वैदेशिक रोजगारीको विषयमा भ्रामक विज्ञापन नगर्न विभागको आग्रह
वि.सं.२०८२ असार ३१ मंगलवार
shares
काठमाडौं।वैदेशिक रोजगार विभागले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक र गैरकानुनी विज्ञापन गर्दै वैदेशिक रोजगारमा पठाउने भन्दै आर्थिक कारोबार गर्ने प्रवृत्ति बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक, टिकटोक, भाइबर, युट्युबलगायत प्लेटफर्ममा आकर्षक सुविधा देखाएर काममा पठाउने भन्दै पैसा उठाउने कार्य गैरकानुनी भएको जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ र नेपाल सरकारको नीतिअनुसार कुनै पनि संस्था वा व्यक्तिले विभागबाट स्वीकृति नलिई कामदार पठाउन पाइँदैन। स्वीकृति विना गरिएको यस्तो कामले कामदारलाई मानव तस्करी, जबर्जस्ती श्रम, शोषण र ठगीको शिकार बनाउने खतरा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
विभागले देशभरका रोजगारदाता, तालिम प्रदायक तथा अभ्यर्थीहरूलाई सरकारी स्वीकृत संस्था मार्फत मात्र प्रक्रिया अघि बढाउन आह्वान गरेको छ। यस्तै, कुनै पनि व्यक्ति वा संस्थाले वैदेशिक रोजगारसम्बन्धी विषयमा अनाधिकृत रूपमा प्रचारप्रसार गरेमा कानुनी कारवाही हुने चेतावनी पनि दिइएको छ।
विभागले वैदेशिक रोजगारीमा जान चाहनेलाई प्रमाणित संस्था र आधिकारिक जानकारीबाट मात्र प्रक्रिया अघि बढाउन आग्रह गर्दै सामाजिक सञ्जालमा देखिने भ्रामक विज्ञापनबाट सजग रहन अनुरोध गरेको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:


























