक्रिया हो। यो सरकारका प्रतिनिधिहरूद्वारा सञ्चालन गरिन्छ र वार्ता, सम्झौता, तथा अन्य कूटनीतिक माध्यमबाट विदेश नीतिलाई व्यवहारमा रूपान्तरण गरिन्छ।यसका विशेषताहरू:
वार्ता (Negotiation) केन्द्रित – समस्या समाधान गर्न र समझदारी बनाउन द्विपक्षीय वा बहुपक्षीय वार्ता।लचिलोपन (Flexibility) – समयअनुसार समायोजन गर्न सकिने। व्यावहारिक कार्यान्वयन (Practical Implementation) – विदेश नीति अनुरूप काम गर्ने रणनीति।गोपनीयता (Secrecy) वा पारदर्शिता (Transparency) – परिस्थिति अनुसार खुला वा गोप्य छलफल गर्न सकिने।
विदेश नीति भनेको कुनै राष्ट्रले अन्य राष्ट्रहरूसँगको सम्बन्धलाई निर्देश गर्ने दीर्घकालीन रणनीति वा मार्गदर्शन हो। यसले देशको राष्ट्रिय हित, भूराजनीतिक अवस्थिति, आर्थिक प्राथमिकता, र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापनलाई परिभाषित गर्छ।
यसका विशेषताहरू:
राष्ट्रिय हित (National Interest) केन्द्रित – देशको सुरक्षा, आर्थिक विकास, र कूटनीतिक सम्बन्ध सुनिश्चित गर्ने नीति। दीर्घकालीन रणनीति (Long-Term Strategy) – स्थायी नीति, जुन परिवर्तनशील भए पनि मूल उद्देश्य स्थिर रहन्छ।वैधानिक तथा औपचारिक (Legal & Official) – सरकारद्वारा परिभाषित नीति, जसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देश गर्छ।बहुआयामिक (Multidimensional) – राजनीतिक, आर्थिक, सैन्य, सांस्कृतिक, र पर्यावरणीय विषयहरू समेट्ने।
विदेश नीति र कूटनीतिबीचका अन्तर
|
तत्वहरू |
विदेश नीति |
कूटनीति |
|
परिभाषा |
अन्तर्राष्ट्रिय सम्बन्धका लागि दीर्घकालीन रणनीति |
विदेश नीतिलाई कार्यान्वयन गर्ने प्रक्रिया |
|
लक्ष्य |
राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन |
विदेश नीति सफल बनाउन वार्ता, सम्झौता, र अन्य उपायहरू प्रयोग गर्नु |
|
समयसीमा |
दीर्घकालीन नीति |
छोटो वा दीर्घकालीन कूटनीतिक कार्यहरू |
|
कार्यान्वयन गर्ने निकाय |
सरकार, राष्ट्रप्रमुख, संसद् |
परराष्ट्र मन्त्रालय, राजदूत, कूटनीतिज्ञहरू |
|
नयाँ परिस्थिति अनुसार परिमार्जन |
परिवर्तन गर्न समय लाग्छ |
परिवेश अनुसार तुरुन्तै परिमार्जन गर्न सकिन्छ |
आर्थिक कूटनीतिको अवधारणा
विश्वव्यापीकरणले विश्व एक साझा ग्रामको रूपमा परिणत भएको छ ।, पुँजी, प्रविधि, विचार, श्रम, वस्तु, सेवा, स्रोतसाधन, व्यापार, लगानी र संस्कृतिको स्वतन्त्र र निर्बाध प्रवाहले विश्व साझा सञ्जालमा आवध्द भएको छ। सूचना प्रविधिको विकास, यातायात तथा सञ्चारको विकासले मुलुकहरूको भौगोलिक सीमा सीमित भएको मात्र होइनकि देशहरू बिचको पारस्परिकता, अन्तरनिर्भरता र अन्तरसम्बन्धको विकासले परम्परागत सम्बन्धमा समेत परिवर्तन आएको अवस्था छ । यसै सन्दर्भमा आर्थिक कूटनीतिको अवधारणाको प्राधान्यता बढ्दै गएको छ ।
आर्थिक कूटनीति देश विशेषको आर्थिक विकास र यसका अन्तरसम्बन्धित विषयहरुलाई मजवूत वनाउनका लागि अन्य मुलुक¸ संगठन तथा विविध पक्षहरु लगायतसँग गरिने औपचारिक तथा अनौपचारिक माध्यम हो । देश विशेषको तुलनात्मक लाभको अवस्थाको आधारमा आर्थिक कूटनीति सञ्चालन हुने गर्दछ ।
