घुसको अडियो आउँदा पनि संरक्षणमा परेका भूमि सुधारमन्त्री दश मालपोत अधिकृत फेरवदल गरेर मालामाल
वि.सं.२०८२ साउन १५ बिहीवार
shares
अघिल्ला महिनामा वर्तमान मन्त्रिपरिषद्का दुई सदस्यका बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खुबै चर्चा भयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीका विषयमा घुसको काम गरेको उस्तै चर्चा भयो । यस विषयमा बिचौलिया प्रयोग गरेको र घुस मागेको अडियो नै सार्वजनिक भयो ।
यसको अनधिकारिकताका बारे अझै खुलस्त भएको छैन । तर, राजकुमार गुप्तालाई राजीनामा गर्न बाध्य पारियो । गुप्ता आफू यो विषयमा नजोडिएको प्रविधिको दुरुपयोग गरेर आरोप लगाएको भन्दै एमाले नेतृत्वका अगाडि खुबै रोए ।आफ्नो अडियो समेत नभएको भन्दै गुप्ताले प्रधानमन्त्री तथा अन्य नेताहरूलाई हारगुहार गरे ।
तर, प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिन निर्देशन दिएपछि बाध्य भएर राजीनामा दिए । तर, सोही प्रकृतिको अडियो भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको पनि आयो । उनले पनि धेरै मालपोत अधिकृत सरुवा गर्दा लाखौँ घुस असुलेको आरोप लागेको छ ।
त्यसो भक्तपुरमा २४ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतसमेत अधिकारीकै संरक्षणका व्यक्ति भएको स्पष्ट छ । तर, उनलाई स्पष्टीकरणसमेत लिने काम भएन । प्रधानमन्त्री केपी ओलीले अधिकारीका बारेमा सामान्य सोधपुछ पनि गरेनन् ।
किनभने उनी प्रधानमन्त्री ओलीका खास पात्र महासचिव शङ्कर पोखरेलका संरक्षणमा रहेका मन्त्री हुन् । उनलाई हटाए अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल पनि हटाउनु पर्ने शङ्कर अडानका कारण प्रधानमन्त्री भूमि सुधार मन्त्रीका अगाडि निरीह बनेका हुन् । विवादकैबीचमा मन्त्रीले माल काढेको चर्चा आएको छ । रातारात मालपोत प्रमुख सरुवा गरेर बिचौलिया र मन्त्री मालामाल भएका छन् । मन्त्रीका स्वकीय सचिवालयका सदस्य र बिचौलियामार्फत सरुवा भएका मालपोत प्रमुखले लाखौँ रुपैयाँ कबोल गरेका छन् । सो रकम पनि किस्तामा बुझाइएको एक कर्मचारीले बेलुकीको बसाइमा खोलेपछि भूमि सुधार मन्त्रालयभित्र यसको चर्चा खुबै छ ।
पछिल्लो पटक दश मालपोतमा प्रमुख परिवर्तन भएका छन् । अवधि नै पूरा नभई प्रमुख परिवर्तन हुनु नै आर्थिक लेनदेनको पुष्टि भएको मन्त्रालयका एक माथिल्लो तहको कर्मचारीले सिंहदरवारन्यूजलाई बताए । पाइएको जानकारी अनुसार कलङ्की, कास्की, ललितपुर,पर्सा, भक्तपुर, धादिङलगायतका मालपोत कार्यालयमा नयाँ प्रमुख पठाइएको छ । जसमध्ये रविन ढकाल कलङ्की लगिएको छ । दोलखा मालपोतका हिरादेवी पौडेल मन्त्रालयमा आएकी छिन् । सुर्खेतका राजेन्द्र प्रसाद पौडेल दोलखा लगिएको छ । कलङ्कीका पूर्ण केसी, लेखनाथ कास्की लगिएको छ ।
पर्साका प्रमुख अशोक भट्टराईलाई लगनखेल लगिएको छ । जीवनराज सेढाईले लगनखेलमा छुट दर्तामा अकुत आर्जन गरे पनि मन्त्रीसम्म पैसा नपुर्याएका कारण एक वर्षकै हाराहारीमा मन्त्रालय सरुवा भएका छन् । खेमराज खत्री धादिङ्ग बाट पर्सा पुगेका छन् । माधव घिमिरे भक्तपुर पुगेका छन् । मनोजकुमार पोखरेल महोत्तरीबाट धादिङ्ग पुगेका छन् । मालपोत कार्यालय खैरेनीका उपसचिव ज्ञानेन्द्र ढकाल भने राष्ट्रिय सहकारी नियमन आयोगमा लगिएको छ ।


























