दुग्ध उत्पादन, वितरण र मुल्य स्थिरतामा देखिएका चुनौतीहरु, जसलाई राज्यले सम्बोधन गर्न आवश्यक छ
वि.सं.२०८१ चैत २५ सोमवार
shares
दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपुर्ण हिस्सा हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । लाखौ किसानहरु दुग्ध व्यवसायमा संलग्न छन भने हजारौले रोजगार पाएका छन् । कृषि उत्पादनको रुपमा नेपालमा हाल करिब ५५ लाख ६६ हजार ६१४ मेट्रिक टन (कृषि तथा पशुपन्क्षी डायरी, २०८०) दूध उत्पादन हुने र त्यसको ठुलो अंश औपचारिक क्षेत्रमा नआई अनौपचारिक रुपमै खपत हुने गरेको अनुमान छ । कृषिको योगदानमा दूध क्षेत्रको मात्रै करिब ९ देखि १० प्रतिशतसम्म योगदान रहँदै आएको तथ्य प्राप्त गर्न सकिन्छ । डेरी उद्योगमा मात्र करिब ३५ देखि ४० हजारसम्म प्रत्यक्ष रोजगारी रहेको र दुग्ध उत्पादन किसान र उनीहरुका फर्ममा करिब ५ देखि ७ लाख रोजगार रहेको अनुमान छ । अनौपचारीक रोजगारीमा समेत यस क्षेत्रले धेरै योगदान गरेको पाईन्छ ।
थाक्रे गाउँपालिका वडा नं ९ का गणेशमान डंगोल र वडा नं ८ का राजन लामिछानेले लामो समयदेखि दुग्ध व्यवसाय गर्दै आएका छन् ।
थाक्रे गाउँपालिकामा यस व्यवसायमा संलग्न अन्य किसानहरु पनी छन् । एउटा डेरीले करीब ५०÷६० जनालाई रोजगारी दिएको छ । उनीहरुको नियमित आम्दानीको श्रोत बनाईदिएको छ । डेरीहरुले दुध प्रशोधन गरी पनिर उत्पादन गरीरहेका छन् । ५÷६ वटा डेरीबाट लगभग ४०० देखि ५०० किसानहरु लाभान्वित छन् ।
किसानहरुको दुध विक्रि गर्ने केन्द्रको रुपमा यी डेरीहरु स्थापित भएका छन् । निकै मेहनतका साथ दुध प्रशोधन गरी पनिर बनाउँछन र स्थानीय बजार काठमाडौँमा सप्लाई गर्छन । उनीहरुको व्यवसायमा आधुनिक प्रविधिहरुलाई जोड दिन सकियो भने थोरै लागतमा उत्पादन गर्न सक्छन र बजारसंग प्रतिस्पर्धा गर्न सक्छन । दुध तताउन दाउराको प्रयोग गरीरहेका छन् यसको बदलामा दुध तताउने,कृम निकाल्ने, फ्याट नाप्ने विद्युतिय मेशिन लगायत प्रशोधनका सामग्रीहरुको सहयोग पाउन सके भने धुँवाबाट बचेर सहज तरिकाबाट दुध प्रशोधन गर्न सक्छन । तर उनीहरुको उद्यममा राज्यको आँखा पर्न सकेको छैन । उनीहरुले राज्यबाट कुनै किसिमको सहुलियत पाउन सकेका छैनन् ।

थाक्रे गाउँपालिका वडा नं ८ का राजन लामिछानेले विगत ७ वर्षदेखि लामिछाने गाई तथा दुध डेरी संस्था स्थापना गरी दुग्ध व्यवसाय गर्दै आएका छन् । राजनले १३ वटा गाई र भैँसी पालेका छन् । पशु बिमा आफैले गरेका छन् । संकलन भएको दुध विक्रि नगरी सबै दुधको पनिर बनाएर विक्रि गर्छन । अहिले प्रतिकेजी ६०० का दरले पनिर विक्रि गरिरहेका छन् । राजनले कही कतैबाट सहयोग पाएका छैनन् । कटिङ मेशिन, दुध तताउने भाडो आवश्यक छ । दुधको फ्याट निकाल्ने मेशिनलाई एक देखि डेड लाख रुपैया पर्छ । उक्त मेशिन बिग्रदा लाख रुपैया घाटा लाग्ने बताए । राज्यले यस्ता मेशिनहरु खरीद गर्न सहयोग गरेमा निकै राहत हुने बताए । वडा, पालिकातिर केही सहुलियत व्यवस्था भए, तालिम कार्यक्रमहरु भए हामीलाई सहभागी गराउनुहोला भनी निर्वाचित प्रतिनिधिहरुलाई भनेका छन् तर निर्वाचित प्रतिनिधिहरुले त्यति चासो नलिने गरेको बताए । केही सहयोग मिल्छ की भनी पहिला पहिला पालिका, जिल्ला तिर गएर धेरै कोसिस गरे तर सहयोग पाउन सकेनन् अहिले कहि कतै जान छोड्दिएको बताए । सहयोग गर्ने कोही कुनै निकाय नभएको कारण आफ्नै पौरखले व्यवसाय धान्दै आएको बताए । आफ्नो व्यवसायमा केही राहत मिल्यो भने किसानलाई पनी राहत दिन सकिने र गाईवस्तुलाई आवश्यक पर्ने क्याल्सियम लगायतका औषधिहरु पाउन सकियो भने किसानलाई उपलब्ध गराउन सकिने उनले बताए ।