यसमा देशमा उपलब्ध स्रोत–साधनहरूको पहिचान र उपयोग, उत्पादन र वितरण, आयात र निर्यात तथा त्यसले अर्थतन्त्रमा पुर्याउने योगदान आदिलाई मध्यनजर गरी प्रस्तुत गरिने रणनीतिक योजना तयार गरि तदनुरुप सहकार्य गर्ने गरिन्छ ।
आर्थिक उपकरणका माध्यमबाट वैदेशिक नीतिको कार्यान्वयन गर्ने र वैदेशिक नीति तथा सम्वन्धको प्रभावकारी उपयोग गरी आर्थिक विकास, व्यापार बृद्धि, लगानी तथा पूँजी बृद्धि गर्ने , सहायता प्राप्त गर्ने,आर्थिक अवसरको सिर्जना गर्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विकाससँग सम्बन्धित संगठनसँग सक्रिय रूपले आबद्ध भई मुलुकको आर्थिक हितलाई प्रवर्ध्दन गर्ने रणनीति यसमा रहेको हुन्छ ।
परम्परागत कुटनीति र आर्थिक कुटनीति
परम्परागत कूटनीति) र आर्थिक कूटनीति बीच महत्त्वपूर्ण भिन्नताहरू छन्। यी दुवै राष्ट्रको परराष्ट्र नीतिका अभिन्न अंग भए पनि तिनको उद्देश्य, कार्यक्षेत्र, तथा प्राथमिकतामा स्पष्ट अन्तर छ।
परम्परागत कूटनीति राष्ट्रहरूबीचको सम्बन्ध व्यवस्थापन गर्ने माध्यम हो, जसको मुख्य उद्देश्य शान्ति, सुरक्षा, राजनीतिक स्थायित्व, तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नु हो। आर्थिक कूटनीति भनेको व्यापार, लगानी, पर्यटन, र आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रयोग गर्ने नीति हो। यसको मुख्य उद्देश्य आर्थिक समृद्धि, रोजगार सिर्जना, तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्नु हो।
- मुख्य क्षेत्र (Scope)
- परम्परागत कूटनीति:
- द्विपक्षीय र बहुपक्षीय सम्बन्ध
- राजनीतिक वार्ता तथा सम्झौता
- सुरक्षा तथा सामरिक रणनीति
- युद्ध र शान्ति प्रक्रिया
- सांस्कृतिक तथा सामाजिक सम्बन्ध
- आर्थिक कूटनीति:
- विदेशी लगानी (FDI) प्रवर्द्धन
- अन्तर्राष्ट्रिय व्यापार विस्तार
- पर्यटक तथा वैदेशिक रोजगार प्रवर्द्धन
- ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्य
- प्रविधि हस्तान्तरण तथा वित्तीय सहयोग
- प्राथमिकता (Focus)
- परम्परागत कूटनीति:
- देशको सार्वभौमिकता, सुरक्षा, तथा भूराजनीतिक सन्तुलन कायम राख्ने।
- सैनिक, राजनीतिक, तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने।
- अन्तर्राष्ट्रिय कानून तथा सन्धिहरूको पालना गर्ने।
- आर्थिक कूटनीति:
- वैदेशिक व्यापार तथा लगानी भित्र्याउने।
- रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक समृद्धि हासिल गर्ने।
- अन्तर्राष्ट्रिय आर्थिक साझेदारीहरूलाई प्रवर्द्धन गर्ने।
- कार्यान्वयन (Implementation)
- परम्परागत कूटनीति:
- सरकारी निकायहरू (परराष्ट्र मन्त्रालय, दूतावास, कूटनीतिक अधिकारीहरू)।
- अन्तर्राष्ट्रिय सम्मेलन तथा द्विपक्षीय वार्ता।
- अन्तर्राष्ट्रिय कानुनी सम्झौता तथा संधिहरू।
- आर्थिक कूटनीति:
- व्यापार तथा लगानी प्रवर्द्धन बोर्ड, वाणिज्य मन्त्रालय, उद्योग मन्त्रालय।
- अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरू।
