पत्रकार बस्नेतमाथि दुर्व्यवहार, धम्कीप्रति महासंघको भर्त्सना
वि.सं.२०८२ असार ५ बिहीवार
shares
काठमाडौँ। तामाकोशी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व कोषाध्यक्ष पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा.लि.मा कार्यरत लिला थापाद्वारा सार्वजनिक रूपमा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार यो घटना व्यक्तिगत असहिष्णुता वा सिङ्गो रीसको परिणाम मात्रै नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला हो। यस घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर प्रहार गरेको ठहर गर्दै महासंघले दोषीलाई कारबाहीको माग गरेको छ।
प्राप्त जानकारीअनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला थापाले सार्वजनिक रूपमा अश्लील शब्द प्रयोग गर्दै गम्भीर किसिमको ज्यान मार्ने धम्की दिएका थिए। महासंघले यस्ता अभद्र व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको जनाएको छ।
महासंघ काठमाडौँ शाखाले यस्ता अमानवीय तथा आपराधिक क्रियाकलापप्रति गम्भीर आपत्ति जनाउँदै स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतान्त्रिक समाजको आधारभूत अङ्ग भएको स्मरण गराएको छ। यस्ता घटनाले पत्रकारहरूलाई डर, त्रास र असुरक्षा महसुस गराउने भएकाले कुनै पनि हालतमा स्वीकार्य नहुने बताइएको छ।
महासंघले दोषीमाथि तत्काल अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारहरूको सुरक्षाप्रति राज्य, सरोकारवाला निकाय र सम्पूर्ण नागरिक समाज जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै महासंघले पत्रकारहरूमाथि हुने दुव्र्यवहार, धम्की र आक्रमणप्रति शून्य सहनशीलताको नीति अपनाउन सबै पक्षसँग आग्रह गरेको छ।































