मन्त्रीदेखि सचिवसम्मको नाम बेचेर लेखा अधिकृत पाण्डेको मनोमानी
वि.सं.२०८२ भदौ ४ बुधवार
shares
काठमाडौँ । लेखामा बस्ने कर्मचारी प्रायः आर्थिक मामलामा बदनाम नै हुन्छन् । हरेक बिलमा अतिरिक्त आम्दानीको बाटो खोज्ने उनीहरूको बानी हुन्छ । भुक्तानी गरेपछि सो वापत निश्चित प्रतिशत माग गर्छन् र सहज नभए घुमाउरो बाटो खोज्छन् । यस्तै एकजना लेखा अधिकृत कम्पनी रजिष्ट्रार कार्यालयमा छिन् । यो कार्यालयमा खुलेयाम घुसमा काम हुन्छ । प्रणाली बिगारे असुली गरेको विषय केही समय अघि छ्याप्छ्याप्ति आयो । तर, यहाँका लेखा प्रमुखले गरेको खुलेयाम अवैध काममा भने कसैको आँखा पुगेको छैन । अरु कर्मचारीले सेवाग्राहीसँग असुलेको भन्दै लेखा अधिकृत भने हरेक बिलमा असुल्ने गर्छिन् । अझ आफ्नो माथिल्लो निकायमा पहुँच भएको भन्दै उनले असुल्न थालेपछि बिल लिएर जानेहरू वाक्कदिक्क भएका छन् । अथवा लेखा अधिकृतले सबैलाई हैरान पारेका छिन् । कतिसम्म भने सञ्चारमाध्यमलाई दिएको विज्ञापनमा समेत कमिसन माग्ने गरेकी छिन् ।
लेखा प्रमुख शारदा पाण्डेमाथि हरेक बिल पारित गर्दा ५० प्रतिशतसम्म घुस मागेको आरोप छ । विभिन्न कम्पनीले कार्यालयमा पेश गर्ने बिलमा कम्पनीले तोकेको दरभन्दा बढी रकम देखाइ, सो रकमको आधा हिस्सा आफूलाई उपलब्ध गराए तुरुन्त बिल पास गरिदिने गरेको पाइएको छ । पाण्डेले खुलेआम रकम प्रस्ताव गर्ने गरेको एक पीडितले जनाएका छन्।
पाण्डेले आफूलाई प्रतिशत नदिने सञ्चारमाध्यमको हकमा भने, कम्पनीले स्वीकृत गरेको बिल रकममै समेत कटौती गर्ने गरेकी छिन् । एक मिडिया प्रतिनिधिले पाण्डेबाट प्रत्यक्ष रूपमा ‘५० प्रतिशत दिए तुरुन्त बिल पास हुन्छ’ भन्ने प्रस्ताव गरेको बताए । पाण्डेले सो रकम कम्पनी रजिस्ट्रार देवीप्रसाद सुवेदीलाई समेत बुझाउनु पर्ने र बाँकी रकम अन्य सरोकारवालासँग बाँडफाँड हुने गरेको पनि बताउने गरेको एक भुक्तभोगीले बताए ।
यसअघि हरिहर भवनस्थित खाद्य विभागमा कार्यरत हुँदा पनि पाण्डे यस्तै प्रकारका अनियमित गतिविधिमा संलग्न रहेको पाइएको थियो। हाल कम्पनी रजिस्टर कार्यालयमा उनी मिडियाका बिलहरूमा ५० प्रतिशत रकम असुल्ने कार्य निरन्तर गर्दै आएको आरोप लगाइएको छ ।
सार्वजनिक पदमा बसेका अधिकृतबाट हुने यस प्रकारका घुस र भ्रष्टाचारका घटनाले राज्यकोषमा मात्र होइन, सार्वजनिक विश्वासमा समेत गम्भीर आघात पु¥याउने सरोकारवालाहरूको भनाइ छ। यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग पनि उठेको छ।
कम्पनी रजिष्ट्रार कार्यालयमा अवैध रकम असुलेको आरोपित यहाँका कर्मचारीहरु एक पछि अर्को बदनाम हुँदै गएका छन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
हरेक बिलमा कमिसन माग्ने कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डे
