- व्यावसायिक साझेदारी, व्यापार प्रवर्द्धन, तथा आर्थिक सम्झौताहरू।
- लगानी सम्मेलनहरू
आर्थिक अन्तरनिर्भरता र वैदेशिक कूटनीति
आधुनिक विश्वव्यवस्थामा आर्थिक अन्तरनिर्भरता (Economic Interdependence) र वैदेशिक कूटनीति (Foreign Diplomacy) एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। आर्थिक अन्तरनिर्भरता भन्नाले दुई वा बढी राष्ट्रहरूबीचको व्यापार, लगानी, उत्पादन प्रणाली, श्रम आप्रवाह, तथा वित्तीय प्रणालीको आपसी निर्भरतालाई जनाउँछ।कुनै पनि देशको आर्थिक विकास र स्थिरता अब केवल आन्तरिक नीतिहरूमै निर्भर छैन, बरु अन्तर्राष्ट्रिय व्यापार, लगानी, प्रविधि स्थानान्तरण, तथा श्रम आप्रवाह जस्ता विषयहरूमा निर्भर रहन्छ। अर्थतन्त्रमा अन्तरनिर्भरता बढ्दै जाँदा देशहरूले द्विपक्षीय र बहुपक्षीय कूटनीतिक सम्बन्धलाई सशक्त बनाउनुपर्ने आवश्यकता पर्छ। जब देशहरू आर्थिक रूपमा एकअर्कासँग निर्भर रहन्छन्, उनीहरूबीचको कूटनीतिक सम्बन्ध पनि मजबुत राख्न आवश्यक हुन्छ। आर्थिक अन्तरनिर्भरता बढ्दै जाँदा देशहरूले व्यापार, लगानी, भन्सार नीतिहरू, तथा आपसी सहकार्य गर्नुपर्ने हुन्छ। यसका विशेषताहरू:वैदेशिक व्यापारमा वृद्धि – कुनै पनि राष्ट्र पूर्ण रूपमा आत्मनिर्भर हुन नसक्ने हुँदा अन्तर्राष्ट्रिय व्यापार अपरिहार्य हुन्छ।अन्तर्राष्ट्रिय लगानीको प्रभाव – विदेशी लगानी (FDI) को माध्यमबाट मुलुकहरूले आर्थिक वृद्धि गर्न सक्छन्। वैश्विक आपूर्ति शृंखला (Global Supply Chain) – उत्पादनका विभिन्न चरणहरू विभिन्न देशहरूमा रहने भएकाले अन्तरनिर्भरता बढ्छ।मुद्रा तथा वित्तीय बजारमा परस्पर प्रभाव – एक देशको आर्थिक संकटले (जस्तै, 2008 र अन्य अवस्था को वित्तीय संकट) अन्य देशहरूलाई पनि असर गर्छ।
आपसी सहकार्यका विधिहरु
- द्विपक्षीय (Bilateral) आर्थिक कूटनीतिको अवलम्बन जसमा दुई राष्ट्रबीच व्यापार सम्झौता, लगानी प्रवर्द्धन, तथा आर्थिक साझेदारीका लागि कूटनीतिक अभ्यास।
- व्यापार तथा पारवहन सम्झौता
- लगानी प्रवर्द्धन कार्यक्रम
- बहुपक्षीय आर्थिक कूटनीति परिचालन जसमा विभिन्न राष्ट्रहरू वा अन्तर्राष्ट्रिय संस्थाहरू (जस्तै WTO, IMF, WB, BIMSTEC, SAARC) बीचक आर्थिक सहकार्य गरिन्छ ।आर्थिक कुटनीतिका लागि तुलनात्मक लाभको सिद्धान्त
तुलनात्मक लाभको सिद्धान्त अर्थशास्त्रको एक महत्वपूर्ण सिद्धान्त हो, जसलाई डेभिड रिकार्डो (David Ricardo) ले सन् १८१७ मा प्रतिपादन गरेका थिए। कुनै पनि राष्ट्र वा व्यक्ति, यदि उसले अन्य राष्ट्र वा व्यक्तिको तुलनामा कम अवसर लागतमा (Lower Opportunity Cost) कुनै वस्तु वा सेवा उत्पादन गर्न सक्छ भने, उसले सोही वस्तु वा सेवामा विशेषज्ञता हासिल गरेर व्यापार गर्नुपर्छ।
तुलनात्मक लाभ सिद्धान्तको महत्त्व
- यो अन्तर्राष्ट्रिय व्यापारको आधार हो । यस सिद्धान्तका आधारमा नै देशहरूले व्यापार नीति निर्धारण गर्छन्। WTO, IMF, र अन्य अन्तर्राष्ट्रिय व्यापार संगठनहरूले तुलनात्मक लाभको अवधारणालाई समर्थन गर्छन्।