त्यस्तै अर्का व्यवसायी थाक्रे गाउँपालिका वडा नं ९ पण्डितपौवाका गणेशमान डंगोलले डंगोल कृषि फर्म मार्फत विगत चार वर्षदेखि सुवर्ण दुध डेरी सञ्चालन गर्दै आएका छन् । उनको डेरीमा पौष माघमा दैनिक ५÷६ सय लिटर दुध संकलन हुन्छ भने अहिले ३÷४ सय लिटर दुध संकलन गरेर दुध,दही,ध्यू,पनिर विक्रि गर्दै आएका छन् । उनले डिडिसिमा दुध विक्रि गर्दै आएका छन् तर दुध,पनिरको निश्चित मुल्य नहुदा, मनोमानी मुल्यमा दुध विक्रि गर्नुपरेको, विक्रि गरेको दुधको रकम पनि ढिला भुक्तानी हुने हुँदा डेरी चलाउन पनी मुश्किल परीराखेका बताए । दुध व्यवसायीहरुले सस्तो मुल्यमा विक्रि गर्नुपर्ने विचमा विचौलियाहरुले फाईदा लिने तर उपभोक्ताहरुले बढी मुल्य तिरेर खरीद गनुपर्ने अवस्था रहेको बताए ।
दुध प्रशोधन गर्न , पनिर बनाउन नयाँ नयाँ विद्युतिय प्रविधिहरु आएका छन् ति प्रविधिहरुलाई व्यवसायमा भित्र्याउन सकेका छैनन् । कहि कतै बाट सहुलियत मिल्न सकेमा आधुनिक उपकरण मार्फत सहज तरिकाबाट व्यवसाय अगाढी बढाउन सकिने बताएका छन् । स्थानीय सरकारले प्रत्येक दुध किसानलाई राहत उपलब्ध गराउने भनेता पनी कुरा मात्र गर्यो तर कार्यान्वयन नगरेको, दुग्ध व्यवसाय प्रति चासो नदेखाएको उनले बताए ।
थाक्रेका सामाजिक विकासका अभियान्ता गोकर्ण रुपाखेतीका अनुसार “स्थानीय प्रविधिद्धारा संकटपुर्ण ढंगबाट दुध प्रशोधन गरीरहेका ति उद्यमीहरुलाई सरकारको तर्फबाट प्रविधिसंग जोड दिने र प्रशोधनका लागि आवश्यक सामग्रीहरुको प्रबन्ध गराउन सके उनीहरुले दुध धेरै संकलन गर्न सक्छन् ।
छिटो छरितो ढंगबाट प्रशोधन गर्न सक्छन । बजारसंग प्रतिस्पर्धा गर्न सक्ने र त्यसबाट अझ धेरै किसानहरुले लाभ लिन सक्ने बताए । एक जना किसानले दिनमा चार पाच सय देखि हजार सम्म लाभ लिन सकिरहेको अवस्थामा दुग्ध व्यवसायको प्रवद्र्धन र बजारीकरणको लागि राज्यको ध्यान पुग्न पर्ने बताए ।”
पशुखाद्य महंगो हुँदा गाईभैसीलाई खुवाउने दाना,भुषा, घास आदिको मुल्य दिनानुदिन वढिरहेको छ । यसले उत्पादन लागत वढाउँछ । स्वास्थ्य सेवा र प्राविधिक सहयोगको कमीको कारण पशु चिकित्सक, बीमा सुविधा र समयमै उपचार नपाउँदा पशु मर्ने वा बिरामी हुने सम्भावना वढी हुन्छ । सरकारले दुग्ध व्यवसायलाई त्यति प्राथमिकतामा राखेको देखिदैन जसले गर्दा अनुदान, बिमा, तालिम आदि पर्याप्त रुपमा पुग्न सकेको छैन । भण्डारण र प्रशोधन सुविधाको अभाव छ । ग्रामिण क्षेत्रमा चिस्यान केन्द्र, प्रशोधन प्लान्ट जस्ता पुर्वाधार निर्माण हुन सकेका छैनन् । यी विविध कारण दुध उत्पादन गर्ने किसानहरुले समस्या भोगिरहेका छन् ।
मानव जिवनका लागि दुध महत्वपुर्ण पदार्थ हो । दुधबाट शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइड्रेट, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाईन्छ । दुध शरीरको लागि अत्यन्त लाभदायी पोषक पदार्थ हो । दुग्ध उत्पादन, वितरण र मुल्य स्थिरतामा देखिएका चुनौतीहरु जसलाई राज्यले सम्बोधन गर्न आवश्यक छ । अर्कोतर्फ पशुपालनका कारणले प्राङगारीक मल उत्पादन र प्रयोगबाट व्यवसायीक तरकारी खेती,खाद्यान्न उत्पादनमा समेत महत्वपुर्ण योगदान पुग्ने भएकोले सरकारले यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ ।

























