मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी
वि.सं.२०८२ साउन २८ बुधवार
shares
काठमाडौँ । भर्खरै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस रकम कवोल गरेको अडियोको आधारमा मन्त्रीबाट हटे । तर, भुक्तभोगीहरू अनुसार त्यस मन्त्रालयका सचिवदेखि सुब्बासम्म पनि रकमी रहेका छन् । उनीहरूले कर्मचारी नै ठग्ने गरेको गुनासो धेरै आउने गरेको छ । धेरै जसो सरुवामा कर्मचारीले नै कर्मचारीको रकम हजम पारेको धेरै उदाहरण छन् । अहिले कर्मचारी प्रशासनमा छन्, भीमकान्त पौडेल । उनी उपसचिव हुन् । कुनै पनि कर्मचारीको सरुवाको काम पूर्णरुपमा सेटिङमै गर्ने उनको दैनिकी हो ।
सरुवामा जान चाहने कर्मचारीहरूसँग मन्त्रीले नै पैसा माग्न पठाएको भनेर बार्गेनिङ गरेको एक पीडित कर्मचारीले बताए । प्रशासकीय प्रमुखहरू पठाउनमा उनी सेटिङ् गर्दछन् । पैसाको कबोल पछि मात्र पठाउने गरेको समेत पाइएको छ । कुनै पनि प्रशासकीय अधिकृत र कर्मचारीबाट बिना पैसा कलम र काम नगर्ने कर्मचारीको उपमा पौडेलले बनाएका छन्।
केही प्रशासकीय प्रमुखहरूले यस विषयमा सम्बन्धित निकायमा जानकारी पनि गराएको बताए । तर, उनी पहुँच र पैसाको भरमा मस्ती मारिरहेका छन् ।
पछिल्लो समयमात्रै भक्तपुर मालपोतका सुब्बा डम्बर कार्कीको सरुवाको बदर गराएर पौडेलले ठूलो रकमको चलखेल गरेको मन्त्रालय वरपर हल्ला छ । सरुवा भइसकेका सुब्बा कार्की अन्यत्र जानुपर्ने हो तर, उनको सरुवा बदर गराउन पैसाको चलखेल भएको मन्त्रालयमै कार्यरत एक उपसचिवले बताए । यसमा पौडेलको प्रमुख संलग्नता रहेको उनले बताए ।
२०५४ सालमा सरकारी सेवामा प्रवेश गरेका पौडेल सुरुमा स्वास्थ्य मन्त्रालयमा थिए । उनको व्यक्तिगत सूचना प्रणालीका अनुसार हालसम्म ३२ वटा कार्यालयमा उनले काम गरेका छन् । प्रायः मालदार अड्डामा उनले सरुवा गरेका छन् । दुर्गमको बाजुर सरुवा भएपनि २०८० सालमा त्यहाँको प्रमुख जिल्ला अधिकारी नै भएका कर्मचारी हुन् ।
०४८ मा तृतीय श्रेणीमा एसएलसी पास गरेका पौडेल स्नातक तहमा पनि तृतीय श्रेणीमा २०५४ मास उतीर्ण भएका थिए । उनको कर्मचारी संकेत नम्बर १८६८१९ हो ।
यता पौडेल भने सम्पर्कमा आउन चाहेनन् । बरु समाचार नलेखिदिन अनुरोध गर्दै अन्य कर्मचारी खटाइरहेका छन् ।





