- यसमा उत्पादन दक्षता वृद्धिमा ध्यान दिइन्छ । प्रत्येक देश वा कम्पनीले आफूलाई सबभन्दा फाइदा हुने क्षेत्रमा ध्यान केन्द्रित गर्न सक्छ।यसले उत्पादन लागत घटाउँछ र दक्षता बढाउँछ।
- व्यापार गर्दा सबै देशहरू लाभान्वित हुन्छन् किनभने उनीहरूले आफ्नो तुलनात्मक लाभ भएका क्षेत्रमा विशेषज्ञता प्राप्त गर्छन्।
- विश्वव्यापी आपूर्ति शृंखला (Global Supply Chain) को आधार ।
- विभिन्न देशहरूले तुलनात्मक लाभका आधारमा उत्पादन प्रणाली र अनुकुल Global Supply Chain निर्माण गर्न सक्दछन्।
नेपालका तुलनात्मक लाभका क्षेत्रहरू
जलविद्युत (Hydropower)
- नेपालमा लगभग ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ, जसमा ४२,००० मेगावाट व्यावसायिक रूपमा उपयोग गर्न सकिने सम्भावना छ।
- भारत, बङ्गलादेश, र चीनलाई विद्युत निर्यात गर्ने ठूलो सम्भावना छ।
- तुलनात्मक रूपमा नेपालको जलविद्युत् उत्पादन लागत कम छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँछ।
पर्यटन तथा आतिथ्य सेवा (Tourism & Hospitality)
- नेपालमा सगरमाथा, अन्य धेरै हिमश्रृंखलाहरु, लुम्बिनी, पाल्पा रानीमहल, चितवन लगायत अनेकौं प्रसिद्ध पर्यटकीय स्थलहरू छन्।
- साहसिक पर्यटन (Adventure Tourism), धार्मिक पर्यटन (Religious Tourism), र प्रकृति पर्यटन (Eco-Tourism) को ठूलो सम्भावना छ।
- तुलनात्मक रूपमा नेपालका पर्यटन प्याकेजहरू अन्य मुलुकहरूभन्दा सस्ता छन्, जसले विदेशी पर्यटक आकर्षित गर्न मद्दत गर्छ। होटल तथा आतिथ्य व्यवसायमा स्थानीय संस्कृतिमा आधारित सेवा विशेष आकर्षणको रूपमा विकास गर्न सकिन्छ।
कृषि तथा जैविक उत्पादन (Organic Farming & Herbal Products)
- नेपालको माटो तथा हावापानी जैविक उत्पादनका लागि उपयुक्त छ।
- नेपालका कृषि उत्पादनहरू विषादीरहित हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बेच्न सकिन्छ।
- अलैँची, चिया, अदुवा, जडीबुटी, कफी, तथा मह निर्यातको सम्भावना धेरै छ।
- चीन, भारत, युरोप, अमेरिका जस्ता मुलुकहरूमा नेपाली जैविक उत्पादनहरूलाई उच्च माग छ।
सूचना प्रविधि (IT)
- नेपालमा सस्तो र दक्ष सूचना प्रविधिका जनशक्ति उपलब्ध छन्।
- नेपालमा तुलनात्मक रूपमा सूचना प्रविधिका सेवाहरूको उत्पादन लागत कम छ, जसले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई आकर्षित गर्छ।
- सूचना प्रविधिको आउटसोर्सिङ, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, BPO (Business Process Outsourcing), र फ्रीलान्सिङ सेवाहरूमा नेपालले तुलनात्मक लाभ पाउन सक्छ।
- विभिन्न मुलुकहरूमा नेपालका सूचना प्रविधिका सेवा निर्यात गर्न सकिन्छ।
वस्त्र तथा हस्तकला (Garments & Handicrafts)
- नेपाली हस्तकला जस्तै पश्मीना, ढाका, लोकल कपडा, ढुंगा तथा काठका कलाकृति, धातुका मूर्तिहरू, र थाङ्का चित्रकला को ठूलो अन्तर्राष्ट्रिय माग छ।
- तुलनात्मक रूपमा नेपाली हस्तकला उत्पादनमा लागत कम छ, यसका उत्पादनहरू उच्च मूल्यमा बिक्री गर्न सकिन्छ।
- अमेरिका, युरोप, जापान, चीन, भारत लगायत अन्य देशहरु मा नेपाली हस्तकला सामग्री लोकप्रिय छन्।
- कपडा तथा रेडिमेड गार्मेन्ट्स (Garment Industry) मा नेपालले विश्वमा प्रतिस्पर्धा गर्न सक्छ।
शिक्षा तथा ज्ञान निर्यात (Education & Skill-Based Services)
- तुलनात्मक रूपमा नेपालमा सस्तो र गुणस्तरीय शिक्षा सेवा प्रदान गर्न सक्ने सम्भावना छ।
- विदेशी विद्यार्थीहरूका लागि नेपाल MBBS, BBA, IT, Ayurveda, Buddhist Studies, योग तथा ध्यान जस्ता विषयहरूमा अध्ययनका लागि उपयुक्त गन्तव्य हुन सक्छ।
- भारत, चीन, भुटान, अफ्रिकी तथा मध्य एसियाली मुलुकहरूबाट विद्यार्थी आकर्षित गर्न सकिन्छ।
वैदेशिक रोजगारी तथा श्रम बजार (Foreign Employment & Remittances)
- नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा रहेको छ।
- तुलनात्मक रूपमा नेपालको श्रमशक्ति सस्तो भए पनि दक्ष जनशक्ति पनि वृद्धि भइरहेको छ।
- मलेसिया, मध्यपूर्व, दक्षिण कोरिया, जापान, युरोप, र अमेरिका जस्ता देशहरूमा नेपाली श्रमिकहरूको माग छ।
- विशेष गरी निर्माण, कृषि, होटल तथा आतिथ्य सेवा, र अन्य सेवाको रूपमा नेपाली श्रमिकहरू प्रतिस्पर्धी छन्।
खनिज तथा जडिबुटी निर्यात (Minerals & Medicinal Herbs)
- नेपालमा सिमेन्ट, चुनढुङ्गा, तामा, फलाम, ग्यास, र पत्थरको ठूलो भण्डार छ।तुलनात्मक रूपमा यी खनिज पदार्थहरूको उत्खनन लागत कम गरेर नेपालले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ।
- जडिबुटी (Herbal Medicine) को क्षेत्रमा नेपालमा यार्सागुम्बा, सतुवा, सर्पगन्धा, जटामसी, चिराइतो जस्ता औषधीय गुण भएका उत्पादनहरू विश्व बजारमा आकर्षक छन्।
एभिएसन हब (Aviation Hub)
- नेपाललाई भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरू बीचको रणनीतिक स्थान प्राप्त छ।
- नेपाललाई एयर ट्रान्जिट हबका रूपमा विकास गर्न सक्ने सम्भावना छ।पर्यटन वृद्धि र अन्तर्राष्ट्रिय उडानहरूको सहजताका लागि नेपालले ट्रान्जिट हबको रूपमा आफ्नो तुलनात्मक लाभ प्रयोग गर्न सक्छ।
धार्मिक र सांस्कृतिक विशिष्टता (Rich in Religious and Culture)
नेपाललाई बुद्धको जन्मभूमि, सगरमाथाको देश, पशुपतिनाथको भूमि र जानकी (सीता) को जन्मस्थल भनेर चिनिन्छ। यी प्रमुख चिनारीहरूले नेपाललाई धार्मिक र सांस्कृतिक विशिष्टता नेपालमा रहेको छ ।
आर्थिक कूटनीतिको प्रभावकारितामा कूटनीतिज्ञहरूको भूमिका
वैदेशिक व्यापार प्रवर्द्धन
- निर्यात वृद्धि गर्ने नीतिहरू तयार गर्न सहयोग गर्ने
- विदेशी लगानी आकर्षित गर्न व्यापारिक सम्झौता (FTA, PTA) पहल गर्ने
- स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने वातावरण बनाउने
प्रत्यक्ष विदेशी लगानी प्रवर्द्धन
- विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्ने
- लगानीमैत्री वातावरण निर्माणका लागि नीति निर्मातासँग समन्वय गर्ने
- लगानीसम्बन्धी समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने
पर्यटन प्रवर्द्धन
- अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रचार गर्ने
- नेपाल भ्रमणको अवसरहरूबारे जानकारी दिनेसहित ब्रान्डिङ गर्ने
- पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी बनाउने पहल गर्ने
आर्थिक साझेदारी र सहयोग
- द्विपक्षीय तथा बहुपक्षीय आर्थिक सहायताका लागि वार्ता गर्ने
- अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वय गरी परियोजना अनुदान तथा ऋण व्यवस्थापन गर्ने
- विकास साझेदारहरूलाई नेपालको प्राथमिकताहरू अनुरूप सहकार्य गर्न उत्प्रेरित गर्ने
व्यापारिक विवाद समाधान
- अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी विवाद समाधान गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने
- नेपाललाई व्यापारिक अप्ठ्यारा पार्ने नीतिहरूमा लचकता ल्याउने पहल गर्ने
- विश्व व्यापार संगठन (WTO) तथा अन्य अन्तर्राष्ट्रिय निकायमार्फत नेपालको हकहित सुनिश्चित गर्ने
आप्रवासन र रेमिटेन्स व्यवस्थापन
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै रेमिटेन्स प्रवाहलाई प्रभावकारी बनाउने
- आप्रवासी श्रमिकहरूको अधिकार सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग वार्ता गर्ने
- दक्ष जनशक्ति निर्यातका लागि नयाँ अवसर पहिचान गर्ने
रणनीतिक परियोजनाहरूमा अन्तर्राष्ट्रिय लगानी
- पूर्वाधार निर्माणका लागि विदेशी लगानीको सुनिश्चितता गर्ने
- उर्जालगायतका महत्त्वपूर्ण क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने
- नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन दीर्घकालीन रणनीति तयार पार्ने
बहुपक्षीय आर्थिक संस्थाहरूसँग समन्वय
- IMF, World Bank, ADB जस्ता संस्थाहरूसँगको सहकार्य वृध्दि गरि आर्थिक कार्यक्रमहरू सञ्चालनको वातावरण तयार गर्ने
- अन्तर्राष्ट्रिय आर्थिक नीति र व्यापार संरचनामा नेपालको सहभागिता सुनिश्चित गर्ने
- अनुदान, ऋण तथा प्रविधि हस्तान्तरणमा सकारात्मक पहल गर्ने
नेपालको ब्रान्डिङ र राष्ट्रिय छवि प्रवर्द्धन
- नेपाललाई लगानी, पर्यटन र व्यापारका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने
- अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई उदाउँदो आर्थिक शक्ति बनाउने रणनीति अवलम्बन गर्ने
- नेपाललाई हरित अर्थतन्त्र, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्ने देशका रूपमा प्रस्तुत गर्ने
आर्थिक कूटनीति एक महत्वपूर्ण कूटनीतिक अभ्यास हो, जसले राष्ट्रको आर्थिक हित प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सम्बन्धहरूको उपयोग गर्छ। यसको प्रभावकारिता कूटनीतिज्ञहरूको कुशलता, नीति निर्माण क्षमता, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध व्यवस्थापन, र अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य बुझ्न सक्ने क्षमतामा निर्भर गर्दछ।आर्थिक कूटनीतिको प्रभावकारिता सुनिश्चित गर्न कूटनीतिज्ञहरूले नेपालका आर्थिक लक्ष्यहरू बुझी अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई त्यसअनुसार उपयोग गर्नुपर्छ। समन्वयकारी, नीतिगत र रणनीतिक दृष्टिकोण अपनाएर आर्थिक कूटनीतिको प्रभावकारिता बढाउन सकिन्छ।
(डा. दामोदर रेग्मी नेपाल सरकारका पूर्व सचिव, प्रशासनविद तथा वरिष्ठ गीतकार हुन्)
























